Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२० बीमा कम्पनीले मर्जरका लागि स्वीकृति लिए

२० बीमा कम्पनीले मर्जरका लागि स्वीकृति लिए


काठमाडौं । बीमा समितिले सबै किसिमका बीमा कम्पनीहरुको पुँजी वृद्धिको निर्णयसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याएपश्चात् हालसम्म दुईवटा बीमा कम्पनीहरु मर्ज भएका छन् । यस अवधिमा थप २० वटा बीमा कम्पनीहरुले मर्जरका लागि समितिबाट स्वीकृति लिएको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जानकारी दिएका छन् ।

बडादशैँ, शुभ दीपावली र छठ पर्वको उपलक्ष्यमा बीमा समिति कर्मचारी युनियनले ललितपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा कम्पनीहरुको पुँजी वृद्धि भएपछि बीमा दाबी भुक्तानी र बीमाप्रतिको विश्वास समेत बढ्दै जाने बताएका छन् ।

अध्यक्ष सिलवालले नयाँ बीमा ऐन आएपछि बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण हुने र स्वायत्तताको अभ्यास गर्दै अगाडि बढ्ने बताएका छन् । मन्त्रिपरिषद्मा पेश भएको राष्ट्रिय बीमा नीति स्वीकृत भएपछि सोही नीतिका आधारमा संघ, प्रदेश र स्थानीय तहमा बीमासम्बन्धी काम कारबाही अगाडि बढ्ने र बीमा क्षेत्र थप व्यवस्थित हुने उनको भनाइ रहेको छ । अध्यक्ष सिलवालले आगामी केही महिनाभित्रै प्रदेश नं. १, गण्डकी र लुम्बिनी प्रदेशमा पनि बीमा समितिका प्रदेश कार्यालयहरु स्थापना गरिने र मंसीरदेखि बीमासम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरुलाई अभियानका रुपमा सञ्चालन गरिने जानकारी दिएका छन् । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने बीमा समितिका कामकारबाहीलाई अझ प्रभावकारी बनाउने क्रममा समितिको नयाँ कर्मचारी दरबन्दी स्वीकृत भएकोे बताएका छन् ।

कार्यक्रममा बीमा समितिका निर्देशक पूजन ढुङ्गेल (अधिकारी), उपनिर्देशक पुनम ज्ञवाली (श्रेष्ठ), उपनिर्देशक एवम् समितिको कर्णाली प्रदेश कार्यालयका प्रमुख पदमप्रसाद सोडारी, सहायक निर्देशक शम्भुप्रसाद मिश्र र सहायक निर्देशक रञ्जिता केसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सभापतित्व बीमा समिति कर्मचारी युनियनका अध्यक्ष पूर्ण बहादुर थापाले गरेका थिए । हाल नेपाली बीमा क्षेत्रमा १९ वटा निर्जीवन बीमा कम्पनी, १९ वटा जीवन बीमा कम्पनी र दुईवटा पुनर्बीमा कम्पनीसहितका ४० वटा बीमा कम्पनीहरुले कारोबार सञ्चालन गर्दै आएका छन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया