Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभारतीय सेनाध्यक्ष काठमाडौंमा

भारतीय सेनाध्यक्ष काठमाडौंमा


काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिवसीय भ्रमणका लागि काठमाडौं आएका छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी आइतबार नेपाल भ्रमणमा आएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधीकृत रथी बालकृष्ण कार्कीले स्वागत गरेका थिए । सेनाध्यक्ष पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने नेपाली सेनाले जनाएको छ । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् । नेपाल र भारतबीच सन् १९५१ देखि एक–अर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम प्रचलन रहीआएको छ । सोही प्रचलनअनुरूप सेनाध्यक्ष पाण्डेलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्न लागिएको हो । विसं २००७ मा भारतीय सेनाका फिल्ड मार्सल केएम करिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको सम्मान प्रदान गरिएको थियो ।

विसं २०२६ मा तत्कालीन नेपाली सेनाका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलो पटक भारतीय सेनाको मानार्थ सेना प्रमुखको पदवी पाएका थिए । गतवर्ष प्रधानसेनापति शर्माले भारतीय सेनाको मानार्थ महारथी ग्रहण गरिसकेका छन् । हालसम्म भारतका २१ र नेपाली सेनाका १७ सेनापतिले यस्तो सम्मान प्राप्त गरेका छन् ।

यस्तै प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग भारतीय सेनाध्यक्ष पाण्डेले मंगलबार भेट गर्ने कार्यक्रम रहेको छ । नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष पाण्डे सैनिक मञ्च टुँडीखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जली अर्पण, सम्मान गारत निरीक्षण, वृक्षरोपण, प्रधानसेनापति शर्मासँग भेटवार्ता, सहयोग सामग्री हस्तान्तरण, कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग अन्तरक्रियालगायतका कार्यक्रममा सहभागी हुनेछन् । सेनाध्यक्ष पाण्डेको भ्रमणका क्रममा नेपाली सेनालाई करिब २२ करोड ३८ लाख ३८ हजार रूपैयाँ मूल्यबराबरको तोप मर्मतसम्भारका पार्टपुर्जा, घोडा, विस्फोटक पदार्थ प्रतिरोध सवारीसाधन र घुम्ती अस्पतालका लागि आवश्यक उपकरण सहयोगस्वरूप उपलब्ध हुने बताइएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया