Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेवा शुल्क असुलीमा ठेकेदारको अनियमितता

सेवा शुल्क असुलीमा ठेकेदारको अनियमितता


वीरगञ्ज, फागुन १५

वीरगञ्ज महानगरपालिकाबाट चालू आवमध्ये दुई सय २३ दिनका लागि सवारी व्यवस्थापन सेवा शुल्क उठाउन ठेक्का लिएका ठेकेदार कम्पनीले अनियमित ढङ्गले रकम असुल गरिरहेको पाइएको छ । वीरगञ्ज महानगरपालिकासँग ठेक्का सकार गरेका वीरगञ्ज–२१ का वडाध्यक्ष हबिब मियाँका छोरा एजाजुल मियाँको नाममा दर्ता रहेको एच एन्ड जे टे«डर्सले अनधिकृतरूपमा रकम असुल गरिरहेको पाइएको छ ।सो सम्बन्धमा वीरगञ्ज महानगरपालिकाले गलत ढङ्गबाट रकम नउठाउन अहिलेसम्म तीन पटक पत्राचार गरिसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण महतोले बताए । सम्झौताअनुसार भारतीय साना सवारीसँग रकम उठाउने नियम नभए पनि उनीहरूले जबरजस्ती रकम उठाइरहेको भन्दै प्रहरीले पनि दुई पटक ठेकेदारका मानिसलाई पक्राउ गरेको थियो ।

सम्झौतामा भार बोकेको विदेशी गाडीसँग मात्र शुल्क निर्धारण गरेको छ तर ठेकेदार कम्पनीले निजी गाडी आउँदा एक सय रूपैयाँ उठाइरहेको पाइएको छ । सो सम्बन्धमा दर्जनौँ उजुरी महानगरमा परिसकेको र कारबाही प्रक्रिया पनि अगाडि बढेको देखिन्छ । तर, वडाध्यक्ष मियाँले आफैँले सकार गरेकोले महानगरले खासै चासो देखाएका छैनन् । नियमअनुसार त्रिभुवन राजपथमा शुल्क उठाउन पाइँदैन तर त्रिभुवन राजपथमा पनि ठेकेदारले रकम उठाइरहेको छ । गत वर्षको तुलनामा मनपाले चालू आवमा शुल्क वृद्धि गरेको भन्दै ट्याङ्कर व्यवसायी संघले पनि विरोध जनाएको थियो ।
ट्याङ्कर व्यवसायी तथा ठूला गाडीधनीहरूले पनि सो कर खारेज गर्नुपर्ने माग गर्दै आइरहेका छन् । हेर्ने निकाय कमजोर भएको कारण ठेकेदार कम्पनीले मनपरी ढङ्गले रकम असुल गरिरहेको व्यवसायीहरूको आरोप छ ।

सम्झौताअनुसार चालू आवको लागि गण्डक नहर, ड्राइपोर्ट चोक, शङ्कराचार्य गेट, एकीकृत चौकी पोष्ट, भिस्वा चोक सडक, रेलवे लाइन सडक, लक्ष्मनवा नहरछेउ, मिलनचोक, रानीघाट पुल, श्रीसिया छोटी भन्सार, ल्यान्ड साइट फिल्ड, परवानीपुर ६ लेन सडक, बाइपासको प्रथम, दोस्रो सडक, परवानीपुर, अम्बे सिमेन्ट जाने सडक, हिमाल आइरन, छातापिपरादेखि पश्चिम चोक जाने बाटो, वडा नं. ३२ अन्तर्गत परसवा जाने सडक, जगरनाथपुर ६ लेन सडकबाट कर उठाउन स्थान तोकिएको छ । तर, गत वर्ष सवारी कर टेन्डर गर्दा मनपाले परसवा जाने बाटो, जगरनाथपुर ६ लेनमा कर उठाउन अनुमति दिएको थिएन । अनुमतिभन्दा बाहिर गएर चालू आवमा मनपाले स्थान तोकेको देखिन्छ । त्यति मात्र होइन, गत वर्षभन्दा दोब्बर शुल्क यस वर्ष तोकेको देखिन्छ । दुई सय २३ दिनका लागि ठेकेदारले तीन करोड १५ लाखमा ठेक्का सकार गरेको देखिन्छ र सो रकम तीन किस्तामा दिनुपर्ने सम्झौतापत्रमा उल्लेख भएको छ । अनधिकृत शुल्कमा पनि ठेकेदारका प्रतिनिधिहरूले भारतीय गाडीसँग नेरुको साटो भारु नै असुल गरेको पाइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया