Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआईसीपीसम्म रेल सञ्चालन गर्न आग्रह

आईसीपीसम्म रेल सञ्चालन गर्न आग्रह


विराटनगर । मोरङ व्यापार संघले भारतीय रेल्वेसँग कोलकाता बन्दरगाहदेखि जोगबनी रेल्वे स्टेसन र नेपालको आईसीपीदेखि भारतको जोगबनीसम्मका लागि कन्टेनराइज्ड कार्गोलाई नियमित रुपमा सञ्चालन गर्न आग्रह गरेको छ । संघको एक प्रतिनिधिमण्डलले भारतको जोगबनीका कटिहार रेल्वे विभागका विभागीय रेल्वे प्रबन्धक कर्नल एसके चौधरीलाई भेटी रेल्वे सेवाको सहजीकरण गर्न माग गरेको हो ।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले जोगबनी–विराटनगर सीमा क्षेत्रका नागरिक र व्यावसायिक समुदायलाई लक्षित गरी भारतीय रेल्वेलाई थप सुविधायुक्त बनाउन आग्रह गरेका थिए । यस्तै उनले जीर्ण अवस्थामा रहेको जोगबनी रेल्वे स्टेसनको गुड्स यार्डको जीर्णोद्धार गरिनुपर्ने बताए । साथै उक्त रेल्वे गुड्स यार्डको कार्य समय बिहान ६ बजेदेखि बेलुकी १० बजेसम्मका लागि कायम गर्न आग्रह गरेका थिए । यस्तै जोगबनीदेखि दक्षिण भारतको बैंगलोर, पश्चिममा भारतको मुम्बई र पुणेलगायतका स्थानहरुसम्मको सिधा रेल्वे सेवा सञ्चालन गर्न पनि आग्रह गरेको मोरङ व्यापार संघले जनाएको छ ।

अध्यक्ष रिजालले जोगबनीदेखि दिल्लीसम्मको लागि थप रेल सञ्चालन गर्न आग्रह गरे । भारतको दरभंगा विमानस्थल, चिकित्सा सेवा तथा व्यावसायिक सेवाहरुको सहज उपयोग गर्न जोगबनी–दरभंगा इन्टरसीटी रेल सेवा सञ्चालन गरेर भारतीय रेलमा नेपाली ज्येष्ठ नागरिकहरुलाई भारतीय ज्येष्ठ नागरिकसरह व्यवहार गरिनुपर्ने उनको सुझाव थियो । त्यसैगरी उनले अन्तर्राष्ट्रिय उडानमार्फत भारत आउने नेपालीहरुलाई तत्कालै रेल्वे टिकट उपलब्ध गराउने व्यवस्थाका लागि भारतीय सरकारसँग पहल गरिदिन भारतीय रेल्वे प्रमुख चौधरीसँग आग्रह गरे ।

भेटमा संघका अध्यक्ष रिजालले भारत र नेपालबीच सहज आवागमनका लागि संघले निरन्तर सहजीकरण गर्दै आएको समेत जानकारी गराए । संघले कटिहार–जोगबनीब्रोड गेज रेल्वे रुपान्तरण, जोगबनी रेल्वे यार्ड निर्माणसहित कटिहार, बथनाहा, जोगबनी र विराटनगरको आईसीपी लगायतका रेल्वे पूर्वाधारहरु निर्माणका लागि समेत नर्थ फ्रन्टाइर रेल्वे कटिहार डिभिजनसँग नजिकबाट सहकार्य गर्दै आएको बारेमा पनि उनले चौधरीलाई जानकारी गराएका थिए । प्रतिनिधिमण्डलमा अध्यक्ष रिजालसहित संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठी, सदस्य अमित सारडा र मनिष मारु रहेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया