Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार३८ प्रतिशतले बढ्यो उद्योगमा लगानी प्रस्ताव

३८ प्रतिशतले बढ्यो उद्योगमा लगानी प्रस्ताव


काठमाडौं । मुलुकको उद्योग क्षेत्रमा गरिने लगानीमा ३८ दशमलव २८ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा ३८ दशमलव २८ प्रतिशत अर्थात् २० अर्ब ३१ करोड रुपैयाँले उद्योगमा गरिने लगानी प्रतिबद्धता बढेको छ । उक्त लगानी प्रतिबद्धता स्वदेशी र विदेशी लगानीकर्ताबाट आएको उद्योग विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।

विभागका अनुसार गत आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा ५३ अर्ब छ करोड ५४ लाख रुपैयाँ र चालू आर्थिक वर्षको सोही अवधिमा ७३ अर्ब ३७ करोड ९२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । गत आर्थिक वर्षमा ६० वटा उद्योग र पाँच हजार पाँच सय २७ जनालाई रोजगारी तथा चालू आर्थिक वर्षमा ६६ वटा उद्योग र चार हजार छ सय ६१ जनालाई रोजगारी दिने उद्देश्यका साथ उक्त लगानी प्रतिबद्धता आएको हो ।

कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलक गरी छ प्रकारका विभागमा दर्ता हुन्छन् । सोही क्रममा स्वदेशी र विदेशी लगानीकर्ताहरुले चालू आर्थिक भदौ मसान्तसम्मको अवधिमा सबैभन्दा बढी ऊर्जाजन्यमा ४८ अर्ब ७८ करोड एक लाख रुपैयाँ, उत्पादनजन्यमा छ अर्ब ४३ करोड ४१ लाख रुपैयाँ, सेवाजन्यमा सात अर्ब ३२ करोड ९१ लाख रुपैयाँ, पर्यटनजन्यमा १० अर्ब ५७ करोड ५७ लाख रुपैयाँ र सूचना सञ्चार तथा प्रसारण प्रविधिजन्यमा २६ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

ऊर्जाजन्य १५ वटा, उत्पादनजन्य १९ वटा, सेवाजन्य १० वटा, पर्यटनजन्य १९ वटा र सूचना प्रविधिजन्य तीनवटा उद्योग स्थापना गर्नका लागि उक्त लगानी प्रस्ताव गरेका हुन् । पर्याप्त पानी र उपयुक्त भू–बनोटको कारण स्वदेशी तथा विदेशी लगानीकर्ताहरुले नेपालको ऊर्जा अर्थात् विद्युत् गृह स्थापना गर्न आकर्षित भएको पाइन्छ ।

गत आर्थिक वर्षको सोही अवधिमा भने सबैभन्दा बढी लगानी प्रतिबद्धता उत्पादनजन्यमा २१ अर्ब १७ करोड आठ लाख रुपैयाँ, सेवाजन्यमा १५ अर्ब ९५ करोड ७० लाख रुपैयाँ, ऊर्जाजन्यमा १२ अर्ब ७८ करोड ३३ लाख रुपैयाँ, पर्यटनजन्यमा दुई अर्ब १० करोड रुपैयाँ, कृषि तथा वन पैदावरजन्यमा ९४ करोड ४१ लाख रुपैयाँ र सूचना प्रविधिजन्यमा २० करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका थिए । उक्त लगानी प्रतिबद्धता उत्पादनजन्य २७ वटा, सेवाजन्य १० वटा, ऊर्जाजन्य नौवटा, पर्यटनजन्य सातवटा, कृषि तथा वन पैदावरजन्य पाँचवटा र सूचना, सञ्चार तथा प्रसारण प्रविधिजन्य दुईवटा उद्योग स्थापनाका लागि जनाएका हुन् ।

यस्तै प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धतामा भने कमी आएको छ । चालू आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा प्रत्यक्ष विदेशी लगानीमार्फत एक अर्ब २५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । सो लगानी चारवटा उद्योगको लागि हो । गत आर्थिक वर्षको सोही अवधिमा १२ अर्ब १६ करोड २७ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । सो लगानी ७४ वटा उद्योगको लागि आएको हो ।

यस्तै, अवस्था सामान्य भएको हुँदा मुलुकको उद्योग क्षेत्रमा लगानी प्रतिबद्धतामा वृद्धि भएको विभागका अधिकारीहरुको भनाइ छ । यसैबीच स्वदेशी तथा विदेशी लगानीकर्ताहरुमार्फत उद्योगमा गरिने लगानी प्रस्ताव मोटो र लगानी भित्रिने रकम भने सानो आकारमा हुने गरेको छ । जसले गर्दा लगानी नआउने, उद्योग स्थापना हुन नसक्ने र रोजगारीको अवसर समेत प्राप्त हुँदैन । यसलाई कार्यान्वयन गर्न गराउन निजी क्षेत्र, सरकारी निकाय र विदेशी लगानीकर्ताहरुबीच समन्वय आवश्यक रहेको छ ।

सरकारले उद्योग क्षेत्रमा लगानी बढाउन विभिन्न सभा–सम्मलेन गरे पनि त्यसले सार्थकता पाउनसकेको छैन । विभागका साथै लगानी बोर्डबाट समेत नेपालको उद्योग क्षेत्रमा ठूलो लगानी आउने गरेको पाइन्छ । स्वदेशी लगानीकर्ताहरुले औद्योगिक व्यावसायिक ऐन २०७६ र विदेशी लगानीकर्ताहरुले प्रत्यक्ष विदेशी लगानीमार्फत नेपालको उद्योग क्षेत्रमा लगानी गर्न पाउँछन् । त्यस्तै सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५, राष्ट्रिय बौद्धिक सम्पत्ति नीति, २०७३, विदेशी लगानी नीति, २०७१, औद्योगिक नीति, २०७६, कम्पनी ऐन, २०६३ लगायतले नेपालमा उद्योग स्थापना तथा लगानी ल्याउन सहयोग गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया