Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेटिङमा भन्सार मूल्यांकन !

सेटिङमा भन्सार मूल्यांकन !


विराटनगर । विराटनगर भन्सारमा भन्सार मूल्यांकन सेटिङमा हुनेगरेको पाइएको छ । भन्सार एजेन्टका प्रतिनिधिका रूपमा भन्सार जाँचपासमा संलग्नहरूले नै कर्मचारीहरूसँग सेटिङ गरेर न्यून मूल्यांकन गरी भन्सार जाँचपास गर्नेगरेको स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय दैनिकजसो भन्सार जाँचपास भएका सामानमा मोरङ प्रहरीले नै त्रुटि फेला पार्न थालेको छ । प्रहरीको सक्रियताले भन्सार मूल्यांकन कम भएको पुष्टि हुन थालेपछि सेटिङमा भन्सार मूल्यांकन हुनेगरेको पाइएको हो । भदौ ३० गते मात्रै मोरङ प्रहरीले अवैधरूपमा तस्करी गरी ल्याइएको ४० लाख मूल्य पर्ने कपडा नियन्त्रण गरी राजस्व अनुसन्धानमा बुझाएको थियो ।

सो कपडाको भन्सार जाँचपास गर्ने भन्सार एजेन्ट ओमकार आचार्य रहेको खुलेको छ । तर भन्सार एजेन्ट आचार्य भए पनि उक्त कपडा सेटिङमा भन्सार जाँचपास गराउने उनका भन्सार प्रतिनिधि कुन्दन मण्डल हुन् ।

भन्सारबाट कपडा पास गर्ने मुख्य व्यक्ति मण्डल लामो समयदेखि विराटनगर भन्सारमा विभिन्न भन्सार एजेन्टको युजर आईडी प्रयोग गर्दै आधा कपडाको भन्सार जाँचपास गर्ने र आधाभन्दा बढी कपडा अवैध नाकाबाट नेपाल भित्र्याएर सम्बन्धित कपडा व्यवसायीकोमा पु-याउने काममा सक्रिय हुनेगरेको स्रोतले बताएको छ ।

आफूलाई भन्सार प्रतिनिधि बताउने मण्डललाई पुराना भन्सार एजेन्टले युजर आईडी प्रयोग गर्न बन्द गरेपछि भर्खरै मात्र भन्सार एजेन्टको परीक्षा पास गरेर विराटनगर भन्सारमा भन्सार प्रतिनिधिमा दर्ता भएका आचार्यको युजर आईडी प्रयोग गरी करिब ८० लाख मूल्य पर्ने कपडालाई ४० लाख मूल्यांकन भन्सारबाट गराएर जाँचपास गरेको दाबी पनि स्रोतले गरेको छ । नेपाल प्रहरीको तुलनामा अपछिल्लो समयमा सशस्त्र प्रहरी चोरीनिकासी नियन्त्रणमा कम सक्रिय भएको स्रोतको दाबी छ । सशस्त्र प्रहरीको सक्रियता कम भएपछि मोरङ, सुनसरीका विभिन्न नाकाबाट अवैधरूपमा सामानहरू नेपाल भित्रिन थालेको स्रोतको दाबी छ । अवैधरूपमा सामान भित्रिँदा राजस्व चुहावट बढेको छ ।

प्रहरीले नियन्त्रणमा लिएको उक्त कपडा सुनसरीका तीन व्यवसायी प्रतिष्ठानको भएको र त्यसलाई ठेक्कामा लिएर सम्बन्धित ठाउँमा पु-याउने जिम्मेवारी मण्डलले लिएको व्यवसायी स्रोतले जनाएको छ । भन्सार प्रतिनिधिमण्डलका कारण भर्खरै भन्सार एजेन्टमा दर्ता हुनआएका आचार्य समेत बदनाम भएका छन् । उता राजस्व अनुसन्धानको अनुसन्धानमा नै रहेको उक्त कपडा पक्राउपछि राजस्वले पनि कपडा आयातका सम्बन्धमा गम्भीररूपले अनुसन्धान गरिरहेको जानकारी दिएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया