Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारघरजग्गा धितोमा बैंकहरूको मनलागी लगानी

घरजग्गा धितोमा बैंकहरूको मनलागी लगानी


काठमाडौं । बैंकिङ क्षेत्रमा निक्षेप घटेको छ । नेपाल राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी चालू आर्थिक वर्षको पहिलो महिनाको प्रतिवेदनअनुसार बैंक तथा फाइनान्स कम्पनीहरुमा रहेको निक्षेप दुई प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप एक दशमलव छ प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा २०७९ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप आठ दशमलव छ प्रतिशतले बढेको छ । २०७९ साउनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः सात दशमलव दुई प्रतिशत, २६ दशमलव नौ प्रतिशत र ५८ दशमलव आठ प्रतिशत छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः सात दशमलव आठ प्रतिशत, ३४ दशमलव तीन प्रतिशत र ४९ दशमलव पाँच प्रतिशत रहेको थियो । २०७९ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३७ दशमलव चार प्रतिशत रहेको छ । २०७८ साउन मसान्तमा यस्तो निक्षेपको अंश ४१ दशमलव चार प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा शून्य दशमलव शून्य पाँच प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा एक दशमलव पाँच प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७९ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ११ दशमलव आठ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह शून्य दशमलव शून्य एक प्रतिशतले बढेको छ भने विकास बैंकहरुको कर्जा प्रवाह शून्य दशमलव चार प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह शून्य दशमलव सात प्रतिशतले घटेको छ । २०७९ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६ दशमलव छ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२ दशमलव चार प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७८ साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६ दशमलव दुई प्रतिशत र १२ दशमलव आठ प्रतिशत रहेको थियो ।

चालू आवको पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा शून्य दशमलव दुई प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा दुई दशमलव तीन प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा एक दशमलव दुई प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा एक दशमलव दुई प्रतिशतले बढेको छ भने निर्माण क्षेत्र र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फ प्रवाह भएको कर्जा क्रमशः दुई दशमलव एक प्रतिशत र शून्य दशमलव एक प्रतिशतले घटेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा एक दशमलव आठ प्रतिशतले, ओभरड्राफ्ट कर्जा शून्य दशमलव आठ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा शून्य दशमलव आठ प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा एक दशमलव एक प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) तीन प्रतिशतले र हायर पर्चेज कर्जा एक दशमलव दुई प्रतिशतले बढेको छ भने मार्जिन प्रकृति कर्जा चार दशमलव छ प्रतिशतले राष्ट्र बैंकको भनाइ छ ।

बैंकिङ क्षेत्रको कुल निक्षेप ५१ खर्ब छ अर्ब कायम
बैंकिङ क्षेत्रको कुल निक्षेप ५१ खर्ब छ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यही यही असोज ५ गतेसम्म सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ६० वटा बैंक तथा फाइनान्स कम्पनीहरुले उक्त परिमाणमा निक्षेप संकलन गरेका हुन् ।

उक्त निक्षेपमध्ये वाणिज्य बैंकहरुले मात्र संकलन गरेको कुल निक्षेप रकम ४५ खर्ब पाँच अर्ब रुपैंयाँ रहेको छ । यसबाहेक विकास बैंक र फाइनान्स कम्पनीहरुको कुल निक्षेप रकम भने यस अवधिमा छ खर्ब एक अर्ब रुपैयाँ छ ।

राष्ट्र बैंकका अनुसार चालू आवको असोज ५ गतेसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल कर्जा रकम भने ४७ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ । उक्त कर्जामध्ये वाणिज्य बैंकहरुको मात्र कुल कर्जा रकम ४१ खर्ब ८५ अर्ब र विकास बैंक तथा फाइनान्स कम्पनीहरुको कुल कर्जा रकम पाँच खर्ब ३८ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकको भनाइ छ ।

बैंक तथा फाइनान्स कम्पनीहरुमा रहेको निक्षेपको अंश (प्रतिशतमा)
निक्षेप    असार मसान्त       साउन मसान्त
२०७८,  २०७९      २०७८, २०७९
चल्ती      १०.४,  ८.९          ७.८,  ७.२
बचत      ३४.२, २७. ६        ३४.३,  २६.९
मुद्दती     ४७.०, ५५.८         ४९.५, ५८.८
अन्य       ८.४,  ७.७             ८.४,  ७.१
(स्रोत : नेपाल राष्ट्र बैंक)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया