Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबहुउद्देश्यीय सहकारी संघमा मनोमानी, संघको खर्चमा लालीगुराँसका सुरेन्द्रको दाइको विदेश भ्रमण !

बहुउद्देश्यीय सहकारी संघमा मनोमानी, संघको खर्चमा लालीगुराँसका सुरेन्द्रको दाइको विदेश भ्रमण !


काठमाडौं । देशभरका बहुउद्देश्यीय सहकारी संघहरुको साझा संस्था हो– नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ । यो संघको वार्षिक साधारणसभा हुनसकेको छैन । संघका अध्यक्ष हुन्– सुरेन्द्र भण्डारी ।

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक र सीईओ दुवै पदमा अवैध रुपमा बसिरहेका भण्डारीले संघमा मनोमानी गरेका छन् । उनकै कारण संघको नवौँ साधारणसभा हुनसकेको छैन । यो मामिला सहकारी विभागदेखि अदालतसम्म पु-याएर उनले कानुनी अड्चन निकालेर अध्यक्ष पदमा पदासीन छन् । उनै भण्डारीले संघमा मनोमानी रुपमा आफ्ना आफन्त पोस्ने काम गरेको खुलेको छ ।  प्रसिद्ध गायक रामकृष्ण ढकालको भैँसेपाटीस्थित रानी महल लिलाम सकार गरी उक्त भवनमा आफ्नै दाइ अमृत भण्डारीलाई राखेका भण्डारीले उनै दाइलाई संघको खर्चमा विदेश भ्रमण गराएको पाइएको छ ।

संघबाट सार्वजनिक भएको आठौँ राष्ट्रिय प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/०७७ मा इन्टरनेश्नल को–अपरेटिभ अलाइन्स–एसिया एण्ड प्यासेफिकद्वारा मलेसियामा आयोजित कार्यक्रममा प्रतिनिधिको रुपमा आफ्नै दाइ अमृत भण्डारीलाई सहभागी गराएको पाइएको छ । अमृत तिनै हुन् जो श्री लालीगराँस सहकारीले लिलाम सकार गरेको गायक रामकृष्ण ढकालको घरमा भाडा समेत नतिरी वर्षौँदेखि बस्दै आएका छन् । प्रतिवेदनअनुसार २०७६ भदौ १८ देखि १९ सम्म भएको कार्यक्रममा उनले श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीको शिक्षा उपसमितिको संयोजकको रुपमा दाइ अमृतलाई मलेसिया पठाएका थिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरकारी जागिरे रहेका उनलाई नक्कली कागजात तयार पारेर मलेसिया पठाएको संघका एक प्रतिनिधिले बताए । उनलाई मलेसिया पठाएको विषयमा संघभित्रै चर्को विरोध भएको थियो । तर, भण्डारीले विरोध गर्नेलाई विभिन्न मुद्दा मामिला लगाउँछु भन्दै धम्की दिएका थिए । विरोध गर्नेमध्ये सचिव माधव प्रसाद तिमिल्सिनालाई उनले नक्कली कागजात किर्ते मुद्दा लगाएर जेल पठाइसकेका छन् । प्रहरीसमक्ष तिमिल्सिनाले दिएको बयानमा आफ्नो कागजात अध्यक्ष सुरेन्द्र भण्डारीले नै तयार पारिदिएको बयान दिए पनि प्रहरीले भण्डारीलाई मुद्दा नलगाई तिमिल्सिनालाई मात्रै मुद्दा लगाएको थियो ।

संघको पैसा मनोमानी रुपमा आफ्नै सहकारीमा लगानी

बहुउद्देश्यीय सहकारी संघमा देशभरका बहुउद्देश्यीय सहकारीहरुले सदस्यता लिएका छन् । तर, भण्डारीले भने बहुउद्देश्यीय सहकारी संघबाट आफू सीईओ तथा कार्यकारी निर्देशक रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संघमा सेयर खरिद गरेको फेला परेको छ । आर्थिक प्रतिवेदनअनुसार संघले २०७६ असारमा श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा १० हजार रुपैयाँको सेयर खरिद गरिएको छ । २०७७ असारमा एक लाख रुपैयाँको सेयर खरिद गरिएको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे अध्यक्ष रहेको नेपाल स्वास्थ्य सेवा सहकारी संस्थामा दुई आर्थिक वर्षका गरी १० लाख रुपैयाँको सेयर खरिद गरिएको छ ।

‘आफू नै सीईओ र कार्यकारी निर्देशक रहेको सहकारीको सेयर खरिद गरिनु आर्थिक अपराध हो । यसरी सेयर खरिद गर्नुको अर्थ सोही सहकारीमा संघको करोडौँ रुपैयाँ जम्मा गरेर राख्ने र हिनामिना गर्ने हो’, संघका एक पदाधिकारीले भने, ‘कि देशैभरका बहुउद्देश्यीय सहकारी संस्थामा संघको पैसा राख्नुप-यो । आफ्नोमा मात्रै सबै संघको पैसा खन्याइएको छ । अहिले कयौँ सहकारीहरुले संघमा जम्मा गरेको पैसा पाएका छैनन् । कारण हो–श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीमा लगानी डुब्नु ।’

श्री लालीगुराँसका कारण अन्य सहकारीलाई तनाव !
संघका अध्यक्ष सुरेन्द्र भण्डारीले संघको रकम सबै श्री लालीगुराँस सहकारीमा राखेका छन् । तर, श्री लालीगुराँस सहकारी टाट पल्टिएपछि संघमा रकम जम्मा गरेका सयौँ सहकारी समस्याग्रस्त बनेका छन् । न्युरोडमा कार्यालय रहेको वैदिक बहुउद्देश्यीय सहकारीले जम्मा गरेको लाखौँ रुपैयाँ फिर्ता पाएको छैन । संघमा राखेको रकम अपचलन भएपछि वैदिक बहुउद्देश्यीय सहकारीका सञ्चालकलाई तनाव भएको छ । यद्यपि सहकारीका एक उच्च तहका व्यक्ति भने कुनै समस्या नभएको बताउँछन् । ‘अहिले समय नै त्यस्तै छ । हामीले संघमा जम्मा गरेको केही लाख रुपैयाँ रकम फिर्ता पाउन मुस्किल भएको छ । श्री लालीगुराँसमा गएर पैसा निकाल्नु भन्छन् । तर, लालीगुराँसले पैसा दिन मान्दैन’, ती सञ्चालकले भने । त्यस्तै न्युरोडकै अर्को एक सहकारीले जम्मा गरेको एक करोड रुपैयाँ फिर्ता माग्दा भण्डारी विभिन्न बहानामा टार्ने गरेका छन् । ६२ करोड रुपैयाँ निक्षेप कहाँ छ ?

संघका एक प्रतिनिधिका अनुसार भण्डारीले संघमा सहकारी संस्थाहरुले जम्मा गरेको ६२ करोड रुपैयाँभन्दा बढी निक्षेप रकम श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीमै राखिएको छ । ‘सहकारी ऐनअनुसार संघको पैसा यसरी राख्न पाइँदैन । सेयर किन्न पनि पाइँदैन’, संघका एक पदाधिकारी भन्छन्, ‘संघको करोडौँ रकममा भण्डारीले मनोमानी गरेका छन् । कुनै निकायले छानबिन गरे कारबाही हुन्छ ।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया