Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअसोज ११ पछि पनि रसुवागढी र तातोपानी नाका सञ्चालन भइरहन्छ कि बन्द ?

असोज ११ पछि पनि रसुवागढी र तातोपानी नाका सञ्चालन भइरहन्छ कि बन्द ?

चीनले अझै दिएन प्रस्ट जवाफ


काठमाडौं । भदौ २७ गते सोमबार नेपाल आएको जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु नेतृत्वको टोली बिहीबार भदौ ३० गते स्वदेश (चीन) फर्कियो । उनी भदौ २७ गते नेपाल आउँदा काठमाडौंसँग नजिक रहेका दुई नाका, रसुवागढी र तातोपानी चीनले नै बन्द गरेको थियो । २०७२ वैशाखमा गएको भूकम्प र त्यसपछि कोभिड–१९ फैलिएपछि चीनले ती दुई नाका पटक–पटक बन्द गर्दै खोल्दै आएको छ ।

पछिल्लो समयमा भने साउन २१ गतेदेखि रसुवागढी र साउन २५ गतेदेखि तातोपानी नाका चीनले एकतर्फी रुपमा पूर्णतः बन्द गरेको थियो । ती नाकाबाट नेपाली वस्तु चीन नगएको त तीन वर्ष हुन लागिसक्यो । खुलेको बेलामा पनि चीनबाट मात्र नेपालमा वस्तुहरु आउन दिइएको थियो ।

२८ गते नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा लीले बन्द रहेका ती दुई नाका खोल्नेबारे प्रस्ट केही बताएनन् । यद्यपि प्रधानमन्त्री देउवाले नाका खोल्न चिनियाँ पक्षलाई आग्रह गरेका थिए । प्रधानमन्त्री देउवासँगको भेटपछि चीन फर्किनु अघिल्लो दिन २९ गते बुधबार ली नेतृत्वको चिनियाँ टोलीले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता ग-यो । राष्ट्रपति भण्डारीलाई भेट्न जानुअघि आफूले चीनको वैदेशिक व्यापार हेर्ने अधिकारीसँग नाका खोल्ने विषयमा कुरा गरेको र त्यसको जानकारी आफ्नो राष्ट्रपति सि चिन फिङलाई पनि गराइएको बताउँदै चिनियाँ नेता लीले भोलिपल्ट (भदौ ३० गते) नै रसुवागढी र तातोपानी नाका खुल्ने प्रतिबद्धता राष्ट्रपतिसमक्ष व्यक्त गरे ।

लीले चिनियाँ वैदेशिक व्यापार हेर्ने अधिकारीसँग कुरा गरे/गरेनन् त्यो उनको कुरा थियो । तर, ली नेतृत्वको ६७ सदस्यीय चिनियाँ टोली फर्किने दिन भदौ ३० गते बिहीबारदेखि नै रसुवागढी र तातोपानी नाका सञ्चालनमा आयो, राष्ट्रपति भण्डारीसँग गरेको प्रतिबद्धता अनुसार । त्यो पनि एकतर्फी । चीनमा रोकिएका नेपाली व्यापारीका सामान धमाधम नेपाल पठाउने काम चीनले गरिरहेको छ । उसले सेप्टेम्बर २७ तारिख अर्थात् असोज ११ गतेसम्म चीनका विभिन्न सहरमा रोकिएका नेपाली सामान पठाइसक्ने जानकारी गराएको छ । ती दुई भन्सार नाका रहेका चीनतर्फका चिनियाँ सरकारी अधिकारीले नेपालका सम्बन्धित जिल्ला रसुवा र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीलाई सेप्टेम्बर २७ सम्म नेपाली व्यापारीका सबै सामान पठाइसक्ने बताएका छन् । तर, उनीहरुले सेप्टेम्बर २७ अर्थात् असोज ११ गतेपछि ती नाका सञ्चालन गरिराख्ने वा बन्द गर्ने केही पनि बताएका छैनन् ।

सीमा क्षेत्रको जिल्ला प्रशासन कार्यालयबाट चिनियाँ पक्षसँग असोज ११ गतेपछि नाका सञ्चालन निरन्तर हुन्छ/हुँदैन भनेर प्रश्न गरेका छन् । तर, चिनियाँ अधिकारीहरु मौन छन् । चीनले दुई देशका अधिकारीबीच कुरा गरेर यो विषयमा निचोडमा पुग्ने बताए पनि कहिले सीमा क्षेत्रका अधिकारीबीच बैठक बस्ने केही बताएका छैनन् ।

बैठकबाट निष्कर्ष निकाल्ने भने पनि चीनको केन्द्रीय सरकारको जे आदेश हुन्छ त्यहीअनुसार नै नेपालसँगको सीमा क्षेत्रका चिनियाँ अधिकारीहरुले वार्ता गर्छन् । उनीहरुले नेपाली अधिकारीहरुले जसरी नाका निरन्तर सञ्चालन गर्न केन्द्र सरकारसमक्ष सिफारिस नै गर्न सक्तैनन् । त्यसर्थ चीनको केन्द्रीय सरकार अर्थात् राष्ट्रपति सि चिन फिङले जे आदेश गर्छन् नाकाको बारेमा त्यही निर्णय हुन्छ । यदि असोज ११ पछि नाका निरन्तर सञ्चालन गर्ने हो नेपालका राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिसँग वार्ता गर्नुको अर्को विकल्प देखिँदैन । किनकि चिनियाँहरुले वर्तमान सरकारका प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत विश्वास गरेको देखिँदैन । नेपालमा संविधान त प्रधानमन्त्री कार्यकारी अधिकार प्राप्त अधिकारी हुन् । तर, चिनियाँ पक्षले अहिले नाका खोल्ने विषयमा प्रधानमन्त्री देउवालाई केही जानकारी नदिई उनका कुरा मात्र सुनेर नाका खोल्ने जानकारी राष्ट्रपति भण्डारीलाई दिए । त्यही कारण यी दुई नाका सञ्चालनको लागि राष्ट्रपतिबाटै चिनियाँ समकक्षीसँग ठोस वार्ता हुनुपर्ने देखिन्छ ।

‘चीनले वर्तमान सरकारलाई भन्दा राष्ट्रपति भण्डारीलाई विश्वास गरेको देखिन्छ’, वैदेशिक मामिलामा जानकार नेपाली कांग्रेसका एक नेताले भने, ‘राष्ट्रपतिस्तरमा वार्ता भयो भने यी दुई नाका सञ्चालनमा आउन सक्छ भन्ने झिनो आशा छ ।’ ती काँग्रेस नेताले झिनो आशा राख्नुको खास कारण के हो भने नेपाली व्यवसायी र सरकारी अधिकारीहरुले पटक–पटक चीनसँग आग्रह गर्दा पनि उनीहरुले नाका सुचारु गर्न मानेनन् तर राष्ट्रपतिसँगको एक भेटमै नाका खोलेको कारण नाका सुचारु गर्न राष्ट्रपति भण्डारीले गर्ने वार्ता नै निर्णय हुने हो । तर, अहिलेको अवस्थामा चीनले वार्ता गर्न मान्छ वा मान्दैन त्यो भने चिनियाँमै भर पर्छ ।

रसुवागढी नाका २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । रसुवागढी नाकामा पहिला दैनिक २ सय ५० बढी गाडी आवतजावत गर्ने गरेका थिए । तर, त्यसको लगत्तै २०७२ साल वैशाख १२ गते भूकम्प गयो । त्यसपछि नाका बन्द भएको थियो । पछि खुलेपछि पुनः कोरोना देखिएपछि २०७६ माघ २५ गतेदेखि २०७७ साल जेठ २२ गतेसम्म औपचारिक रुपमै बन्द थियो । त्यसपछि खुलेको नाका पनि २०७९ साउन २१ गतेदेखि बन्द थियो ।

रसुवागढीबाट तयारी कपडा, स्याउ, इलेक्ट्रिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेकामा पछिल्लो समयमा चीनमा निर्मित विद्युतीय तथा पेट्रोलियम पदार्थबाट चल्ने गाडीहरुको आयात बढेको थियो । खासगरी डिजेलबाट चल्ने डब्बल क्याब भएको फोटुन पिकअपको आयात धेरै थियो । उक्त गाडी नेपालको पहाडी क्षेत्रमा रुचाइएको छ ।

चीन सरकारले तिब्बतको सिगात्से हुँदै केरुङसम्म रेल ल्याउने बताएको छ । रेल आउने भएपछि रसुवागढी नाकाबाट २४ किलोमिटर मात्र दूरीमा रहेको केरुङमा चीनले तीव्र रुपमा भौतिक संरचना निर्माण गरिरहेको छ । त्यही भएर केरुङ अहिले व्यापारिक हब बनिरहेको छ । केरुङ विकासको कारण नेपालको व्यापार रसुवागढी नाकाबाट धेरै हुने देखिन्छ । तर, चीनले विभिन्न बहाना बनाएर नाका बन्द गर्ने काम गरिरहेको छ । साउन २१ गते तिब्बतमा कोरोना फैलिएर नाका बन्द गरेको बताए पनि अहिले कोरोना समाप्त भएर नाका खोलेको वा अर्को कारणले भनेर चीनले केही बताएको छैन ।

चीनले नाका खोलेपछि अहिले तिब्बतका विभिन्न ठाउँहरुमा रोकिएर रहेका सामानहरु धमाधम नेपाल आइरहेको छ । तिब्बतको सिगात्से, केरुङ, खासा, न्यालमलगायतका क्षेत्रमा अहिले पनि लकडाउन रहेको चिनियाँ पक्षको भनाइ छ । चीनले चाहेमा लकडाउन भए पनि ती दुई नाका सञ्चालन गर्न सक्छ भन्ने कुराको पुष्टि अहिलेको नाका सञ्चालनले पनि देखाउँछ । नेपाली अधिकारीहरुले असोज ११ पछिको नाका सञ्चालनको बारेमा पटक–पटक प्रश्न गरे पनि चीनले ठोस जवाफ नदिएको कारण अन्योल कायमै रहेको एक व्यवसायीले बताए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया