Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवसन्तपुर क्षेत्रका छरपस्ट निर्माण सामग्री तत्काल हटाउन पर्यटनमन्त्रीको निर्देशन

वसन्तपुर क्षेत्रका छरपस्ट निर्माण सामग्री तत्काल हटाउन पर्यटनमन्त्रीको निर्देशन


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हनुमानढोका दरबार क्षेत्रमा छरपस्ट रहेका निर्माण सामग्री तत्काल हटाउन निर्देशन दिएका छन् । इन्द्रजात्राको तयारीबारे बुझ्न मंगलबार हनुमानढोका दरबार क्षेत्र निरीक्षणमा गएका मन्त्री श्रेष्ठले यत्रतत्र राखिएका इँट्टा, जस्ताको छाप्रो र अन्य संरचनाका कारण आन्तरिक तथा बाह्य पर्यटकलाई आवगमनदेखि सम्पदा क्षेत्र अवलोकनमा समेत बाधा पुगेकोले त्यस्ता सामग्री तत्काल हटाउन निर्देशन दिएका हुन् ।

विश्वसम्पदामा सूचीकृत ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पुरातात्विक महत्वको हनुमानढोका दरबार क्षेत्र व्यवस्थापनमा ध्यान दिन हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम, नेपाल प्रहरी, नेपाली सेना, पुरातत्व विभाग र स्थानीय संघ÷संस्थालाई उनले आग्रह समेत गरे । नेपालीको गौरवका रुपमा रहेको हनुमानढोका दरबार क्षेत्रमा छरपस्ट रहेका सामग्रीले इन्द्रजात्रालगायत महत्वपूर्ण जात्राहरु व्यवस्थापनमा समेत चुनौती सिर्जना हुने उनको भनाइ छ । सन् १९७९ मा विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र भूकम्पका कारण क्षतिग्रस्त भएपछि अहिले पुनर्निर्माणको काम भइरहेको छ । मन्त्री श्रेष्ठले पर्यटकीय क्षेत्रलाई सुन्दर, सफा र व्यवस्थित गर्नुपर्नेमा जोड दिए । अहिले वसन्तपुरमा इन्द्रजात्राको तयारी तीव्र पारिएको छ । आठ दिन चल्ने इन्द्रजात्रा अवधिभर वसन्तपुर क्षेत्र उत्सवमय हुने गरेको छ । सो अवसरमा इन्द्रजात्राको तयारीबारे पनि छलफल भएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया