Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअमितको अपराधमा सूर्या लाइफका खड्काको साथ !

अमितको अपराधमा सूर्या लाइफका खड्काको साथ !


काठमाडौं । क्रिप्टोकरेन्सी कारोबारबाट विदेशी बैंकमा करोडौँ रुपैयाँ लुकाएको आरोपमा जेल समेत बसेर रिहा भएका अमित श्रेष्ठ धनमा मात्र होइन महिलाप्रति पनि कमजोर देखिएका छन् । उनले धनको आडमा महिलाको घरबार नै बिगारिदिएका छन् । ती महिलाको जिन्दगी बर्बाद पार्न अमितकै आफन्त सूर्या लाइफ इन्स्योरेन्सका सीईओ पवन कुमार खड्काको समेत संलग्नता रहेको पाइएको छ । पवन र अमितकी आमा दिदीबहिनीहरु हुन् ।

घरमा श्रीमती र बच्चा हुँदाहुँदै अमितले अर्की झूटो प्रलोभनमा पारेर एक महिलाको जिन्दगी नै बर्बाद पारिदिएको घटना फेला परेको छ । झापा जन्मेर हुर्केकी ती युवतीसँग उनको चिनजान एउटा साथीमार्फत भएको हो । साथीको अनुरोधमा कुपण्डोलस्थित अपार्टमेन्ट पुगेका उनले ती साथीकै बहिनी रचना खत्री (नाम परिवर्तन) लाई नजर लगाए । अमितले रचनासँग दिन दुई गुणा रात चौगुणाको दरले सम्बन्ध अघि बढाए । अमितले नचाहँदा नचाहँदै रचनाको पेटमा अमितको गर्भ हुर्कियो । घरमा श्रीमती हुँदाहुँदै विवाहेतर सम्बन्धमा रमाउने अमित लफडा हुने डरले रचनालाई लिएर बैंकक हानिए ।

बैंककमा जन्मिएको बच्चाको बाबुको नाम ‘अमित श्रेष्ठ’ नै लेखियो । त्यसैअनुसार अस्पतालमा कागजात समेत बन्यो । उनीहरु काठमाडौं फर्किएपछि ती महिलालाई अधिकार दिनुको सट्टा अमित जेठी श्रीमती र परिवार च्यापेर क्यानडा भासिए । क्यानडा भासिन परेपछि आफ्नो स्वामित्वमा रहेको विशाल सिमेन्टको सेयर समेत उनले भुषाल समूहलाई सुम्पिन पुगे ।

सिमेन्ट, हाइड्रोलगायत विभिन्न क्षेत्रमा अर्बौँ लगानी गरेका उनले ती महिलाकोे जिन्दगी बर्बाद मात्रै पारेनन् ठूलाबडा प्रहरीको मिलेमतोमा हिरासत समेत पु-याए । गत वर्ष वैशाखमा अमितका भाइ सुवास श्रेष्ठको एटीएमबाट अनधिकृत रुपमा सपिङ गरेको झूटो आरोपमा ती युवतीलाई प्रहरी हिरासतमा पु-याइएको हो ।

तत्कालीन काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले आर्थिक प्रलोभनमा परी ती युवतीलाई पक्राउ गरेको आरोप छ । त्यतिमात्रै होइन प्रहरीका हाकिमलाई प्रभावमा पार्न सूर्या लाइफका सीईओ तथा अमितका भाइ नाता पर्ने पवन कुमार खड्काले समेत आर्थिक लगानी गरेको स्रोत बताउँछ ।

प्रहरीले अभियोग पुष्टि गर्न नसकेपछि ती महिला ११ दिन हिरासत बसेर मुक्त भएकी थिइन् । ‘उहाँ अहिले अमितबाट छुट्टिएर बस्नुभएको छ । तर, अमितकै कारणले अहिले पनि मानसिक तनाव झेलिरहनुभएको छ । अमित र उनका भाइ पवनले विभिन्न किसिमका व्यक्ति प्रयोग गर्ने र मानसिक यातना दिने क्रम जारी छ’, ती युवतीका आफन्त भन्छन्, ‘अमित जेलमा हुँदा पनि पवनले नै सूर्या लाइफको रकम प्रयोग गरेर विभिन्न शक्ति केन्द्र परिचालन गरेका हुन् । ‘यतिसम्म कि सूर्या लाइफको ३ महिने विज्ञापन दिएर केही मिडिया समेत परिचालन गरेर हाम्रै बदनामी गरियो’, उनले भने ।

उनका अनुसार अमितले ती महिलालाई दोस्री श्रीमती बनाउने र उनीबाट जन्मिएको सन्तानलाई बाबु बन्ने शर्तमा मिलापत्र भएको थियो । तर, पछिल्लो घटनाक्रमले अमितले ती महिलाप्रति इगो साँधेको खत्री पक्षको आरोप छ ।

‘श्रेष्ठले कान्छी श्रीमतीसँग जोगिनकै लागि अवैध रुपमा दुई जना प्रहरी लिएर हिँड्थे । तत्कालीन महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआईजी हरि बहादुर पालले गाडीको ढोका खोल्न समेत प्रहरी नै खटाइदिएका थिए’, खत्रीको परिवार भन्छ, ‘शक्तिको यतिसम्म दुरुपयोग गर्नेहरुले हामीजस्तो सोझा र निमुखाहरुको जिन्दगीमाथि खेलबाड गर्नुलाई स्वाभाविक ठान्छन् ।’

क्रिप्टोकरेन्सी करोबारको आरोपमा अमितलाई प्रहरीले गत असारमा पक्राउ गरेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलयले उनलाई ल्यापटपसहित पक्राउ गरेको थियो । पहिले अमेरिकी दूतावास रहेको अलीशान महलमा बस्दै आएका अमितले श्रीमती र परिवारलाई भने क्यानडामा राखेका थिए । उनी नियमित रुपमा दोहा क्यानडा आउजाउ गर्दै आएका थिए । दोहामा बसेर क्रिप्टोको अवैध कारेबार गरेका उनले विभिन्न विदेशी बैंकमा ४४ करोडभन्दा बढी रकम लुकाएको भेटिएको थियो ।

गत साउन २४ गते जिल्ला अदालत काठमाडौंले अमितलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । अष्ट्रेलिया, क्यानडा र नेपालका विभिन्न बैंकमार्फत करोडौं अवैध कारोबार गरेका उनलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको थियो ।

नुवाकोटको विदुर नगरपालिका २ स्थायी घर भएका श्रेष्ठलाई अवैध क्रिप्टोकरेन्सी करोबारकै आरोपमा पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरिएको थियो ।

जेल चलान भएका श्रेष्ठले अष्ट्रेलियाको वेल्थ बैंकमा एक लाख ९४ हजार दुई सय ८५ अमेरिकन डलर, क्यानडाको रोयल बैंकमा १८ लाख ७४ हजार चार सय २१, एभरेष्ट बैंक लिमिटेडको खाताबाट दुई करोड छ लाख छ हजार छ सय ९२, एनआईसी एसिया बैंक लिमिटेडको खाताबाट ६५ लाख २४ हजार नौ सय १०, नबिल बैंक लिमिटेडको खाताबाट क्यानेडियन ६७ हजार पाँच ९६ र नेपाली ६५ लाख रुपैयाँ अवैध कारोबार गरेको सरकारी वकिल कार्यालयको अभियोगमा उल्लेख थियो ।

डेढ अर्बभन्दा बढी बिगो र सात वर्ष कैद मागदाबी गरिएको मुद्दामा उच्च अदालत पाटनले उनलाई १५ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । गत भदौ अन्तिम साता उनले धरौटी बुझाएर रिहा भएका थिए । सुरुमा नुवाकोटबाट काठमाडौं आएर नयाँ बजारस्थित एक ग्यारेजमा काम गरेका श्रेष्ठले सिमेन्ट, होटल, हाइड्रो र जग्गामा अर्बौँ लगानी गरेका थिए । उनको लगानी नै शंकास्पद छ । श्रेष्ठ र खड्का कसरी दाजुभाइ ?

विशाल सिमेन्टका पूर्वसञ्चालक अमित श्रेष्ठ आमा र खड्काकी आमा दिदीबहिनी हुन् । युवतीसँग लसपसले समस्याग्रस्त हुनुअघि विशाल सिमेन्टका मालिक अमित श्रेष्ठसँगै खड्का पनि सोही सिमेन्ट उद्योगमा काम गर्थे । उनी विशाल सिमेन्ट उद्योगकै पूर्वसीईओ हुन् ।

अमितले विशाल सिमेन्टको सेयर भुषाललाई बेचेपछि उनी विभिन्न बीमा कम्पनीमा भौँतारिएका थिए । यसअघि नेपाल लाइफ इन्स्योरेन्समा समेत काम गरेका खड्का गत जेठदेखि सूर्या लाइफको सीईओ नियुक्त भएका हुन् । खड्कामाथि पनि क्रिप्टो कारोबार गरेका आरोप लाग्ने गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया