Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआयात नियन्त्रणले नेपालको अर्थतन्त्रमा धक्का

आयात नियन्त्रणले नेपालको अर्थतन्त्रमा धक्का


काठमाडौं । सरकारले केही वस्तुमा लगाएको आयात नियन्त्रणले आन्तरिक उत्पादन र उपभोगमा समेत असर गरेर त्यसले नेपालको समग्र अर्थतन्त्रलाई नै धक्का दिने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ । उसले अर्थतन्त्रको वृद्धि खुम्चिँदा सबै क्षेत्रमा असर पर्ने दाबीसमेत गरेको छ ।

एडीबीले सार्वजनिक गरेको ‘एसियन डेभलपमेन्ट आउटलुक २०२२’ मा उल्लेख भएअनुसार आयात नियन्त्रणले नेपालको अर्थतन्त्र चलायमान हुन नसक्दा नेपालको आर्थिक वृद्धि सन् २०२२ को तुलनामा सन् २०२३ मा अझ घट्नेछ । समग्र अर्थतन्त्रमै नकारात्मक असर पार्ने भएकाले यसले विकासको गतिविधि कम हुनुको साथै रोजगारीमा पनि कटौती गर्नेछ । विकास र रोजगारी घट्दा नेपालको गरिबी पनि बढ्नेछ ।

एडीबीले अर्थतन्त्र खुम्चिँदा सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ७ प्रतिशतमा सीमित हुने दाबी गरेको छ । एडीबीले सन् २०२२ मा नेपालको अर्थतन्त्र ५ दशमलव ८ प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरेको थियो ।  एडीबीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२४ को नेपालको वैदेशिक मुद्राको सञ्चितिमा अझ गिरावट आउनेछ भने यसले मूल्यवृद्धिलाई अझ बढाउनेछ । सरकारले भने वैदेशिक मुद्रा सञ्चिति बढाउन केही वस्तुको आयात नियन्त्रण गरेको जिकिर गर्दैै आएको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै नेपालका लागि एडीबीका कन्ट्री डाइरेक्टर आनो कुश्वाले भने, ‘कोभिड, डेंगु ज्वरोको प्रकोप, विभिन्न प्राकृतिक प्रकोप, भूराजनीतिक अवस्थालगायतका कारणले पनि नेपालको आर्थिक वृद्धिलाई कमजोर बनाउनेछ ।’ एडीबीले रासायनिक मलको अभावले धान उत्पादनलाई प्रभावित पार्ने जिकिर गर्दै मनसुनको कारण भने उत्पादनमा केही आशा गर्न सकिने तर्क पनि गरेको छ ।

एडीबीले आफ्नो प्रतिवेदनमा नेपालमा सेवा क्षेत्रमा गिरावट आएको, कर्जा नियन्त्रण तथा ब्याजदरमा भएको उच्च वृद्धिले रियल स्टेन, थोक तथा खुद्रा व्यापार गतिविधिमा पनि सुस्तता देखिएको जिकिर गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया