Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअर्बौँको कच्चा पदार्थ कलकत्तामा नै थन्कियो, राज्यले करोडौँ डलर गुमाउँदै !

अर्बौँको कच्चा पदार्थ कलकत्तामा नै थन्कियो, राज्यले करोडौँ डलर गुमाउँदै !


विराटनगर । अर्थमन्त्री जनार्दन शर्माको झुटो आश्वासनले अर्बौँको कच्चा पदार्थ कलकत्तामा नै थन्किएको पाइएको छ । अर्थमन्त्री शर्मासँग सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीले उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थको आयातलाई निरन्तरता दिने र करको दर हेरफेर भएका वस्तुको आयातलाई सहजता दिने सहमतिपछि कच्चा पदार्थ आयात गरी कलकत्तामा स्टोर गरेका थिए ।

करिडोरका उद्योगी तथा व्यवसायीले निश्चित व्यवसायी घरानालाई फाइदा पुग्ने गरी भन्सार दरबन्दीको हेरफेर गरेको भन्दै उद्योग नै बन्द गरी बसेको अवस्थामा अर्थमन्त्री शर्माले अर्थ मन्त्रालयमा बोलाएर उक्त समझदारी गरेको मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष पवन कुमार सारडाले बताए । उद्योगी सारडाका अनुसार अर्थमन्त्रीसँग मोरङ व्यापार संघ, उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघका पदाधिकारीसहितको टोलीले वायर उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ एमएस वायर आयात गर्ने र उक्त कच्चा पदार्थ आयातमा भएका झन्झटिला प्रावधान खारेज गर्ने सहमति भएको थियो । उक्त सहमतिपश्चात् उद्योगीहरूले उद्योगलाई आवश्यक पर्ने एमएस वायर आयात गरेका थिए । तर अर्थमन्त्रीको झुटो आश्वासनका कारण आफूहरू धेरै समस्यामा परेको उनले बताए । अहिलेसम्म पनि अर्थमन्त्रीले सहमति कार्यान्वयन नगरेको उनको गुनासो छ । अर्थमन्त्रीजस्तो व्यक्ति झुट बोल्न यत्तिको माहिर होलान् भन्ने आफूले कल्पना समेत नगरेको उनको भनाइ छ । उनले आफूले विदेशबाट आयात गरेको एमएस वायर कलकत्तामा बसेको दुई हप्ता भइसकेको बताए । उक्त वायर कलकत्तामा गोदाम भाडामा लिएर राख्दा दैनिक एक लाखभन्दा बढी रकम तिर्नुपर्ने उनको भनाइ छ ।

सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीले गत भदौ ९ गते भारतको कलकत्तास्थित बन्दरगाहामा १२ हजार मेट्रिक टन एमएस वायर आयात गरेर गोदाम भाडामा लिएर राखेको उद्योगी सारडाले जानकारी दिए । तर अर्थमन्त्रीले एमएस वायर आयातमा लगाएको करसम्बन्धी प्रावधान खारेज नगरेमा उक्त समान त्यसै थन्किने र राज्यको करोडौं डलर खेर जाने जोखिम बढेर गएको उनको भनाइ छ । अहिलेकोे करसम्बन्धी व्यवस्थाअनुसार उक्त कच्चा पदार्थ आयात गरेर कुनै उद्योगीले पनि आफ्नो उत्पादन गर्न नसक्ने उनले दाबी गरे । उनले भने, ‘बरु उद्योग बन्द गर्न तयार छु, तर परिवर्तित करको दरबन्दीअनुसार भन्सार तिरेर एमएस वायर आयात गर्न सक्दिनँ ।’

सुनसरी मोरङ औद्योगिक करिडोरमा एमएस वायर प्रयोग गर्ने एक दर्जन उद्योगहरू रहेका छन् । ती उद्योगहरूले अर्थमन्त्रीको आश्वासनपछि पछिल्लो समय ठूलो परिमाणमा एमएस वायरको एलसी खोलेर विदेशबाट आयात समेत गरिसकेको जानकारी सारडाले दिए । विदेशवाट उक्त वायर कलकत्ता आइपुग्न कम्तीमा पनि दुई महिना लाग्ने भएका कारण भदौ २८ गते कलकत्ता बन्दरगाहमा २६ हजार मेट्रिक टन एमएस वायर आइपुग्ने उनले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया