Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचीनलाई छैन नेपालसँगको व्यापार चासो, रोकिएका कन्टेनर मात्र नेपाल ल्याइए

चीनलाई छैन नेपालसँगको व्यापार चासो, रोकिएका कन्टेनर मात्र नेपाल ल्याइए


काठमाडौं ।  जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सु नेतृत्वको टोलीको नेपाल भ्रमणपछि पनि नेपाल–चीन व्यापार सहज हुनसकेको छैन । चिनियाँ पक्षले नेपाल–चीनबीचको व्यापारिक नाका अझै खुला नगरे सँगै नेपाल–चीन व्यापार सहज हुन नसकेको हो ।

नेपाल–चीनबीचको मुख्य व्यापारिक नाका रसुवागढी र तातोपानी नाका नेपाली पक्षले सञ्चालन गर्न आग्रह गरे पनि त्यसलाई चिनियाँ पक्षले बेवास्ता गर्दै आएको छ ।  व्यापारिक नाका खुला गर्न हामीले गरेको आग्रह चिनियाँ पक्षले स्वीकार नगरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । अझै पनि कोभिड १९ को कारण देखाउँदै नेपाल–चीन व्यापारिक नाका सहज नभएको मन्त्रालयकी प्रवक्ता उर्मिला केसीले आर्थिक दैनिकलाई बताइन् । ‘हाललाई चिनियाँ भू–भागमा लोड भएका कन्टेनर नेपाल पठाई आयात व्यापार खुला गरिएको छ भने निर्यात व्यापार ठप्प छ’, प्रवक्ता एवं उपसचिव केसीले आर्थिक दैनिकसँग भनिन्, ‘आयात तथा निर्यात व्यापार खुला गरेको विषयमा मन्त्रालयमा कुनै औपचारिक पत्र आएको छैन । त्यसैले व्यापार प्रभावित नै छ ।’

यस्तै, उनले दशैैँलक्षित गरेर चीनबाट सामग्री पठाएको जानकारी दिइन् । ली नेतृत्वको ६७ सदस्यीय चिनियाँ टोली भदौ २७ गते काठामाडौं आई भदौ ३० गते चीन फर्किएको थियो । यसैबीच, तातोपानी भन्सार कार्यालयका अनुसार पछिल्ला समय ५०/५५ वटा कन्टेनर नेपाल आएको बताइएको छ । बाटोमा रहेका कन्टेनरहरु चिनियाँ पक्षले पठाउने क्रममा सो मात्रामा सामग्री बोकेको कन्टेनर नेपाल आएको कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले आर्थिक दैनिकलाई बताए । ‘पछिल्लो समय प्रत्येक दिन दुईदेखि तीनवटा कन्टेनर नेपाल प्रवेश गर्न पाएका छन्, बाटोमा अलपत्र परेका कन्टेनरहरु नेपाल पठाइएको हो’, उनले भने, ‘तर निर्यात ठप्प रहेको छ। त्यसैले पूर्ण रुपमा तातोपानी नाका सञ्चालनमा आउनसकेको छैन ।’

दशैंलक्षित तयारी कपडा, स्याउ, इलेक्ट्रिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्मालगायतका सामग्रीहरु नेपाल भित्रिएका हुन् । व्यवसायीहरुले केही समयअघि दशैंका लागि भन्दै सो सामग्री चीनबाट आयात गरेका थिए । चिनियाँ पक्षको रोकावटले गर्दा सो सामग्री समयमै नेपाल आउनसकेको थिएन ।  यस्तै, अधिकृत केसीले केरुङ नाकाबाट भने सामग्री तथा कन्टेनर बढी आएको बताए । केरुङमा गोदाममा भएको कारण त्यहाँबाट बढी सामग्री नेपाल भित्रिएको हो । यता तातोपानी नाकामा भने गोदाममा नहुँदा न्यून कन्टेनर नेपाल प्रवेश गरेको उनले बताए ।
नेपाली व्यवसायीहरुले सरकारलाई नेपाल–चीन व्यापारिक नाका सहज बनाइदिन आग्रह गर्दै आएका छन् भने सरकारले पनि चिनियाँ पक्षसँग सो प्रस्ताव राखे पनि चीन सरकारले भने पूर्ण रुपमा नजरअन्दाज गर्दै आएको छ । दुईतर्फ नाका सहज गर्ने प्रस्ताव प्रधानमन्त्री देउवाले अध्यक्ष लीलाई राखेका थिए । अध्यक्ष लीको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्ताको क्रममा रसुवागढी र तातोपानी नाका खुल्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अध्यक्ष ली नेतृत्वको टोली भदौ २७ गते नेपाल आउँदा काठमाडौंसँग नजिक रहेका दुई नाका, रसुवागढी र तातोपानी चीनले नै बन्द गरेको थियो । २०७२ साल वैशाखमा गएको भूकम्प र त्यसपछि कोभिड–१९ फैलिएपछि चीनले ती दुई नाका पटक–पटक बन्द गर्दै खोल्दै आएको छ ।
पछिल्लो समयमा भने साउन २१ गतेदेखि रसुवागढी र साउन २५ गतेदेखि तातोपानी नाका चीनले एकतर्फी रुपमा पूर्णतः बन्द गरेको थियो । ती नाकाबाट नेपाली वस्तु चीन नगएको त तीन वर्ष हुन लागिसक्यो । खुलेको बेलामा पनि चीनबाट मात्र नेपालमा वस्तुहरु आउन दिइएको थियो । २८ गते नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा लीले बन्द रहेका ती दुई नाका खोल्ने बारेमा प्रष्ट केही बताएका थिएनन् ।

यद्यपि प्रधानमन्त्री देउवाले नाका खोल्न चिनियाँ पक्षलाई आग्रह गरेका थिए । प्रधानमन्त्री देउवासँगको भेटपछि चीन फर्किनु अघिल्लो दिन २९ गते बुधबार ली नेतृत्वको चिनियाँ टोलीले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता ग-यो । राष्ट्रपति भण्डारीलाई भेट्न जानुअघि आफूले चीनको वैदेशिक व्यापार हेर्ने अधिकारीसँग नाका खोल्ने विषयमा कुरा गरेको र त्यसको जानकारी आफ्नो राष्ट्रपति सि चिन फिङलाई पनि गराइएको बताउँदै चिनियाँ नेता लीले भोलिपल्ट (भदौ ३० गते) नै रसुवागढी र तातोपानी नाका खुल्ने प्रतिबद्धता राष्ट्रपतिसमक्ष व्यक्त गरे । लीले चिनियाँ वैदेशिक व्यापार हेर्ने अधिकारीसँग कुरा गरे/गरेनन् त्यो उनको कुरा थियो ।

रसुवागढी नाका २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । रसुवागढी नाकामा पहिला दैनिक दुई सय ५० बढी गाडी आवतजावत गर्ने गरेका थिए । तर, त्यसलगत्तै २०७२ वैशाख १२ गते भूकम्प गयो । त्यसपछि नाका बन्द भएको थियो । पछि खुलेपछि पुनः कोरोना देखिएपछि २०७६ माघ २५ गतेदेखि २०७७ जेठ २२ गतेसम्म औपचारिक रुपमै बन्द थियो । त्यसपछि खुलेको नाका पनि २०७९ साउन २१ गतेदेखि बन्द थियो ।

रसुवागढीबाट तयारी कपडा, स्याउ, इलेक्ट्रिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेकामा पछिल्लो समयमा चीनमा निर्मित विद्युतीय तथा पेट्रोलियम पदार्थबाट चल्ने गाडीहरुको आयात बढेको थियो । खासगरी डिजेलबाट चल्ने डब्बल क्याब भएको फोटुन पिकअपको आयात धेरै थियो । उक्त गाडी नेपालको पहाडी क्षेत्रमा रुचाईको छ । यता नेपालबाट भने पस्मिना, निया, उनीको कार्पेट, अगरबत्ती हस्तकला सामग्री, चाउचाउ, तयारी कपडा, तयारी छालाको उत्पादनलगायतका सामग्री निर्यात भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया