Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘धोबीखोला कोरिडोरका लागि एकीकृत गुरुयोजना’

‘धोबीखोला कोरिडोरका लागि एकीकृत गुरुयोजना’


काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले धोबीखोला करिडोर विस्तारका लागि एकीकृत गुरुयोजना बनाइने बताएका छन् । काठमाडौं उपत्यका विकास प्राधिकरणले आइतबार आयोजना गरेको धोबीखोला करिडोर कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजनासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले बोल्दै कपन–बूढानीलकण्ठ डुबान नियन्त्रणका लागि छुट्टै आयोजना बनाएर काम गर्ने बताए ।

अब बस्ने मन्त्रिपरिषद्को बैठकमा छुट्टै आयोजना बनाएर करिडोर बनाउने प्रस्ताव पास हुने उनको भनाइ थियो । करिडोरलाई विवादित बनाउनेभन्दा पनि समस्या समाधान गर्नेतर्फ सबैले ध्यान दिनुपर्ने उनले बताए । यस्तै उनले आयोजना बनाउँदै गर्दा नयाँ प्रविधिको प्रयोग गर्नुपर्नेमा समेत जोड दिए । छलफलमा नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले धोबीखोला करिडोरको कपन–बूढानीलकण्ठ डुबान नियन्त्रणको काम सरकारले छुट्टै आयोजना बनाउन माग गरेका थिए ।

करिडोरको डुबान नियन्त्रण गर्न खुद्रा–खुद्रामा बजेट गइरहेको भए पनि समस्या भने जस्ताको तस्तै रहेको बताए । थापाले धोबीखोला करिडोरको कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण गर्न अहिले विभिन्न खण्ड–खण्डमा स्थानीय पालिका, प्रदेश सरकार र काठमाडौं उपत्यका विकास प्राधिकरणले काम गरेको बताए । यसलाई एउटै आयोजनामार्फत बाढी नियन्त्रण गर्ने योजना बनाउनुपर्नेमा उनको जोड थियो । करिडोर बनाउने क्रममा खोलाको बहावलाई नियन्त्रण गर्नेगरी मात्रै नभई बनाएका घरहरुको समेत संरक्षण कसरी गर्ने सोच्नुपर्ने उनको भनाइ थियो ।

छलफलमा काठमाडौं उपत्यका विकास प्राधिकरणका नायब विकास आयुक्त नवराज प्याकुरेलले उपत्यकामा डुबानको समस्या बढ्न थालेपछि धोबीखोला करिडोर आयोजनाको कार्यक्षेत्र विस्तार गर्नुपर्ने आवश्यकता बढेको जनाए । त्यसैगरी उनले आयोजनाको प्रस्तावित नाम धोबीखोला करिडोर कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना रहेको बताए । साथै उनले आयोजनाको नाम संशोधन र स्रोतको सुनिश्चतता अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको समेत जानकारी दिए ।

छलफलमा प्रदेश सांसद कुशुम कुमार कार्की, न्हुछे नारायण श्रेष्ठ, विषय विज्ञ प्राडा नरेन्द्र मान शाक्य, डा. सञ्जय उप्रती, डा. भगवान रत्न कंसाकार, डा. जिव राज पोखरेल, पद्म सुन्दर जोशी, प्रकाश चन्द्र घिमिरे, डा. चिरञ्जीवी भट्टराई, गोविन्द शर्मा पोखरेल, कपन–बूढानीलकण्ठ क्षेत्रका जनप्रतिनिधि, विभिन्न दलका प्रतिनिधि, समाजसेवीलगायत विभिन्न सरोकारवाला पक्षहरुसँग डुबान समस्या समाधानका लागि छलफल गरिएको थियो । काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले सहरी विकासलाई व्यवस्थित बनाउन सरोकारवाला पक्षसँग सुझाव संकलन गरिएको जानकारी दिइन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया