Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिगमबाट ग्राउन्ड ह्यान्डलिङ खोस्न सिफारिस

निगमबाट ग्राउन्ड ह्यान्डलिङ खोस्न सिफारिस


काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका लागि चुनाव खर्च जुटाउन पर्यटनमन्त्री जीवनराम श्रेष्ठले नेपाल वायुसेवा निगमबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको नेपाल वायुसेवा निगमबाट खोसेर निजी क्षेत्रको अर्को अमुक कम्पनीलाई दिने चलखेल सुरु भएको छ ।

गत भदौ १५ गते बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विमानस्थल सुरक्षा समितिको बैठकले निगमबाट हुँदै आएको ग्राउन्ड ह्यान्डलिङ सेवा खोस्न नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालयलाई अनुरोध गरेको छ । समितिको बैठकले त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमा कमर्सियल ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्दै आएको नेपाल वायुसेवा निगमको सेवा स्तरीय नभएको, महंगो भएको, सेवाबारे धेरै गुनासा आउने गरेको जसले विमानस्थलकै बदनामी हुने गरेको कारण वैकल्पिक कमर्सियल ग्राउन्ड ह्यान्डलिङ सेवा दिने कम्पनीको व्यवस्थाका लागि नेपाल नागरिक उड्डययन प्राधिकरण प्रधान कार्यालय अनुरोध गर्ने निर्णय गरेको छ र सो निर्णय कार्यान्वयन गर्न अनुरोध समेत गरेको छ । प्राधिकरण, त्रिभुवन विमानस्थल कार्यालयले सुरक्षा समितिको उक्त निर्णय सम्बन्धित निकायहरुमा पत्राचार समेत गरिसकेको छ ।

आफू माथिका हाकिमले लाए/अह्राएको काम गर्ने बानी परेका विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले उक्त निर्णय गरेका हुन् । आफू १२औँ तहको हुँदाहुँदै पनि ११औँ तहका कनिष्ठ कर्मचारी प्रदीप अधिकारी प्राधिकरणको महानिर्देशक नियुक्त भएपछि महाप्रबन्धक ठाकुरले उनको निर्देशन अक्षरशः पालना गर्दै आएका छन् । १२औँ तहका ६ जना वरिष्ठ अधिकृत हुँदाहुँदै घीनलाग्दो तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले कनिष्ठ अधिकृत प्रदीप अधिकारीलाई प्राधिकरणको महानिर्देशक नियुक्त गरेका थिए । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजनाको प्रमुख भएर तर मारेका अधिकारीले मन्त्री आलेलाई रिझाएर महानिर्देशक पद हात पारेका हुन् । उनी १४ माइल दौडिएर मन्त्री आलेलाई रिझाउन पुगेका थिए । चोरबाटोबाट महानिर्देशक पद हत्याउन पुगेका अधिकारी दशौँ तहमा हुँदादेखि नै निगमबाट ग्राउन्ड ह्यान्डलिङ खोस्ने मिसनमा कस्सिएर लागेका थिए । प्राधिकरणको त्यतिबेलाको एउटा बैठकमा मन्त्रीकै अगाडि निगमका प्रतिनिधि सञ्चालकले निगमलाई उँभो लगाउने हो भने ग्राउन्ड ह्यान्डलिङ खोस्नुपर्छ भन्ने उनको प्रस्तावको प्रतिवाद गरेर झाँको झारेका थिए ।

उतिबेलादेखि नै निगमबाट ग्राउन्ड ह्यान्डलिङ खोस्ने मिसनमा लागेका अधिकारीले महानिर्देशक हुँदा मन्त्री आलेलाई गरेको लगानी उठाउन हालका मन्त्री जीवनराम श्रेष्ठलाई चुनाव खर्च जुटाइदिने प्रलोभन देखाएर निगमबाट ग्राउन्ड ह्यान्डलिङ खोस्ने निर्णयको सिफारिस गराउन सफल भएका छन् । विमान नभएर टाट उल्टिन लागेको निगमलाई त्यही ग्राउन्ड ह्यान्डलिङको सेवाले जोगाउँदै आएको छ ।

निगमले ग्राउन्ड ह्यान्डलिङबाट वार्षिक सदर पौने चार अर्ब रुपैयाँ आम्दानी गर्ने गरेको छ र त्यही रकमबाट निगमका करिब १४ सय कर्मचारीलाई पाल्दै आएको छ । बोइङ ७५७ का विमान थन्किएपछि निगम बीबी एयरवेजजस्तै विमानविहीन विमान कम्पनी बन्न लागेको थियो र निगमका सुगत रत्न कंसाकार नियुक्त भएपछि उनले व्यक्तिगत रुपमा जोखिम मोलेर एयरबसका दुईवटा न्यारोबडी र दुईवटा वाइडबडीका विमान खरिद गरेर अस्तित्व जोगाइदिएका छन् र अहिले पनि कोरोना कहरका कारण बैंक र कर्मचारी सञ्चय कोषबाट लिएको कर्जाको किस्ता तिर्न मुस्किल परिरहेको अवस्थामा निगमबाट ग्राउन्ड ह्यान्डलिङको काम खोसिने हो भने निगम कर्मचारी पालेर सञ्चालन हुनसक्ने अवस्था रहेको देखिँदैन । यस्तो अवस्थामा माधव नेपालको पार्टीले मन्त्री श्रेष्ठलाई चुनाव खर्च जुटाउन निगमको अस्तित्व बिक्री गर्न अधिकारीलाई अनुमति दिनुले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम औपचारिक रुपमा विघटनतर्फ उन्मुख हुनपुगेको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया