Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना लागे पनि विदेश जानेलाई अल्फा केयरले नेगेटिभ पीसीआर दिदैँ

कोरोना लागे पनि विदेश जानेलाई अल्फा केयरले नेगेटिभ पीसीआर दिदैँ


काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा रहेको अल्फा केयर फार्मेसीले कोरोना लागेका व्यक्तिलाई पनि कोरोना नलागेको भनेर रिपोर्ट दिएर जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको भेटिएको छ ।

केही दिनअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले डोजर लगाएर भत्काएको उक्त फार्मेसीमा सेटिङ्गमा जानेहरुले कोरोना परीक्षणको रिपोर्ट आफूहरुले चाहेजस्तो पाउने गरेको खुलासा भएको छ ।

ओम्नी काण्डमा समेत मुछिएका अल्फा बिटा भवनका मालिक द्विराज शर्मा सिवाकोटी र उनका दाजु युवराज शर्मा सिवाकोटीद्वारा सञ्चालित उक्त फार्मेसीले केही महिनाअघि मात्रै पीसीआर परीक्षणको अनुमति पाएको थियो । आर्थिक दैनिकलाई प्राप्त कागजातअनुसार उक्त फार्मेसीले विमानस्थल हुँदै विभिन्न मुलुक जाने यात्रुलाई नै लक्षित गरेर कोरोना नेगेटिभ रहेको रिपोर्ट दिने गरेको हो ।

आर्थिक दैनिकलाई प्राप्त कागजात अनुसार अल्फा केयर फार्मेसीले सुरुमा फर्म भर्दा नै बदमासी गर्ने गरेको छ । उक्त फर्ममा विदेश जाने यात्रुले प्रयोजन समेत खुलाएर फर्म भरेपछि कोरोना नेगेटिभ रहेको रिपोर्ट दिइने गरेको छ । कोरोना लागेका व्यक्तिहरुले परीक्षण गरे पनि विदेश जाने प्रयोजन खुलाइएको फर्म भएकाहरुले भने कोरोना नलागेको रिपोर्ट लिने गरेका छन् ।

एक यात्रुले भारत जाने क्रममा अल्फा केयर अस्पतालमा कोरोना परीक्षण गराउँदा उक्त फार्मेसीको बदमासीको पोल खुलेको हो । ती यात्रुले सुरुमै फर्म भर्दा वैदेशिक प्रयोजनका लागि भनेर फर्म भर्नुपरेको थियो । त्यसलगत्तै उनलाई १५ सय रुपैयाँ शुल्क लिएर स्वाब संकलन गरिएको थियो । भोलिपल्टको उडान भएका कारण ती यात्रु भोलिपल्ट बिहानै उक्त फार्मेसीमा पुगेर रिपोर्ट ल्याए । तीनवटा परीक्षणमा सबै नेगेटिभ भएको रिपोर्टमा देखियो । सोही रिपोर्ट लिएर उनी त्रिभुवन विमानस्थल हुँदै दिल्ली प्रस्थान गरे ।

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि उक्त विमानस्थलले पनि कोरोना परीक्षणका लागि छुट्टै स्टेसन खडा गरेको थियो । जेनेस्ट्रिङ डाइग्नोस्टिक सेन्टर प्रालिले प्रतिव्यक्ति तीन सय भारतीय रुपैयाँ लिएर पीसीआर परीक्षण गर्दै थियो । स्वाब संकलन गरेपछि केही बेरमा इमेलमै रिपोर्ट प्राप्त भयो । उक्त रिपोर्टमा भने सार्स कोभिड २ पोजिटिभ देखिएको थियो । जब कि अन्य रिपोर्ट भने नेगेटिभ थियो । यता अघिल्लो दिन अल्फा केयरमा गरिएको परीक्षणमा भने सार्स कोभिड २ नेगेटिभ देखिएको थियो ।


शुल्क फरक–फरक !

भारतमा कोरोना परीक्षण निकै सस्तो र अत्याधुनिक छ । तर, नेपालका सबैजसो कोरोना परीक्षण गर्ने ल्याबहरुले भने चर्को शुल्क लिने गरेका छन् । भारतीय विमानस्थलमा रहेको ल्याबले प्रतिव्यक्ति तीन सय रुपैयाँ भारु लिँदै आएको छ । तर, बानेश्वरस्थित अल्फा केयर १५ सय रुपैयाँ नेपाली असुल्दै आएको छ । यता बिध ल्याबले प्रतिव्यक्ति दुई हजार रुपैयाँसम्म असुली गर्दै आएको छ । बिध ल्याबमा गरिएको लगानी नै शंकास्पद भएको भन्दै सञ्चालक भीमकान्त भण्डारीलाई त अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा नै दायर गरिसकेको छ ।

अल्फा केयरसँगअल्फा बिटाको कनेक्सन !
मेयर बालेन साहसँग चर्काचर्की गर्न आउने पात्र हुन् द्विराज शर्मा । उनी अल्फा केयरका मालिक हुन् । त्यस्तै उनको स्वामित्वमा अल्फा बिटा नामक एजुकेसन कन्सल्टेन्सी समेत सञ्चालनमा छ । त्यहाँबाट शैक्षिक परामर्श लिएर विदेश जाने अधिकांश विद्यार्थीले अल्फा केयरकै पीसीआर रिपोर्ट लिने गरेका छन् ।

एकै व्यक्तिले फार्मेसीको नाममा ल्याब खोल्नु र फर्ममै वैदेशिक प्रयोजन खुलाउने व्यवस्था गरेर परीक्षण गराउनुमा स्वार्थको द्वन्द्व देखिन्छ । सरकारी निकायले अल्फा केयरको सबै रिपोर्ट छानबिनमा ल्याए शर्मामाथि कारबाही हुनसक्ने देखिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया