Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतयारी पोशाकको निर्यात बढाउन चेम्बरले सहयोग गर्ने

तयारी पोशाकको निर्यात बढाउन चेम्बरले सहयोग गर्ने


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले तयारी पोशाकको निर्यात बढाउन उद्योगी व्यवसायीलाई सहयोग गर्ने भएको छ । चेम्बरले तयारी पोशाक एवं गार्मेन्टसबाट उत्पादित कपडाको अन्तर्राष्ट्रिय बजारीकरण एवं ब्राण्डिङका लागि सहयोग गर्न लागेको हो ।

नेपाल चेम्बरअन्तर्गतका अन्तर्राष्ट्रिय शाखामार्फत नेपाली तयारी पोशाकको बजार प्रवद्र्धन गर्न उद्योगी व्यवसायीसँग सहकार्य गर्न लागिएको अध्यक्ष राजेन्द्र मल्लले बताए । नेपाल तयारी पोशाक उद्योग संघका नवनिर्वाचित पदाधिकारीहरुलाई जमलस्थित चेम्बर भवनमा स्वागत गर्दै अध्यक्ष मल्लले बढ्दो व्यापारघाटा न्यूनीकरणका लागि निर्यात प्रवर्द्धन एक मात्रै विकल्प भएको बताए । अध्यक्ष मल्लले भने, ‘विदेशमा रहेका नेपाली दूतावास र चेम्बरका अन्तर्राष्ट्रिय शाखामार्फत तयारी पोशाक निर्यात बढाउन चेम्बरले सहयोग गर्छ ।’ चेम्बरले गर्ने अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपाली उद्योगी व्यवसायीका उत्पादनलाई पहिलो प्राथमिकतामा राख्ने उनले प्रतिबद्धता जनाए । १९९० को दशकमै नेपालबाट वार्षिक ११ अर्ब रुपैयाँबराबरको तयारी पोशाक निर्यात हुने गरेको भन्दै अध्यक्ष मल्लले अहिले मुस्किलले सात अर्बको निर्यात हुनु दुर्भाग्य भएको बताए ।

नेपालका तयारी पोशाकको निर्यात प्रवर्द्धनका लागि व्यापार तथा निकासी केन्द्र र सरोकारवाला अन्य सरकारी निकायसँग पनि चेम्बरले समन्वय गर्ने अध्यक्ष मल्लको भनाइ छ । तयारी पोशाक उत्पादन गर्न साना उद्यमीलाई प्रोत्साहन गर्नुपर्ने अध्यक्ष मल्लले बताए । गार्मेन्ट्सका वस्तु एवं तयारी पोशाकको निर्यातमा कुनै समय नेपाल विश्वको उत्कृष्ट १० भित्र परेको स्मरण गराउँदै उनले निर्यात प्रवर्द्धन गर्नका लागि चेम्बरले आवश्यक सवै व्यवस्था गर्ने प्रतिबद्धता समेत जनाए । नेपाल तयारी उद्योग पोशाक संघका नवनिर्वाचित अध्यक्ष पशुपतिदेव पाण्डेले सगरमाथाको देश भनेर गर्व भए पनि सगरमाथामा चढ्दा लगाउने कपडा मुलुकभित्रै उत्पादन हुन नसक्नु दुर्भाग्य भएको बताए । यो आर्थिक वर्षमा निर्यात १० अर्ब पु-याउने आफुहरुको लक्ष्य रहेको अध्यक्ष पाण्डेको भनाइ छ । स्वदेशी वस्तुको गुणस्तरबारे आफ्नै देशका नागरिकलाई सचेत गराउन नसकिएको पाण्डेको गुनासो थियो । नेपालमै उत्पादित वस्तुहरु पनि पछिल्लो समय गुणस्तरीय बन्दै गएको भन्दै पाण्डेले उपभोक्तामा सचेतना जगाउन भने नसकिएको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया