Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचीनको अघोषित नाकाबन्दी नाकामा अर्बौँका सामान अलपत्र !

चीनको अघोषित नाकाबन्दी नाकामा अर्बौँका सामान अलपत्र !


काठमाडौं । चीनले विगत लामो समयदेखि अघोषित रुपमा नाकाबन्दी गरिरहेको व्यवसायीहरुले बताएका छन् । चिनियाँ नाकामा व्यवसायीका अर्बौँका सामान अड्किएर बसेको र त्यसलाई छुटाउन राज्यले पहल नगरेको उनीहरुले आरोप समेत लगाएका छन् ।

नेपालीहरुको ठूलो चाड दशैँ नजिएको तर दशैँमा बेच्नुपर्ने सामान नाकामै रोकिँदा अर्बौँका सामान सडेर बिग्रिने अवस्थामा पुगेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले बताए । उत्तरी नाकामा भइरहेको अघोषित नाकाबन्दीको प्रत्यक्ष मार व्यवसायीले भोग्नुपरेको उनको भनाइ छ ।  अध्यक्ष कार्कीले शनिबार विज्ञेप्ती जारी गरि सयौँ मालवाहक कन्टेनरहरु नाकामा थन्किएर बस्दा चाडपर्व केन्द्रित अर्बौँका सामानहरु सडिने, कुहिने र बिग्रिनेमा अवस्थामा रहेको र यता नेपालमा भने सामानको हाहाकार देखिएको उल्लेख गरेका छन् । नाकामा सामान अलपत्र भएपछि धेरै उद्योगी व्यवसायीहरु बैंकको ब्याजदर तिर्न समेत नसक्ने अवस्थामा पुगेका छन् ।

बैंकले दिएको मानसिक तनावका कारण कतिपय उद्योगी व्यवसायीहरुले आत्महत्याको बाटो रोज्न बाध्य भएको भन्दै महासंघले यसतर्फ गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ । देशमा उद्योगी तथा व्यवसायीमैत्री वातावरण नहुनुका कारण अर्बौँ लगानी गरी उद्योग व्यवसाय सञ्चालन गर्दै आइरहेका उद्योगी–व्यवसायीहरु पलायनतर्फ उन्मुख भइरहेको महासंघको भनाइ छ । कागजमा मात्रै व्यवसायमैत्री नीति नियम हुने र कार्यान्वयन भने अति नै फितलो हुनु नै अहिलेको मूख्य समस्या रहेको महासंघको आरोप छ । ‘व्यवसायीहरुले आफ्नो सम्पूर्ण जायजेथा बैंकलाई बुझाएर ऋण गरी उद्योग व्यापार सञ्चालन गरेका छन् । विभिन्न प्राकृतिक प्रकोप र कोरोना महामारीका कारण व्यापार व्यवसायले गति लिन नसक्दा बैंक ब्याज तथा घरभाडा समेत तिर्न नसकेको अवस्था छ’, विज्ञप्तिमा भनिएको छ ।

‘व्यापार व्यवसाय गर्न सामान नाकामा थन्किएको, बैंकले ऋण चुक्ता गर्न बारम्बार ताकेता गर्दै सम्पत्ति लिलाम तथा जफत गर्ने धम्की दिँदै मानसिक तनाव दिइरहेको अवस्था छ’, विज्ञप्तिमा भनिएको छ, ‘यावत् समस्याले गर्दा व्यवसायीहरु मानसिक सन्तुलन गुमाएर आत्महत्या गर्नुपरेको उदाहरणहरु छन् ।’  बैंकको ब्याजदर अत्यधिक बढेको भन्दै बैंकको ब्याजदर नियन्त्रण गर्न समेत महासंघले नेपाल राष्ट्र बैंकसमक्ष अनुरोध गरेको छ । एकल अंकमा हुनुपर्ने ब्याजदरले सीमा नाघेर १४/१५ प्रतिशतसम्म पुग्दा पनि सरकार र राष्ट्र बैंक मौन रहेको महासंघको आरोप छ । उद्योग व्यवसाय ध्वस्त हुनु भनेको देश आर्थिक संकटतर्फ उन्मुख हुनु हो भन्ने कुराप्रति राज्य, सरकार, र सम्बन्धित निकायको सोच पुग्न जरुरी रहेको महासंघले जनाएको छ ।

देशलाई आर्थिक संकटबाट जोगाउन सरकारले सीमा नाकामा थन्किएर बसेका सामानहरु भित्र्याउन तत्काल सहजीकरण गर्नुपर्ने महासंघको माग छ । यस्तै राष्ट्र बैंकले मौद्रिक नीति विभेदपूर्ण नभई सन्तुलित र व्यवसायीमैत्री बनाउन आवश्यक रहेको महासंघका अध्यक्ष कार्कीले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया