Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविराट एक्स्पो मंसिर २९ देखि

विराट एक्स्पो मंसिर २९ देखि


विराटनगर । आर्थिक एवं औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पु-याउने उद्देश्यका साथ स्थापित नीजि क्षेत्रको प्रतिनिधिमूलक संस्था उद्योग संगठन मोरङले विराट एक्स्पोको आयोजना गर्ने भएको छ । आगामी मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म विराटनगरस्थित डिग्री क्याम्पसमा विराट एक्स्पो कृषि तथा औद्योगिक प्रदर्शनी आयोजना हुने उद्योग संगठन मोरङले जनाएको छ ।

विराट एक्स्पोको सातौँ संस्करण ‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीका रूपमा आयोजना गर्न लागिएको हो । यसअघि २०७९ माघ २६ देखि फागुन ३ गतेसम्म आयोजना गर्ने मिति तय गरिए पनि सरोकारवालाको सुझावअनुसार अगाडि सारिएको आयोजकले जनाएको छ । माघमा नै नेपाल उद्योग परिसंघले पनि कृषि मेलाको आयोजना गर्न घोषणा गरेकोले एकै समयमा दुईवटा मेला उपयुक्त नहुने भएकोले आफूहरूले मेला अगाडि सारेको उद्योग संगठन मोरङका अध्यक्ष सुयष प्याकुरेलले जानकारी दिए ।

उद्योग संगठन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष प्याकुरेलले संगठनले आफ्नो ऐतिहासिक पहिचान एवं गरिमा बोकेको कार्यक्रमलाई निरन्तरता दिने गरी र अन्य संघसंस्थाहरूलाई समेत प्रदर्शनी आयोजना गर्न असर नपर्ने गरी तोकिएको मितिभन्दा करिब दुई महिनाअगाडि विराट एक्स्पोको आयोजना गर्न लागिएको जानकारी दिए । स्थानीय अर्थतन्त्र चलायमान बनाउँदै उद्योग व्यवसाय क्षेत्रको व्यावसायिक विकासमा योगदान पु-याउन संगठनले २०५३ सालमा कोशी महोत्सवबाट प्रर्दशनीको प्रारम्भ गरेको थियो । प्रदर्शनीको ऐतिहासिकताको निरन्तरता स्वरूप संगठनले समयानुकूल परिमार्जन तथा परिस्कृत गर्दै २०६६ सालदेखि दुई वर्षको अन्तरालमा विराट एक्स्पोको ब्राण्डमा बृहत् औद्योगिक प्रदर्शनी सञ्चालन गर्दै आएको अध्यक्ष प्याकुुरेल बताए ।

विराट एक्स्पोको सातौँ संस्करणसम्म आइपुग्दा यसले नेपालमा आयोजना हुने थोरै औद्योगिक प्रदर्शनीहरूमध्ये आफ्नै छुट्टै औद्योगिक प्रदर्शनीको पहिचान तथा ब्राण्ड स्थापना गर्न सफल भएको प्याकुरेलको भनाइ छ । कृषि उद्यम, उद्योग, पर्यटनलगायत समग्र प्रदेश नं १ को आर्थिक एवं औद्योगिक विकासमा योगदान गर्न उत्पादक, उपभोक्ता र मूल्य श्रृङ्खलाको परिधिभित्र पर्ने समग्र व्यावसायिक सेवा प्रदायकहरूलाई आफ्नो उत्पादन तथा सेवाको बिक्रीवितरणका लागि साझा मञ्च उपलब्ध गराई बजार प्रवर्द्धन गर्नु विराट एक्स्पो २०७९ को प्रमुख उद्देश्य रहेको अध्यक्ष प्याकुरेलले जानकारी दिए । प्रदर्शनीका माध्यमबाट उत्पादक र उपभोक्ताबीच अनुभव आदानप्रदान, व्यावसायिक सम्बन्ध विकास एवं नयाँ प्रविधि पहिचानमा सहयोग पुग्ने उनको भनाइ थियो ।

कृषि उत्पादनको व्यवसायीकरण र पर्यटकीय क्षेत्रको एवं नया गन्तव्यको प्रचारप्रसार गरी आन्तरिक पर्यटन प्रवर्द्धन, नवप्रवर्द्धक स्टार्टअपहरूको व्यावसायिक विकासमा सहयोग स्वदेशी उत्पादनको उत्पादकत्व एवं बजारको दायरा फराकिलो बनाउन यो एक्पोले मदत पुग्ने अपेक्षा संगठनले गरेको जानकारी गराइएको थियो । प्रदर्शनीमा चार सय १५ वटा स्टलहरू, कृषि तथा कृषि उद्यम, घरेलु तथा साना उद्योग, उत्पादनमुलक औद्योगिक उत्पादन र उत्पादनको प्रक्रिया, व्यावसायिक विकास सेवाहरू, आपूर्ति श्रङ्खलाका कर्ताहरू, नवीनत सोच एवं प्रविधिमा आधारित उद्योगहरू, अन्तर्राष्ट्रिय एवं सेवामूलक, अटोमोबाइल्स, खाद्य परिकार, सूचना एवं शिक्षामूलकलगायतका क्षेत्रबाट प्रदर्शनीमा सहभागिता जानकारी संगठनले दिएको थियो ।

एक्पोसा भारत, बंगलादेश, भुटान, पाकिस्तान, थाइलैण्ड, चीनलगायतका मुलुकबाट समेत कन्जुमर तथा करपोरेट स्टलहरू रहने गरी तयारी अघि बढाइएको आयोजकले जनाएको छ । प्रदर्शनीमा मोरङ, सुनसरी, झापा, प्रदेश नं. १ का सर्वसाधारण, संघ, प्रदेश र स्थानीय सरकारका उच्चपदस्थ नीति निर्माताहरू, उद्योगी/व्यवसायीहरू, विद्यार्थीहरू, कृषकहरूको साथै छिमेकी मुलुक भारत बिहारको सीमावर्ती क्षेत्रबाट समेत गरी करिब तीन लाख दर्शकले अवलोकन गर्ने अपेक्षा संगठनले लिएको जानकारी गराइएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया