Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिगमको इन्धन चोरी प्रकरण : दुई वर्षसम्म पनि छानबिन समितिको प्रतिवेदन आएन

निगमको इन्धन चोरी प्रकरण : दुई वर्षसम्म पनि छानबिन समितिको प्रतिवेदन आएन


फागुन १६,विराटनगर
नेपाल आयल निगमको इन्धन चोरी प्रकरण छानबिन गर्न गठित समितिले दुई वर्ष बितिसक्दा पनि प्रतिवेदन सार्वजनिक गरेको छैन् । निगमको प्रादेशिक कार्यालय प्रदेश नम्बर १ बाट दुई वर्ष अगाडि ट्यांकरको लक खोली तेल चोरी भएको थियो । भारतीय आयल कर्पोरेशनको बरौनी डिपोबाट अत्याधुनिक चाबी र सिल लगाएर ल्याइएको ट्यांकरबाट करिब दुई हजार पाँच सय लिटर डिजेल चोरी भएको थियो । उक्त घटनालाई नेपाल आयल निगमले व्यापक अनुसन्धान र छानबिन गरेको बताए पनि अहिलेसम्म सार्वजनिक गरेको छैन । इन्धन भर्ने र खन्याउने दुई स्थानमा मात्रै रहने अत्याधुनिक लकिङ प्रणालीको ताला कसरी खोलियो र डिजेल चोरी भयो भन्ने कुरा अहिलेसम्म रहस्यमय बनेको छ । उक्त घटनामा ढुवानीकर्तालाई उन्मुक्ति दिएको पाइएको छ ।

ट्यांकरबाट इन्धन चोरिने घटना नरोकिएपछि दुई वर्ष अगाडी नेपाल आयल निगम प्रादेशिक कार्यालयका तात्कालीन कार्यालय प्रमुख भानुभक्त खनालको समयमा नेपाल आयल निगमकै सक्रियतामा कतै पनि खोल्न नमिल्ने गरी प्रत्येक ट्यांकरमा आधुनिक लकिङ सिस्टम जडान गरिएको थियो । उक्त सिस्टममा रहने ताला खोल्नका लागि चाहिने दुईवटा चाबीमध्ये एउटा चाबी भारतीय आयल कर्पोरेशनको बरौनी डिपोमै र अर्को भने विराटनगरस्थित नेपाल आयल निगमको प्रदेश कार्यालयको प्रत्यक्ष निगरानीमा रहँदै आएको थियो । तर, त्यसबेलै ढुवानीकर्तालाई गोप्यरूपमा चाबी दिएर डिजेल चोरी गराइएको आशंकामा नेपाल आयल निगम केन्द्रीय कार्यालयबाट व्यापक छानबिन एवं अनुसन्धान गरिएको थियो । तेल चोरीको अभियोग लागेका ढुवानीकर्तालाई सामान्य कारबाही गरेजस्तो गरी उन्मुक्ति दिएपछि यसबेला आएर उक्त तेल चोरीको घटना विवादमा परेको हो ।

को १ ख ५९६५ नम्बरको ट्यांकरमा नापजाँच गर्दा ८३ सेन्टिमिटर (करिब २५ सय लिटर) कम डिजल पाइएको थियो । २० हजार लिटर क्षमताको उक्त ट्यांकर इन्धन तथा ट्यांकर व्यवसायी सुकदेव सिंह(ब्रअर)को नाममा रहेको छ । सिंह र उनको परिवारका नाममा मात्रै ३० वटा बढी ट्यांकर रहेको निगमको रेकर्डमा छ । आधुनिक लकिङ प्रणाली जडान गरिएका ट्यांकरबाट इन्धन चोरी गर्नु असम्भव भएको बताइन्छ । उक्त लकिङ प्रणली जडान भएपछि इन्धन नाप्ने बेलामा मात्रै परिमाण थाहा हुने गर्दछ । लकिङ प्रणाली ट्यांकर व्यवसायीहरूकै खर्चमा भारु ८५ हजार गोटाको आधुनिक लकिङ सिस्टम जडान गरिएको दाबी ढुवानी व्यवसायीको छ । अहिले नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरमा त्यस्तो सिस्टम जडान गरिएका ट्यांकरको संख्या चार सय रहेको बताइन्छ । नेपाल आयल निगम केन्द्रीय कार्यालय काठमाडौँले उक्त ट्यांकरबाट इन्धन चोरिएको घटनामा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो । उक्त छानबिन समितिमा नेपाल आयल निगमकी निर्देशक एवं चार्टर एकाउन्टेन्ट अन्जना पोखरेलको नेतृत्वमा गठन भएको थियो ।

उक्त छानबिन समितिले कस्तो छानबिन ग¥यो र ढुवानीकर्तालाई के कारबाही भयो भन्ने कुरा नेपाल आयल निगमले अहिलेसम्म सार्वजनिक नगरी ढुवानीकर्तालाई उन्मुक्ति दिएको अन्य तेल ढुवानीकर्ताले आरोप लगाएका छन् । ट्यांकर व्यवसायी सुकदेव सिंह (व्रअर) कागजी प्रक्रियामा देखिए पनि उक्त ट्यांकरका सञ्चालक गुरुदेव सिंह भएको समाचारस्रोतले बताएको छ । नेपाल आयल निगमले उक्त तेल चोरी कार्यमा संलग्न भएको ट्यांकर जफत गरेको भए पनि सञ्चाललाई कुनै कारबाही नभएपछि तेल चोरी प्रकरण विवादित बन्न पुगेको हो । ट्यांकरका सञ्चालक सुकदेव सिंह र गुरुदेव सिंह नातामा बाबुछोरा भएको र लामो समयदेखि सिंह आयल निगममा इन्धन ढुवानीमा नै संलग्न रहेको जानकारी ढुवानीस्रोतले दिएको हो । उक्त दुई वर्ष अगाडिको इन्धन चोरी घटनाका कारण ढुवानीकर्ता बाबु छोरा नै विवादमा तानिएका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया