Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविराटनगर भन्सारबाट जाँचपास भएको समानमा राजस्व छली भएको पुष्टि

विराटनगर भन्सारबाट जाँचपास भएको समानमा राजस्व छली भएको पुष्टि


विराटनगर । विराटनगर भन्सारबाट जाँचपास भएर निस्किएको ३३ लाख रूपैयाँको सामानमा राजस्व छली भएको राजस्व अनुसन्धान कार्यालय सुनसरीले पुष्टि गरेको छ । गत भदौ १४ गते राति विराटनगरको रोडशेषबाट राजस्व छलीको आशंकामा मोरङ प्रहरीले ट्याकटरसहितको सामान पक्राउ गरी राजस्व कार्यालय सुनसरीमा बुझाएको थियो ।

मोरङ प्रहरीले राजस्व छली भएको भन्दै ३३ लाख रूपैयाँको मोटर पाट्र्ससहितको भारतीय नम्बरप्लेटको ट्याक्टर नियन्त्रणमा लिएर इटहरी सुनसरीमा बुझाएको थियो । राजस्व अनुसन्धान कार्यालयले चार दिनसम्म गरेको अनुसन्धानबाट भन्सारले जाँचपास गरेर छोडेको सामानमा सन्दर्भ मूल्यभन्दा कम राजस्व दाखिला गरी भन्सार एजेन्टमार्फत भन्सार कर्मचारीको समेत मिलेमतोमा राजस्व छली भएको पुष्टि गरेको हो । विराटनगर भन्सारबाट आठवटा फर्मले आयत गरेको सामानमा सन्दर्भ मूल्यभन्दा कम मूल्यांकन गरेको भेटिएपछि दुई लाख ५० हजार रूपैयाँ जरिवाना गरिएको राजस्व अनुसन्धान कार्यालय इटहरीले जानकारी दिएको छ ।

राजस्व कार्यालय सुनसरीले दिएको जानकारीअनुसार विराटनगर भन्सारबाट आठवटा प्रज्ञापनपत्रमा ३२ वटा वस्तु आयात गरेको देखिए पनि दुईवटा वस्तुमा सन्दर्भ मूल्यभन्दा कम राजस्व बुझाएको देखिएको हो । सन्दर्भ मूल्यभन्दा कम राजस्व दाखिला गर्ने प्रज्ञापनपत्रमा उल्लेख भएका व्यावसायिक फर्मलाई जरिवाना गरिएको विभागले जानकारी दिएको हो । सामान आयातको लागि भन्सार क्लियरिङ गर्ने विराटनगर भन्सारको माँ जानकीप्रसाद क्लियरिङका भन्सार प्रतिनिधि सञ्जय दुगढले भन्सार जाँचपास गरेका थिए । उक्त भन्सार क्लियरिङमा संलग्न फर्मको सञ्चालकमा भने कृति साह रहेकी छिन् । कृति साहले भन्सार प्रतिनिधिका रूपमा भन्सार सहजीकरणका लागि सञ्जय दुगढलाई नियुक्ति गरेकी थिइन् । उक्त फर्म भर्खरै मात्र भन्सार विभागले लिएको भन्सार एजेन्टको परीक्षामा उत्तीर्ण भएपछि विराटनगर भन्सारले भन्सार एजेन्टका रूपमा नियुक्ति गरेको हो ।

भन्सार एजेन्ट कृति साहको नजिकको आफन्त एवं विराटनगर भन्सारमा जाँचकी पदमा कार्यरत नेपाल सरकारका कर्मचारी प्रदिप साह रहेको हुँदा उनैको जोडबलले नयाँ भन्सार एजेन्टलाई विराटनगर भन्सारमा ल्याएर भन्सार एजेन्ट नियुक्त गरिएको थियो । यस विषयमा बुझ्नका लागि विराटनगर भन्सारका कर्मचारी प्रदिप साहसँग टेलिफोन सम्पर्क राख्दा उनीसँग सम्पर्क हुन सकेन । यो राजस्व छली प्रकरणमा नेपाल सरकारको भन्सार कर्मचारी प्रदिप साह समेत विवादमा तानिएका छन् । विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी राजेन्द्र ढुङ्गानाले भने नियमअनुसार जाँचपाँस भएर गएको सामानमा कसरी सन्दर्भ मूल्य मिलेन भन्ने कुराले आफू अचम्ममा परेको बताए । उनले यदि विराटनगर भन्सारको कुनै पनि कर्मचारीको लापरबाही भएको भए कारबाहीको दायारमा ल्याउने जानकारी दिए ।

लामो समयदेखि पटक–पटक विवाद मुछिएका भन्सार प्रतिनिधि सञ्जय दुगढ संलग्न पछिल्लो घटनाले विराटनगरमा भन्सार क्लियरिङको काम गर्दै आएका भन्सार एजेन्टहरू भने थप आक्रोशित भएका छन् । भन्सार प्रतिनीधिलाई सरकारले समेत कुनै करको दायरामा ल्याउन नसकेका कारण पनि भन्सार प्रतिनिधिहरू गैरजिम्मेवार भएर भन्सार सहजीकरणको काममा संलग्न हुनेगरेको भन्सार एजेन्टले नै बताउने गरेका छन् । सरकारले पनि भन्सार प्रतिनिधिलाई जिम्मेवार र जवाफदेही बनाउनका लागि चाँडै नै कानुन बनाएरै पहल गर्नुपर्ने उनीहरूको भनाइ छ । आलिशान महल खरिद र महँगा गाडी चड्नका लागि विराटनगर भन्सारका भन्सार प्रतिनिधिहरूबीच पछिल्लो समय होडबाजी नै चल्ने गरेको छ । सरकारले त्यस्ता भन्सार प्रतिनिधिलाई करको दायरामा ल्याउनुपर्ने भन्सार एजेन्टले नै माग गरेका छन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया