Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविकास निर्माणको गति समात्दै मर्चवारी

विकास निर्माणको गति समात्दै मर्चवारी


बुटवल ।  मर्चवारी गाउँपालिका रुपन्देहीले चालू आर्थिक वर्षका लागि छुट्याइएका योजनाहरु समयमै सक्ने गरी सोहीअनुसारका योजनाहरु निर्माण गर्दै अगाडि बढेको छ । गत आर्थिक वर्षमा पनि पालिकामा योजना कार्यान्वयनको अवस्था राम्रो रहेको स्थानीयहरुको भनाइ छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराईले जिल्लाको सबैभन्दा पिछडिएको क्षेत्र रहेकाले पनि यहाँ सम्भावित विकासनिर्माणका कामहरु उलेख्य रुपमा गर्न कठिनाइ भइरहेको बताए । पालिकामा पछिल्लो पाँच वर्षमा बिस्तारै विकासनिर्माणले गति लिएको छ । सडकजस्ता केही पूर्वाधारका कार्यहरु निर्माण हुन थालेका छन् ।

यसअघि पालिकामा आर्थिक अवस्था कमजोर हुँदा उपभोक्ताको लागत सहभागितामा मात्रै योजनाहरु निर्माण गर्ने अवस्था रहे पनि हाल उक्त अवस्था न्यून भएको प्रमुख प्रशासकीय अधिकृत भट्टराई बताउँछन् । यस्तै मर्चवारी क्षेत्रलाई जिल्लाको अन्नको भण्डारको रुपमा पनि चिनिन्छ । यहाँका अधिक सर्वसाधारणहरुको पेसा भनेको कृषि हो र जनस्तर सुधार्ने प्रमुख सम्भावनाको स्रोत पनि कृषि हो ।

पालिकाले व्यावसायिक कृषिलाई विशेष जोड दिँदै शिक्षा, स्वास्थ्य, सञ्चार, सिँचाइजस्ता यहाँका मुख्य–मुख्य समस्यालाई प्राथमिकतामा राखेर योजनाहरु निर्माण गर्नेगरेको छ । चालू आर्थिक वर्षको तेस्रो महिना अर्थात् प्रथम त्रैमासिक चालिरहँदा चालू आवको पुँजीगत बजेट कार्यान्वयनको प्रारम्भ भएको पालिकाले जनाएको छ ।

पालिकाका लेखा अधिकृत युवराज घिमिरेले चालू आर्थिक वर्षका लागि पालिकाले ५१ करोड ३६ लाख ७० हजार रुपैयाँ बजेट विनियोजन गरिएको बताए । उनले कुल बजेटमध्ये १७ करोड ९८ लाख ५० हजार रुपैयाँ पुँजीगततर्फ र ३३ करोड ३८ लाख २० हजार रुपैयाँ चालूतर्फ बजेट विनियोजन भएको जानकारी दिए ।

गत आर्थिक वर्षका लागि विनियोजित बजेटको कुल ७८ दशमलव १९ प्रतिशत चालू र ७४ दशमलव ५९ प्रतिशत पुँजीगत बजेट खर्च भएको बताउँदै उनले शतप्रतिशत बजेट खर्च हुन नसक्नुमा विशेष गरेर एक/दुई वटा ठेक्का प्रक्रियाका योजनामा पूरै काम हुन नसक्नु र सिँचाइको योजना कार्यान्वयनमा ढिलो डीपीआर तयार हुनु रहेको बताए । गाउँपालिकामा आन्तरिक आम्दानीको अवस्था निकै कम भएकोले आम्दानी वृद्धिका खासै स्रोतहरु पनि नभएको उनले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया