Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमुलुकभर ६० हजार बढी उद्योग प्रतिष्ठान सञ्चालन

मुलुकभर ६० हजार बढी उद्योग प्रतिष्ठान सञ्चालन


काठमाडौं । मुलुकभर ६० हजारभन्दा बढी उद्योग प्रतिष्ठानहरु सञ्चालनमा छन् । राष्ट्रिय तथ्यांक विभागले गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षणअनुरुप मुलुकभर ६० हजार एक सय ८५ वटा उद्योग प्रतिष्ठानहरु सञ्चालनमा छन् । तीमध्ये खानी ताथ उत्खनन क्षेत्रमा तीन सय ५६ वटा, औद्योगिक उत्पादन क्षेत्रमा ५६ हजार छ सय ११ वटा, विद्युत्, ग्यास, बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा नौ सय ९४ वटा र पानीको आपूर्ति, ढलनिकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरुको क्षेत्रमा दुई हजार दुई सय २४ वटा उद्योग प्रतिष्ठानहरु छन् । सर्वेक्षणअनुरुप सबैभन्दा बढी उद्योग प्रतिष्ठान औद्योगिक उत्पादन क्षेत्रमा रहेको विभागका सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिए ।

यस्तै, उद्योग प्रतिष्ठान स्थापना तथा सञ्चालन भएसँगै त्यससँग विविध व्यक्तिहरुको संलग्नता रहेको पाइन्छ । सर्वेक्षण अनुरुप औद्योगिक क्षेत्रका चारवटै प्रकारका औद्योगिक प्रतिष्ठानहरुमा संलग्न रहेको व्यक्तिहरुको संख्या चार लाख ९१ हजार दुई सय २७ जना रहेका छन् । तीमध्ये खानी तथा उत्खनन क्षेत्रमा छ हजार चार सय ८५ जना, औद्योगिक उत्पादन क्षेत्रमा चार लाख ४४ हजार नौ सय ६४ जना, विद्युत्, ग्यास बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा २१ हजार पाँच सय ९३ जना र पानीको आपूर्ति, ढलनिकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरुको क्षेत्रमा १८ हजार एक सय ८५ जना व्यक्तिहरु संलग्न छन् । उद्योग प्रतिष्ठानहरुमा संलग्न व्यक्तिहरुको संख्या भन्नाले प्रतिष्ठानमा सक्रिय रुपले कार्यरत व्यवसायी तथा साझेदारहरु, बेतलबी पारिवारिक कामदारहरु र तलबी कामदारहरु पर्ने सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै, उद्योग प्रतिष्ठान स्थापना तथा सञ्चालन भएसँगै त्यसले रोजगारी समेत सिर्जना गरेको छ । सर्वेक्षणअनुरुप औद्योगिक क्षेत्रका चारवटै प्रकारका औद्योगिक प्रतिष्ठानहरुमा रहेको रोजगार अर्थात् तलबी कामदारको संख्या तीन लाख ८१ हजार छ सय ८७ जना रहेका छन् । जसमा खानी तथा उत्खनन क्षेत्रमा तीन लाख ८१ हजार छ सय ८७ जना, औद्योगिक उत्पादन क्षेत्रमा तीन लाख ४६ हजार एक सय ४३ जना, विद्युत्, ग्यास बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा १७ हजार दुई सय ३८ जना र पानीको आपूर्ति, ढलनिकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरुको क्षेत्रमा १२ हजार पाँच सय ८७ जना छन् । रोजगार व्यक्तिहरु भन्नाले प्रतिष्ठानबाट नियमित रुपले तलब ज्याला लिने गरी कार्यरत कर्मचारी तथा कामदारहरु पर्दछन् । ती प्रतिष्ठानमा कार्यरत व्यक्तिहरुको तलब सुविधाका लागि अर्बौँ रकम खर्च गरेको छ । सर्वेक्षणअनुरुप औद्योगिक क्षेत्रका चारवटै औद्योगिक प्रतिष्ठानहरुमा कार्यरत तलबी कामदारहरुको लागि तलब/ज्याला र सुविधामा गरेको जम्मा खर्च करिब एक खर्ब सात अर्ब ८९ करोड रुपैयाँ छ ।

सोमध्ये खानी तथा उत्खनन क्षेत्रमा करिब एक अर्ब ८० करोड रुपैयाँ, औद्योगिक उत्पादन क्षेत्रमा करिब ९५ अर्ब ७७ करोड रुपैयाँ, विद्युत्, ग्यास, बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा करिब छ अर्ब ९२ करोड रुपैयाँ र पानीको आपूर्ति ढल निकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरुको क्षेत्रमा करिब तीन अर्ब ४० करोड रुपैयाँ कामदारको तलव/ज्याला तथा सुविधामा खर्च भएको देखिएको छ । तलब/ज्याला तथा सुविधा भन्नाले सन्दर्भ अवधिमा तलबी कामदारहरुको लागि औद्योगिक प्रतिष्ठानहरुले खर्च गरेको कुल रकम (नगद, जिन्सी र अन्य सुविधाहरु समेत) भन्ने बुझिन्छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया