Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योगी सिंगापुरेले दुईवटा पान नम्बरबाट व्यापारिक कारोबार गरी राजस्व छली गरेको खुलासा

उद्योगी सिंगापुरेले दुईवटा पान नम्बरबाट व्यापारिक कारोबार गरी राजस्व छली गरेको खुलासा


विराटनगर । सेन्चुरी फुड प्याकेजिङ एन्ड प्रोसेसिङ उद्योग प्रालिका मुख्य सञ्चालक राजेन्द्र प्रसाद अग्रवाल (सिंगापुरे)ले दुईवटा पान नम्बरबाट व्यापारिक कारोबार गरी राजस्व छली गर्ने गरेको पाइएको छ ।

विराटनगर महानगरपालिका वडा नं. ३ मा बसोबास गर्ने सिंगापुरेले सुनसरीको दुहबीमा सञ्चालन गरेको सेन्चुरी फुड प्याकेजिङ एन्ड प्रोसेसिङ उद्योगले करोडौँको राजस्व छल्न सफल भएको स्रोतको दाबी छ । आन्तरिक राजस्व कार्यालय विराटनगरबाट भ्याट नम्बर ३००४६५४०६ मा दर्ता भएको उक्त उद्योगले ४० करोड रूपैयाँभन्दा बढी वार्षिक कारोबार गरेका कारण ठूला करदाताको कार्यालयमा पुगेको उद्योगको फायलमा करोडौँको राजस्व चोरी भएको पाइएको स्रोतले जनाएको छ । सेन्चुरी फुड प्याकेजिङका नाममा भारतलगायत तेस्रो मुलुकबाट चामल आयात गरी करोडौँको कारोबार गर्दा पनि अनुमानित राजस्वको विवरण नदिएकोले व्यापारी सिंगापुरे राजस्वको निगरानीमा समेत परेको छ । यद्यपि उनको विभागसँगको सामिप्यता बढ्दै गएपछि उन्मुक्ति पाउँदै आएका छन् ।

यस्तै सिगापुरेले राजेन्द्र प्रसाद अग्रवालकै नाममा नागरिकतामा उल्लेख भएको जन्ममिति नै फरक पारेर आन्तरिक राजस्व कार्यालय विराटनगरबाट एचआर त्रिवेणी इन्टरप्राइजेज नामको अर्को फर्म दर्ता गरेको पाइएको छ । २०७३ सालमा ६०५२५०८७९ नम्बरको पान दर्ता भएको देखिन आएको स्रोतको दाबी छ । आन्तरिक राजस्व स्रोतका अनुसार एउटै व्यक्तिको नामबाट दुईवटा पान नम्बर नै लिने प्रावधान नभएको जानकारी दिइएको छ । तर उद्योगी सिंगापुरेले नागरिकतामा उल्लेख मिति नै फरक बनाएर दोहोरो पान नम्बर लिएको पाइएको छ ।

काठमाडौंको छाउनीबाट विभिन्न ब्रान्डमा म्याद सकिएको चामल बिक्री गरेको आरोपमा करिब एक महिनाअगाडि काठमाडौं प्रहरीले सेन्चुरी प्रोडक्टका सञ्चालक यस अग्रवाललाई पक्राउ परेपछि उक्त फर्ममाथि राजस्व तथा आन्तरिक राजस्व कार्यालय विराटनगरले आफ्नो अनुसन्धान सुरु गरेको थियो । सेन्चुरी प्रोडक्टको मुख्य सञ्चालक यस अग्रवाल सिंगापुरेका छोरा हुन् । यो प्रकरणसँगै सिंगापुरेले भारतबाट ठूलो मात्रामा चामलको आयात गरी बिक्री गरेर करोडौँको राजस्व घोटाला गरेको आशंका गर्न थालिएको छ । सिंगापुरे र उनको भतिजो सञ्जय अग्रवालका बीचमा व्यापारिक झगडाले व्यापक रूप लिएपछि उनले भतिजोलाई हटाएर छोरालाई खाद्यान्न व्यापारको जिम्मा लगाएका थिए । काका सिंगापुरेसँग छुट्टिएर भतिजो सञ्जय आग्रवालले काठमाडौमा एक्लौटी खाद्यान्नको व्यापार चलाएर बसेका थिए । भतिजोले एकलौटी व्यापार सुरु गरेपछि सिंगापुरेले पनि आफ्नै छोरो यस अग्रवाललाई काठमाडौंमा नै राखेर नयाँ चामलको व्यापार गर्न सुरु गरेका थिए । साथै उनले भतिजो सञ्जयलाई दिनुपर्ने रकम नदिई भतिजाको सम्पतीबाट आफ्नो लागि आलिशान घर बनाएको स्रोतको दाबी छ ।

यस्तै २०५८ सालमा कोशी श्री ट्रेडर्सका नाममा ३००७५३४५१ को पान दर्ता लिएका उद्योगी सिंगापुरेले उक्त फर्ममा नै श्यामबाबा राइस एन्ड आयल मिलको कारोबार समेत थप गरी करोडौंको राजस्व छली गरेको स्रोतको दाबी छ । उक्त फर्मले आर्थिक वर्ष २०६३।०६४ सम्म आन्तरिक राजस्व कार्यालयमा आफ्नो वार्षिक विवरण बुझाएको देखिए पनि आव ०६४।०६५ देखि आन्तरिक राजस्व कार्यालयमा वार्षिक विवरण बुझाएको छैन । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया