Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘नयाँ स्टक एक्सचेन्ज आवश्यक छैन’

‘नयाँ स्टक एक्सचेन्ज आवश्यक छैन’


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को कर्मचारी संगठनले नेपालको हकमा नयाँ स्टक एक्सचेन्ज आवश्यक नभएको बताएको छ । सरकारले नयाँ स्टक एक्सचेन्जलाई सञ्चालनको लागि अनुमति दिने तयारी गरिरहँदा कर्मचारी संघले भने बुधबार विज्ञप्ति जारी गर्दै मुलुकको लागि नयाँ स्टक एक्सचेन्ज आवश्यक नभएको र भएको यही स्टक एक्सचेन्जलाई पुनर्संरचना गर्दै यसलाई नै सुदृढीकरण र आधुनिकीकरण गर्नुपर्ने बताएको हो ।

‘सन् १९८० को दशकदेखि नै विश्वभर स्टक एक्सचेन्जको संख्या घटिरहेको र भएका स्टक एक्सचेन्जहरु पनि मर्जरमा गइरहेकोमा नेपालको हकमा नयाँ स्टक एक्सचेन्ज आवश्यक छैन’, संघले भनेको छ । क्यानडामा दर्जनौँ स्टक एक्सचेन्जहरु थिए, अमेरिकामा सयौँको संख्या थिए, भारतमा नै २६ वटा स्टक एक्सचेन्जहरु थिए, अहिले धेरैजसो मर्जरमार्फत एक आपसमा गाभिएका छन् । अस्तित्वमा छैनन्, सारा युरोपलाई चारवटा स्टक एक्सचेन्जले धान्ने अवस्था रहेको भन्दै नेपालको हकमा कुनै पनि हालतमा नयाँ स्टक एक्सचेन्ज आवश्यक नभएको जिकिर संघले गरेको छ । विश्वबजारमा नै स्टक एक्सचेन्जको संख्या घटिरहेको अवस्थामा नेपालजस्तो सानो अर्थतन्त्र भएको ठाउँमा अर्को स्टक एक्सचेन्ज खोल्ने कुरा गर्नु, स्टक एक्सचेन्जमा प्राइभेट कम्पनी समेतलाई लगानी गर्न दिनु अवैज्ञानिक र अव्याहारिक रहेको संघले बताएको छ ।

बैंक तथा वित्तीय संस्था, दूरसञ्चार कम्पनी, बीमा वा यस्तै कुनै संस्थाको संख्या बढाएर बजारमा प्रतिस्पर्धा हुन्छ । तर संख्या थपेर मूल्यमा प्रतिस्पर्धा ल्याउन भन्ने विषय यो क्षेत्र होइन, संघले विज्ञप्तिमार्फत भनेको छ । पुँजीबजारको निर्धारक स्टक एक्सचेन्जको संख्या नभएको भन्दै संघले संंसारभर दुई सयवटा मुलुक छन् तर स्टक एक्सचेन्ज भनिनलायक संस्थाहरु एक सय १० देखि एक सय २० वटा मात्र भएको उदाहरण दिएको छ । यसमा पनि नियमितरुपमा धितोपत्र कारोबार हुने स्टक एक्सचेन्जको संख्या ६० देखि ७० वटा मात्र रहेको संघको भनाइ छ । ‘यी तथ्यकै आधारमा पनि हामी भन्न सक्छौँ, पुँजीबजार विकासको निर्धारक स्टक एक्सचेन्जको संख्या होइन’, संंघले भनेको छ ।

स्टक एक्सचेन्ज भनेको नाफा उद्देश्य प्रदान भएको विशुद्ध व्यावसायिक गतिविधि हुँदै होइन । स्टक एक्सचेन्ज विशुद्ध बजार सञ्चालन मात्र होइन, नियमनकारी निकाय पनि हो । त्यसलाई स्टक एक्सचेन्जलाई फ्रन्टलाइन रेगुलेटर भनिन्छ । स्टक एक्सचेन्जले लगानीकर्ताहरुको हक सुनिश्चित गर्ने गरी सूचीकृत कम्पनीहरुको निगरानी गरिहेको जानकारी पनि संघले दिएको छ । स्टकले ब्रोकर कम्पनीहरुको नियमन, अनुगमन, सुपरिवेक्षण, गरिरहेका हुन्छन् । यस्तो नियमनकारी सञ्चालनमा कहीँ पनि प्रतिस्पर्धा हुँदैन, संंघले भनेको छ । सञ्चालनमा निहित यही नियमनकारी तत्वकै कारण संसारभर स्टक एक्सचेन्जको प्रतिस्पर्धा छैन । बैंक, बीमा, टेलिकमजस्ता व्यावसायिक संस्थाहरुसँग जोडेर स्टक एक्सचेन्ज पनि त्यस्तै हो भन्नु, दिउँसै अँध्यारो बनाउन खोज्नु मात्र भएको संंघले भनेको छ ।

संघले नेप्से सरकारको लागि सुनको अण्डा दिने कुखुरो भएको भन्दै हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये नेप्से उत्कृष्ट संस्था भएको बताएको छ । सरकारले गरेको केवल ५०, ६० लाख रुपैयाँ पुँजीलाई नेप्सेले निरन्तरको आम्दानीबाट बढाएर एक अर्ब रुपैयाँ चुक्ता पुँजी पु-याएको छ । यसले सरकारलाई प्रत्येक वर्ष ५० देखि एक सय ६७ प्रतिशतसम्म नगद लाभांश दिँदै आएको छ । नेप्सेको यो प्रगति र अवस्था निजी क्षेत्रलाई समेत इष्र्यालाग्दो विषय बनेको छ । यो अवस्थामा कुनै पनि हालतमा नयाँ स्टक एक्सचेन्ज खोलिन नहुने संघको माग छ । नेप्सेमा अहिले दुई सय ४० वटा संगठित संस्था सूचीकृत रहेका छन् । ‘मर्जरकै कारण यो संख्या क्रमिकरुपमा घट्दै गएको छ, यो अवस्थामा हामीले किन अर्को स्टक एक्सचेन्ज चाहियो ?’, संघले प्रश्न गरेको छ ।

दुई अंकले घट्दा एक अर्ब चार करोडको सेयर खरिदबिक्री
सेयरबजार परिसूचक पुनः ओरालो लागेको छ । अघिल्लो दिन झण्डै १२ अंकले ओरालो लागेको सेयरबजार परिसूचक साताको पाँचौँ कारोबार दिन बिहीबार पुनः दुई दशमलव १३ अंकले ओरालो लागेर १९ सय ३७ दशमलव ७४ विन्दुमा कायम रहेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ५४ अंकले ओरालो लागेर तीन सय ७६ दशमलव ८४ विन्दुमा कायम छ । यस दिन १३ वटा उपसमूहहरुअन्तर्गत दुई सय २७ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएका छन् । जसबाट २२ हजार एक सय ७५ पटकको कारोबारमा ३४ लाख एक हजार छ सय ९२ कित्ता सेयर खरिदबिक्री भएका छन् । सोही खरिदबिक्रीका आधारमा यस दिन कुल सेयर कारोबार रकम एक अर्ब चार करोड ४३ लाख ७९ हजार छ सय रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यस दिन कारोबार भएका कुल उपसमूहहरुमध्ये छवटा उपसमूहहरुको सूचक उकालो लागेका छन् भने सातवटा उपसमूहहरुको सूचक ओरालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक चार दशमलव छ अंकले ओरालो लागेर १३ सय १० दशमलव ९१ विन्दुमा झरेकोमा जीवन बीमा उपसमूहको सूचक पनि २४ दशमलव ८२ अंकले ओरालो लागेर नौ हजार एक सय ७२ दशमलव ७३ विन्दुमा झरेको छ । यीबाहेक ट्रेडिङ, उत्पादनमूलक, अन्य, लघुवित्त र सामूहिक लगानी कोष उपसमूहको सूचकहरु पनि क्रमशः १७ दशमलव ५९, १३, १८ दशमलव ८५, एक दशमलव ५५ र शून्य दशमलव १३ विन्दुले ओरालो लागेका छन् । विकास बैंक उपसमूहको सूचक भने ३७ दशमलव १३ अंकले उकालो लागेर ३४ सय ८९ दशमलव नौ विन्दुमा चढेकोमा जलविद्युत् उपसमूहको सूचक पनि १३ दशमलव ७८ अंकले उकालो लागेर २२ सय १४ दशमलव ७८ विन्दुमा चढेको छ । फाइनान्स उपसमूहको सूचक पनि २२ दशमलव दुई अंकले उकालो लागेर १६ सय ४३ दशमलव ७२ विन्दुमा चढेकोमा निर्जीवन बीमा उपसमूहको सूचक पनि एक दशमलव ७१ अंकले उकालो लागेर सात हजार नौ सय एक दशमलव पाँच विन्दुमा चढेको छ । यीबाहेक होटल तथा पर्यटन र लगानी उपसमूहहरुको सूचक पनि क्रमशः १० दशमलव ९७ र शून्य दशमलव शून्य दुई विन्दुले उकालो लागेका छन् ।

नेप्सेमा यस दिन बढी कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य चार दशमलव ४९ प्रतिशतले बढेर १२ सय ८० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको मल्टीपर्पोस फाइनान्सको सेयर मूल्य पनि चार दशमलव नौ प्रतिशतले बढेर तीन सय ४३ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक छ्याङ्दी हाइड्रोपावर लिमिटेड, बुद्धभूमि हाइड्रो नेपाल लिमिटेड आदिको सेयर मूल्य पनि उकालो लागेका छन् ।

गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य छ दशमलव ४९ प्रतिशतले घटेर १४ सय ११ रुपैयाँ २० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको अपर हेवाखोला हाइड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य पनि पाँच दशमलव ५६ प्रतिशतले घटेर चार सय २५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक विजय लघुवित्त वित्तीय संस्था, रुरु जलविद्युत् परियोजना आदिको सेयर मूल्य पनि ओरालो लागेका छन् ।

यस दिन हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता चार सय ११ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा १३ करोड १० लाख ४५ हजार तीन सय ६५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको रिडी हाइड्रोपावर कम्पनीको पनि प्रतिकित्ता पाँच सय ७६ रुपैयाँ अन्तिम मूल्यमा चार करोड ४४ लाख ८१ हजार चार सय १९ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नबिल बैंक, प्राइम कमर्सियल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया