Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसूर्या लाइफका सीईओ पवन खड्काविरुद्ध क्रिप्टो कारोबारमा संलग्न भएको उजुरी

सूर्या लाइफका सीईओ पवन खड्काविरुद्ध क्रिप्टो कारोबारमा संलग्न भएको उजुरी


काठमाडौं । अवैध क्रिप्टोकरेन्सी कारोबारमा जेल सजाय भोगेर निस्किएका अमित श्रेष्ठका भाइ पवन खड्काविरुद्ध उजुरी परेको छ । सूर्या लाइफ इन्स्योरेन्सका सीईओ रहेका खड्काले क्रिप्टोकरेन्सी कारोबारमा पर्दा पछाडिबाट मुख्य भूमिका निभाएको भन्दै बीमा समितिमा उजुरी दर्ता भएको हो ।

बीमा कम्पनीका सीईओमाथि कारबाही गर्ने अधिकारप्राप्त बीमा समितिमा केही दिनअघि दर्ता भएको उजुरीमा खड्काले अमितको सम्पूर्ण क्रिप्टो करेन्सीको अवैध कारोबार सम्हाल्ने गरेको र अमितको आपराधिक क्रियाकलापमा सहयोगी भूमिका निभाएको आरोप छ ।

‘राष्ट्र बैंक ऐन, २०५८ अनुसार यस्तो कसुरमा संलग्नलाई कारबाही गर्नु सरकारको दायित्व हो । तर, बीमा समितिबाट बीमासम्बन्धी कारोबारका लागि अनुमति प्राप्त रहेको सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले आफ्ना दाजु नाता पर्ने अमित श्रेष्ठमार्फत अवैध रुपमा क्रिप्टोकरेन्सीको कारोबार गर्दै आएका छन्’, उजुरीमा भनिएको छ, ‘तिहारमा एकै दिदीबहिनीबाट टिका समेत लगाउने पवन कुमार खड्का र क्रिप्टोकरेन्सीको अवैध कारोबार गर्ने अमित श्रेष्ठले विगत केही वर्षदेखि कतारको दोहाबाट विदेशका विभिन्न बैंकमार्फत बिटक्वाइन, क्रिप्टोलगायत अवैध धन्दा गर्दै आएका छन् । सोही अभियोगमा अमितलाई उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले २०७९ असार २७ गते लाजिम्पाटबाट पक्राउ गरी मुद्दा चलाएको थियो ।’

अवैध क्रिप्टोकरेन्सीको धन्दाबाट अमितले विभिन्न विदेशी बैंकमा ४४ करोड रुपैयाँ लुकाएका छन् । यसरी रकम लुकाउने धन्दामा पवनले सहयोगी भूमिका निभाएकोले कारबाही माग गरिएको छ । त्यतिमात्रै होइन विशाल सिमेन्टमा समेत पवनले सीईओ पदमा रहेर काम गर्दा अमितको अवैध धन्दामा सहयोग गरेको उजुरीमा आरोप छ ।

‘सूर्या लाइफका सीईओ खड्काले क्रिप्टोकरेन्सी कारोबारमा पक्राउ परेका अभियुक्त दाइ अमित श्रेष्ठलाई छुटाउन सूर्या लाइफमार्फत विभिन्न शक्ति केन्द्रलाई लगानी समेत गरेका छन्’, उजुरीमा भनिएको छ, ‘दुई वर्षपहिले विशाल सिमेन्ट कम्पनी बिक्री गरेका श्रेष्ठले क्यानडामा रहेको रोयल बैंक अफ क्यानडा र कमन वेल्थ बैंक अफ अस्ट्रेलियाको रहेको खातामा क्रिप्टोमार्फत कारोबार गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । प्रहरीले २५ दिन अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो ।’

त्यसो त अमितलाई प्रहरीले पक्राउपछि बरामद गरेको मोबाइलमा समेत खड्कासँग क्रिप्टो करेन्सीबारे संवाद भएको स्रोतको दाबी छ ।

अनुसन्धानमा अमितले सन् २०१९ जुलाई २ देखि २०१९ अगष्ट ८ मा रोयल बैंक अफ क्यानडाको खातामा क्यानेडियन डलर दुई लाख ३२ हजार तीन अर्थात् एक करोड ९५ लाख ४६ हजार दुई सय ५२ नेपाली रुपैयाँ जम्मा भएको देखिएको थियो । सन् २०१९ जनवरी ७ देखि २४ अप्रिल २०१९ मा कमनवेल्थ बैंक अफ अस्ट्रेलियाको खातामा अष्ट्रेलियन डलर एक लाख ९४ हजार २८५ (एक करोड ५० लाख ६२ हजार २७९ रुपैयाँ) जम्मा भएको देखिएको छ । अमित २०१८ डिसेम्बर २४ मा अस्ट्रेलिया पुगेका थिए । अस्ट्रेलिया पुगेको केही दिनमै उनले अस्ट्रेलियामा खाता खोलेका थिए । खाता खोलेको केही दिनमै उनको खातामा शंकास्पद रकम जम्मा हुन थालेको पाइएको छ । साढे तीन महिनाको अवधिमा अष्ट्रेलियन डलर एक लाख ९४ हजार २८५ (एक करोड ५० लाख ६२ हजार २७९) जम्मा भएको देखिएको थियो ।

उनी सन् २०१९ जुन २९ मा पहिलोपटक क्यानडा पुगेको र त्यहाँ पुगेलगत्तै रोयल बैंक अफ क्यानडामा दुईवटा खाता खोलेको पाइएको छ । खाता खोलेको केही दिनमै ठूलो परिमाणमा शंकास्पद रकम जम्मा भएको थियो । सेप्टेम्बर ११ मा नेपाल फर्किएर उनी पुनः २०१९ डिसेम्बर १२ मा क्यानडा पुगेका थिए ।

दुई वर्षपहिले विशाल सिमेन्ट कम्पनी बिक्री गरेका श्रेष्ठले क्यानडामा रहेको रोयल बैंक अफ क्यानडा र कमन वेल्थ बैंक अफ अस्ट्रेलियाको रहेको खातामा क्रिप्टोमार्फत कारोबार गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । क्यानडामा खाता खोलेको एक महिना छ दिनको अवधिमा अमित श्रेष्ठको खातामा क्यानेडियन डलर दुई लाख ३२ हजार (एक करोड ९५ लाख ४६ हजार २५२ जम्मा भएको थियो । उनी यो अवधिमा क्यानडा र अस्ट्रेलिया रहँदा कमाइ गरेको नभई शंकास्पद रुपमा विदेश पुगेको केही दिनमै जम्मा भएको अनुसन्धानमा खुलेको थियो ।

अमितको कारोबारको जिम्मा पवनको काँधमा थियो
अमितले जहाँ–जहाँ कारोबार गरेका थिए । ती कारोबार मिलाउने र लेनदेनमा समेत सहभागी हुने व्यक्ति हुन् खड्का । त्यसैले क्रिप्टोकरेन्सी कारोबारमा अमित पक्राउ पर्दा सबैभन्दा तनावमा खड्का नै थिए । उनले आफू समेत फस्ने डरले पूर्व एआइजी हरि बहादुर पाललाई बोकेर विभिन्न शक्ति केन्द्र धाएका थिए । डेढ अर्बभन्दा बढी बिगो दाबी गरिएका अमितले १५ लाख धरौटी तिरेर उन्मुक्ति पाएका छन् । तर, अमितलाई पर्दापछाडि अवैध क्रिप्टो करेन्सी कारोबारमा सहयोग गर्दै आएका पवनमाथि कुनै पनि निकायले छानबिन समेत नगर्नुले घटना थप रहस्यमय बनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया