Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारछानबिन समितिद्वारा स्थलगत निरीक्षण

छानबिन समितिद्वारा स्थलगत निरीक्षण


सोलुखुम्बु, , फागुन १५

उडिरहेको हेलिकोप्टरले जस्तापातासहितको समग्री खसालेको विषयमा अध्ययन गर्न बनेको छानबिन समितिले स्थलगत निरीक्षण गरेको छ । पाइलट गुञ्जमान लामाको नेतृत्वमा गठित ३ सदस्य टोलीले हेलिकोप्टरमार्फत सोलुखुम्बुको टाक्सिन्दु पुगेर अवलोकन गरेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीले जानकारी दिए । छानबिन समितिका संयोजक लामासहित सदस्य एरोनोटिकल प्राविधिक रिकेश पन्त, कैलाश एयरका सेफ्टी म्यानेजर बरुण ज्ञावाली, सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक टेकुनन्द इवा लिम्बु, लुक्ला विमानस्थल प्रमुख इमनाथ अधिकारी, फाप्लु विमानस्थलका प्रमुख प्रकाश शर्मासहितको टोलीले त्यस क्षेत्रको स्थलगत अवलोकन गरेका हुन् । तेञ्जिङ हिलारी विमानस्थल लुक्लाका प्रमुख अधिकारीका अनुसार काठमाडौँबाट हवाइजहाजमार्फत लुक्ला आएको टोलीले घटनास्थल पुग्न कैलाश एयरकै हेलिकोप्टर प्रयोग गरेको थियो । घना जंगल भएकाले हेलिकोप्टर ल्याण्ड गर्ने ठाउँ नभएकाले अकाशबाटै जस्तापाता झरेको स्थानको अवलोकन गरेको टोली पुनः लुक्ला फर्केर काठमाडौँ गएको हो । टोलीले काम गरिरहेकाले केही दिनमा नै प्रतिवेदन बुझाउने संयोजक लामाको भनाइ छ । घटनाको विषयमा आफूहरू गम्भीर भएको भन्दै प्रतिवेदनका आधारमा प्राधिकरणले थप निर्णय गर्ने प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

बारम्बार यस्ता घटना घट्नुले हवाइ उडानको समयमा असुरक्षित महशुस भएको स्थानीयको भनाइ छ । शनिबार सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ को टाक्सिन्दुबाट खुम्बु पासाङ ल्हमु गाउँपालिका ४ दिङ्बोचेको लागि डोरीमा झुण्ड्याएर निर्माणका सामग्री ढुवानी गर्दा गर्दा केही मिनेटपछि लुङ्दिङ जंगलमा झरेको थियो । तर, कैलाश एयर प्रालिका अपरेशन म्यानेजर प्रतापजंग पाण्डले आफूलाई केही पनि जानकारी नभएको जवाफ दिएका थिए ।
कैलाश एयरको हेलिकोप्टरले सामान झार्दै उडेको यो पहिलो घटना होइन । यसअघि गत भदौ १९ गते पनि सोही एयरको हेलिकोप्टरले सोलुदुधकुण्ड नगरपालिका २ फेरामा सिरकको पोकोसहितको सामग्री झारेको थियो । नियमविपरीत हेलिकोप्टर कम्पनीको उडान भइरेको समचार प्रकाशन र प्रशारण भएको भए पनि निमयनकारी निकायले कुनै कदम चालेन । स्थानीय प्रशासनको समन्वयमा सुरक्षा ग्यारेण्टी गरी उडान भर्नुपर्ने हेलिकोप्टरले हाल सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुको एकान्त ठाउँबाट सेवा प्रवाह गरिरहेको छ । यहाँ न त नागरिक उड्डयन प्राधिकरणका कर्मचारी नै पुग्छन् न त प्रहरी प्रशासन नै । त्यसैले के–कति कसरी काम भइरहेको यहाँका प्रशासनलाई थाहा हुने कुरा पनि भएन ।

टाक्सिन्दु पुगेका सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उरीक्षक टेकनन्द इवा लिम्बुले अव्यवस्थित ढंगबाट कार्गो ढुवानी भएको पाइएको बताए । प्रहरी प्रमुख लिम्बुका अनुसार कार्गो ढुवानीमा प्रयोग गरिने जाली च्यातिएपछि सामग्री खसेको हो । घटनालाई सामान्यरूपमा लिन नहुने भन्दै उनले तत्कालको लागि टाक्सिन्दुको प्रहरीले अनिवार्यरूपमा निगरानीमा राख्ने जनाकारी दिए । प्रहरीले चेकजाँच नगरी कार्गो ढुवानी गर्न नपाउने व्यवस्था गर्न सकिने उनको भनाइ छ । ‘छानबिन समितिको रिपोर्ट केही दिनमा आउला, त्यो कस्तो आउँछ हेर्न बाँकी छ ।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया