Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारश्री लालीगुराँस सहकारीका सुरेन्द्र सीईओ कि निर्देशक ?

श्री लालीगुराँस सहकारीका सुरेन्द्र सीईओ कि निर्देशक ?


काठमाडौं । कुनै पनि सहकारी संस्थामा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेको व्यक्तिको अर्को पदमा रहनु हुँदैन । तर, ललितपुरको पुल्चोकमा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी सोही सहकारीको अर्को पदमा समेत रहेको खुलेको छ । उनले कतै प्रमुख कार्यकारी अधिकृत त कतै प्रमुख कार्यकारी निर्देशकको रुपमा हस्ताक्षर र छाप लगाउने गरेको फेला परेको छ ।

केही महिनाअघि ललितपुरस्थित जिल्ला अदालतमा भण्डारीले आफ्नो विषयमा प्रकाशित भएको समाचार सेयर गरेको भन्दै गाली बेइज्जती मुद्दा दायर गरेका थिए । सोही गाली बेइज्जती मुद्दामा बहस गर्न पुगेका अधिवक्ताहरुले भण्डारीको योग्यताको प्रमाण झिकाउन भन्दै प्रमुख कार्यकारी अधिकृत (सीईओ) वा प्रमुख कार्यकारी निर्देशक पदमध्ये एक छुट्टिनुपर्ने माग गरेका थिए ।

त्यसलगत्तै अदालतले भण्डारीले दायर गरेको मुद्दामा उनको पद नै शंकास्पद रहेको चाल पाएको थियो । अदालतले भण्डारीले दायर गरेको मुद्दा खारेज गर्दै समाचार सेयर गर्ने केशव पुरी र पृथविन्दु महर्जनलाई सफाइ दिएको थियो । आर्थिक दैनिकले भण्डारीले सहकारीको विभिन्न दुई पदमा बसेर गरेको हस्ताक्षर र स्ट्याम्प लगाएको कागजात फेला पारेको छ ।

‘एकै व्यक्ति दुई पदमा हुँदैन । २०७४ सालमा जारी भएको सहकारी ऐनअनुसार त सुरेन्द्र भण्डारी सहकारीको कर्मचारीको रुपमा बस्न समेत मिल्दैन’, श्री लालीगुँरास सहकारीकै एक सेयर सदस्य भन्छन्, ‘तर, हाम्रो सहकारीमा अवैध रुपमा भण्डारीले रजाइँ गरिरहे पनि कसैले कुरा उठाएका छैनन् । यहाँसम्म कि यस वर्षको वार्षिक प्रतिवेदन समेत सेयर सदस्यलाई नदिई गुपचुप पारेर राखिएको छ ।’

भण्डारीले जिल्ला अदालत ललितपुरलाई सम्बोधन गरेर लेखेको पत्रमा आफू प्रमुख कार्यकारी निर्देशक रहेको बताएका छन् । उनको हस्ताक्षरसहित उक्त पत्रमा चिफ एक्जुकेटिभ डाइरेक्टरको छाप समेत लगाएका छन् ।

सहकारीबाट जारी हुने केही सूचनामा उनले आफू चिफ एक्जुकेटिभ डाइरेक्टर रहेको उल्लेख गरेका छन् । कुनै सूचनामा भने आफू प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेको उल्लेख गरेका छन् । २०७७ असार ३१ मा सार्वजनिक भएको एउटा सूचनामा उनले आफ्नो पद सीईओ रहेको उल्लेख गरेका छन् ।

‘प्रमुख कार्यकारी अधिकृत र प्रमुख कार्यकारी निर्देशक भनेको बिल्कुल फरक–फरक पद र भूमिका हो । एउटै व्यक्ति दुवै पदमा छु भनेर पत्र लेख्नु वा सूचना जारी गर्नु अवैध हो’, सहकारी प्रशासनसम्बन्धी जानकार एक व्यक्ति भन्छन्, ‘भण्डारीले यदि त्यसरी सूचना जारी गर्ने गरेको भए त त्यो सरासर किर्ते र पदको दुरुपयोग हो ।’

कतै सीईओ र कतै निर्देशक भएर काम गरेको विषयमा प्रश्न गर्न भण्डारीलाई फोन गर्दा उनको मोबाइल स्विच अफ रहेको पाइएको छ ।

पछिल्लो समय सहकारीहरुहरु भाग्ने क्रम चलिरहेको र सर्वसाधारणहरुको पैसा हिनामिना भएको खबर सार्वजनिक भइरहँदा पुरानो सहकारीमध्येको एक कान्तिपुर बचत तथा ऋण सहकारी संस्था लि.मा पैसा निकाल्नेको लाइन लागिरहँदा अर्को पुरानो र बढी निक्षेप उठाएको श्री लालीगुराँसका बहुउद्देश्यीय सहकारी संस्था लि.का प्रमुख व्यक्तिको यस समयमा मोबाइल बन्द रहेर सम्पर्कबाहिर हुनु अर्थपूर्ण छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया