Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजेपी हाइस्कुलको भवन निर्माणको नाममा अनियमितता

जेपी हाइस्कुलको भवन निर्माणको नाममा अनियमितता

प्र.अ.लाई बाइकको सुविधादेखि प्र.अ.को श्रीमतीलाई कानुनी सल्लाहकारमा नियुक्तिसम्म


काठमाडौं ।काठमाडौं महानगरपालिका वडा नं. १६ मा पर्ने नेपालकै पुरानोमध्येको एक ऐतिहासिक स्कुलका रुपमा चिनिने जेपी (जुद्धोदय माध्यमिक) हाइस्कुलको जग्गा लिजमा दिने निर्णय गर्दा ठूलो अनियमितता भएको पाइएको छ ।

पुरानो रहेको विद्यालय भवनलाई नयाँ बनाउन २०६५ वैशाख ४ मा जुद्धोदय माध्यमिक विद्यालय क्षेत्रपाटी र तरुण निर्माण सेवा प्रा.लि.का सञ्चालक मनोज कुमार मिश्रबीच सम्झौता भएको थियो ।

सम्झौतामा निर्माण अवधि तीन वर्ष छ महिना र निर्माण सम्पन्न भएपछि लिज अवधि ३० वर्ष रहने, विद्यालय भवन ४० प्रतिशत, व्यावसायिक भवन ६० प्रतिशत रहने, विद्यालयको भवन निर्माण सम्पन्न भए पछि व्यावसायिक भवन निर्माण गरिने भन्दै पहिलोपटक लिज सम्झौता भएको थियो ।

तर विद्यालयको भवन निर्माणपश्चात् व्यावसायिक भवन निर्माण गर्ने भनिए पनि निर्माण कम्पनीले व्यावसायिक भवन बनाएर भाडामा लगाएर विद्यालय भवनको काम रोक्दै आएको पाइएको छ ।

भवन बनाउने सम्झौता भएको १४ वर्षसम्म पनि सो भवन पूरा बनाउनेभन्दा पनि व्यावसायिक भवन बनाएर भाडामा दिई विद्यालयका प्र.अ.लक्ष्मण पौडेल, हालका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार देव मानन्धर हालका का.म.न.पा. वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजाल, विभोर बैंकका तत्कालीन सीईओ अजय घिमिरे, विश्वभक्त श्रेष्ठ, अमृत पूरी, सूर्यराज शाक्य, छिमि सेन्टरका छिमि भनिने चाइनिजलगायतका व्यक्तिको मिलेमतोमा करोडौँ हिनामिना भइरहेको स्थानीयहरुले बताएका छन् ।

पुरी विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष हुन् भने प्रविण न्यौपाने विद्यालयका सहायक प्रधानाध्यापक हुन् । त्यस्तै सूर्यराज शाक्य विद्यालयका पूर्वप्रधान्याध्यापक हुन् । विद्यालयलाई पूरक करार गरी लिजमा दिन नमानेका प्रह्लाद कृष्ण मानन्धरलाई विद्यालय व्यवस्थापक समितिको अध्यक्षबाट हटाएर विश्वभक्त श्रेष्ठलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाई तरुण निर्माण सेवासँग सम्झौता गरिँदै आइएको छ ।

२०६५ वैशाख ४ मा भएको पहिलो सम्झौताअनुसार काम नभएपछि पुनः सोही निर्माण कम्पनीसँग २०६६ माघ २५ मा पहिलो पूरक करारनामा तथा २०७२ असार २५ दोस्रो पूरक करारनामा सम्झौता भएको थियो ।

काम नगर्ने निर्माण कम्पनीसँगै पटक–पटक सम्झौता गर्ने विद्यालयका प्र.अ. लक्ष्मण पौडेल यो तीनवटै सम्झौताका साक्षी बस्ने मुख्य पात्र हुन् ।

विद्यालयको कोषबाट मोटरसाइकल खरिद गरेर व्यक्तिगत बनाई प्रयोग गर्नेदेखि आफ्नै श्रीमती रिता के.सी पौडेललाई विद्यालयको कानुनी सल्लाहकारमा नियुक्ति दिलाएर विद्यालयमा आफ्नो प्रभुत्व चलाउँदै आएका प्र.अ. पौडेलकै रोहबरमा ठेकेदार कम्पनीसँग गलत सम्झौता गरी कहिल्यै पनि निर्माणकार्य सम्पन्न नै नगरी केवल सटर पसल मात्र निर्माण गरी मासिक लाखौँ रुपैयाँ बहाल असुल गरी आर्थिक हिनामिना हुँदै आएको पाइएको हो ।

विद्यालय स्रोतका अनुसार प्र.अ. पौडेल सामाजिक शास्त्रको विषयगत शिक्षक भए पनि नेपाली विषयको अध्यापन गराउँदै आएका छन् । विद्यालयले विद्यार्थीबाट विभिन्न नाममा शुल्क उठाई कल्याण कोष खडा गर्नुका साथै स्काउटको लागि भन्दै विद्यार्थीहरुबाट पैसा उठाएर समेत आर्थिक हिनामिना गर्दै आएको पाइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया