Techie IT
×
गृहपृष्ठbreakingगरिबी बढ्ने त्रास

गरिबी बढ्ने त्रास


काठमाडौं । नेपालमा गरिबी बढ्ने संकेत देखिएको छ । कोरोनाको प्रकोप, वस्तु (खाद्य तथा गैरखाद्य) तथा सेवामा मूल्यवृद्धि, बेरोजगारी, विदेशी मुद्राको सञ्चितिमा ह्रास, रुस–युक्रेन युद्ध जस्ता कारणले विश्वको साथै नेपालको अर्थतन्त्रमा समेत गम्भीर असर पारेको कारण गरिबी बढ्ने त्रासले नेपाल राष्ट्र बैंकलाई समेत सताएको छ ।

‘मूल्यवृद्धि, रुस–युक्रेन युद्धलगायतका कारण सबै क्षेत्रको ब्यालेन्ससिट नै अर्कोतर्फ (माइनसमा) जाने हो कि भन्ने च्यालेन्ज बढेको छ’, राष्ट्र बैंकका एक अधिकारीले भने, ‘पछिल्लो समयमा नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पुँजीगत खर्चमा कमी, ब्यालेन्स अफ पेमेन्ट (बीओपी) घाटामा हुनु, पुँजी पलायन, औपचारिक च्यानलबाट रेमिट्यान्स भित्रिन नसक्नुजस्ता कारणले अर्थतन्त्रलाई धराशायी बनाउँदै लगेको छ । यसले निश्चय नै गरिबी बढाउने देखिन्छ ।’

राष्ट्र बैंकका ती अधिकारीका अनुसार चालू आर्थिक वर्षमा बजेटले लिएको लक्ष्यअनुसार आर्थिक वृद्धिदर हुँदैन भने पुँजीगत खर्च पनि अझै न्यून हुने देखिन्छ । वस्तु तथा सेवाको मूल्य थप वृद्धि हुनेछ । यसले प्रतिव्यक्ति आय मात्र कम हुनेछैन शिक्षा, स्वास्थ्य र जीवनस्तरमा सर्वसाधारणको पहुँच घट्ने संकेत देखिएको छ ।

करिब एक वर्षअगाडि विश्वमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ६० अमेरिकी डलर हाराहारी रहेकामा यो बीचमा बढेर एक सय २५/३० अमेरिकी डलर पुगेको थियो । यसले गर्दा विश्वभर सामानको मूल्य बढ्न गएको छ । नेपाल जस्तो शतप्रतिशत पेट्रोलियम पदार्थ खरिद गर्नुपर्ने देशलाई तेलको साथै अन्य खाद्य तथा गैरखाद्य वस्तु र सेवा खरिदमा चरम मूल्यवृद्धि भएको छ भने आन्तरिक ढुवानीको भाडासमेत बढ्दा सामानको लागत बढ्न पुगेको छ ।

कोरोनाको कारण झण्डै दुई वर्ष उद्योग/कलकारखाना पूर्ण क्षमतामा चल्न नसक्दा विश्वभर सामानको अभाव हुन गएको थियो । सामान उत्पादन र ढुवानी सहज हुन नपाउँदै रुसले युक्रेनमाथि आक्रमण गरेपछि विश्वकै आपूर्ति प्रणालीमा अवरोध सिर्जना हुन पुग्यो । विश्वका कैयौँ देश रुस वा युक्रेनको पक्षमा लाग्दा धेरै देशहरुले रुसमाथि आर्थिक नाकाबन्दी लगाए । त्यस्तो प्रतिबन्ध रुसले पनि लगाइदिँदा विश्वकै अर्थतन्त्रमा धक्का दियो । मूल्यवृद्धिको चपेटामा आज नेपालजस्ता गरिब मुलुक मात्र होइन युद्धमा होमिएको रुसको साथै युद्धमा युक्रेनलाई आर्थिक र भौतिक सहयोग गर्दै आएको अमेरिकालगायत पश्चिमा देशहरु पनि परेका छन् ।

नेपालमा एक वर्षको अवधिमा १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा आयात हुँदा दुई खर्ब रुपैयाँबराबरको मात्र वस्तु निर्यात भएको छ । यो तथ्यांकले नेपालको व्यापारघाटा अघिल्लो आर्थिक वर्षमा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख भएको देखिन्छ । यो सबै अमेरिकी डलरमा गरिएको खरिद हो । राष्ट्र बैंकले व्यापारीलाई डलर दिएर व्यापारीले सामान खरिद गर्दा अहिले विदेशी मुद्राको सञ्चिति घट्न भएको छ भने भुक्तानी सन्तुलन पनि बिग्रिएको छ । वस्तु निर्यात हुँदा डलर आम्दानी हुन्थ्यो । तर, निर्यात नै नभएपछि नेपालमा अहिले डलरको अभाव हुनपुगेको छ । भुक्तानी सन्तुलन बिग्रिन जाँदा नेपाली नोट मात्र राष्ट्र बैंकमा थुप्रिन पुगेको छ । तर, निर्यात नबढेको कारण थुप्रिएको नेपाली रुपैयाँ राष्ट्र बैंकबाट बाहिर निस्किनसकेको छैन । अहिले विकास निर्माणको काम पनि हुन नसकेको कारण राजस्वमार्फत जम्मा भएको रकम पनि राष्ट्र बैंकमै थुप्रिएको छ ।

अहिले देशमा विकास निर्माणको काम पनि चुस्त रुपमा हुन सकेको छैन भने वस्तु उत्पादन नहुँदा रोजगारी पनि गुम्दै गएको छ । यसले मानिसका दैनिक गतिविधिमा असर पारेको छ । काम नहुँदा सर्वसाधारणको हातमा पैसा पुग्नसकेको छैन । जसले उनीहरुलाई शिक्षा र स्वास्थ्यको पहुँचबाट टाढा पार्ने काम भएको छ भने जीवनस्तर पनि खस्कँदै गएको छ ।

सरकारी तथ्यांकअनुसार पछिल्ला वर्षहरुमा नेपालमा गरिबीको संख्या घट्दै गएको बेला कोरोना महामारी र रुस–युक्रेन युद्धले चौतर्फी प्रभाव पर्दा गरिबको संख्या बढ्ने निश्चित जस्तै भएको छ । राष्ट्रिय योजना आयोगको पन्ध्रौ योजना आधारपत्र,२०७५ले नेपालमा १८ दशमलव ७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्यांक सार्वजनिक गरेको थियो भने राष्ट्रिय योजना आयोगको केन्द्रीय तथ्यांक विभागले गत वर्ष भदौमा प्रकाशित बहुआयामिक गरिबी सूचकांक (मल्टिडाइमेन्सनल पोभर्टी इन्डेक्स २०२१) अनुसार नेपालमा सन् २०१९ मा १७ दशमलव चार प्रतिशत अर्थात् करिब ५० जनता गरिब छन् । सन् २०२४ सम्म यो संख्या ११ दशमलव पाँच प्रतिशत अर्थात् ३२ लाखमा झार्ने सरकारी लक्ष्य राखिएको बेला अर्थतन्त्रमा देखिएका समस्याको कारण यो संख्या बढ्ने देखिन्छ ।

शिक्षा, स्वास्थ्य र जीवनस्तरसँग सम्बन्धित १० वटा सूचकहरुको भारितमानको लेखाजोखा गरेर गरिबीको संख्या प्रकाशित गर्ने गरिन्छ । नेपालको गरिबी सहरी र ग्रामीण क्षेत्रमा असमान छ । प्रदेशहरुमा पनि असमान नै छ । अहिले यो असमानता अझै बढ्न गएको छ । 


क्याटेगोरी : breaking, समाचार

तपाईको प्रतिक्रिया