Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रहरीले ३३ लाखको सामान राजस्वमा बुझाउँदा विराटनगर भन्सारमा हल्लीखल्ली

प्रहरीले ३३ लाखको सामान राजस्वमा बुझाउँदा विराटनगर भन्सारमा हल्लीखल्ली


विराटनगर । राजस्व छली भएको आशंका गर्दै मोरङ प्रहरीले गत मंगलबार राति विराटनगरको रोडशेष चोकबाट ट्र्याक्टरसहित करिब ३३ लाख मूल्यबराबरको सामान राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएपछि विराटनगर भन्सारका भन्सार प्रतिनिधिको कार्यशैलीलाई लिएर प्रश्न उठ्न थालेका छन् ।

विराटनगर भन्सारमा कार्यरत भन्सार प्रतिनिधिको कार्यशैली तथा विलासी जीवनयापनलाई लिएर प्रश्न उठ्दै आएको छ । फेरि राजस्व छलीको घटना सार्वजनिक भएपछि भन्सार क्लियरिङको काम गर्दै आएका भन्सार एजेन्टहरूमा प्रश्नचिह्न खडा भएको हो । गत मंगलबार राति रोडशेषबाट मोरङ प्रहरीले विराटनगर भन्सारबाट भन्सार जाँचपास भएको वीआर ७ के १७२४ नम्बरको ट्र्याक्टरमा मोटरपाट्र्स, मेसिनरी पार्टस र हार्डवेयरका सामान गरी ३३ लाख रुपैयाँभन्दा बढीको सामानसहितको ट्र्याक्टर नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको हो । उक्त ट्र्याक्टरमा विराटनगरको धरान रोडमा रहेको कमल अटो र भैरव ट्रेडर्सको नाममा भन्सार प्रज्ञापन संलग्न गराइएको पाइएको छ । प्रहरीले ट्र्याक्टरसहित उक्त ट्र्याक्टरका चालक भारतको अररिया जिल्ला बस्ने २४ वर्षीय तलुवा मुर्मीलाई पनि नियन्त्रणमा लिई राजस्व अनुसन्धानको जिम्मा लगाएको मोरङ प्रहरीले जानकारी दिएको छ ।

उक्त सामानको भन्सार जाँचपास भर्खरै भन्सार विभागबाट भन्सार एजेन्टको परीक्षा पास गरी विराटनगर भन्सारमा काम गर्नका लागि दर्ता भएको मां जानकी प्रसाद क्लियरिङले गरेको थियो । उक्त क्लियरिङका सञ्चालक कृति साहले भन्सार प्रतिनिधि सञ्जय दुगढलाई विराटनगर भन्सारबाट हुने भन्सार जाँचपासका लागि प्रतिनिधिका रूपमा काम गर्नका लागि अधिकार प्रत्यायोजन गरेको भन्सार कार्यालयले गराएको छ । उनै भन्सार प्रतिनिधि दुगढले भन्सार जाँचपास गरेको सामानसहितको ट्र्याक्टर मोरङ प्रहरीले राजस्व छली भएको आशंकामा राजस्व अनुसन्धान कार्यालय सुनसरीमा बुझाएको हो । उक्त प्रकरणपछि भर्खरै भन्सार एजेन्टको परीक्षा पास गरेर आएको फर्ममाथि नै विभिन्न प्रश्न उठ्न थालेको छ ।

भन्सार प्रतिनिधि दुगढले उक्त फर्मको माध्यमबाट कौडीको मूल्य कायम गरी ३३ लाखभन्दा बढीको हार्डवेयर, मेसिनरीका सामानदेखि मेसिनरी पार्ट र मोटर पाट्र्स समेत मुख्य भन्सारनाकाबाट नै जाँचपास गराएका थिए । विराटनगर भन्सारबाट भन्सारपासका नाममा पटक–पटक राजस्वका विषयमा विवादित हुँदै उनी फेरि एक पटक विवादमा मुछिएका छन् । उनका पछाडि कतै भन्सार कर्मचारीकै संलग्नता छैन भन्ने प्रश्न समेत उब्जिएको छ ।

स्रोतका अनुसार करिब सात वर्षअगाडि विराटनगर भन्सारमै कार्यरत रहेर पुनः विराटनगर भन्सार नै सरुवा भई आउन सफल भन्सारका भन्सार जाँचकी पदका कर्मचारी प्रदिप साहको मुख्य भूमिका रहेको आशंका गर्न थालिएको छ । भन्सार जाँचकी साह पहिलेदेखि नै विवादित थिए । उनै विवादित साहको सिफारिसमा भन्सार प्रतिनिधि दुगढले वीरगञ्ज भन्सारका भन्सार एजेन्ट विजय साहको प्रतिनिधि भएर काम गर्दै गर्दाको अवस्थामा उनलाई छोडेर नयाँ भन्सार एजेन्ट कृति साहको नयाँ लगिनबाट भन्सार प्रतिनिधिका रूपमा काम गर्न थालेको स्रोतले बताएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया