Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेञ्चुरीमा अध्यक्ष श्रेष्ठको बदमासी

सेञ्चुरीमा अध्यक्ष श्रेष्ठको बदमासी

आफन्त र व्यावसायिक साझेदार जोगाउन निर्दोषलाई ‘बलीको बोको’ बनाइयो


काठमाडौं । मुलुकको सबैभन्दा कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंकमा अहिले प्रभु बैंकसँग मर्जरको तयारीमा छ । आजको दिनसम्म आधा दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुलाई आफूमा गाभिसकिएको प्रभुले यसअघि वाणिज्य बैंकको रुपमा रहेको ग्राण्ड बैंकलाई सफलतापूर्वक आफूमा गाभिसकेको छ । त्यसपछि भने अहिले प्रभुले वाणिज्य बैंकको रुपमा सेञ्चुरीलाई पनि आफूमा गाभ्ने प्रारम्भिक सम्झौता गरिसकेको छ । प्रभुमा गाभिनेमा सेञ्चुरी कमर्सियल बैंक दोस्रो वाणिज्य बैंक हो ।

कमजोर सञ्चालक एवं व्यवस्थापन रहेको सेञ्चुरीलाई आफूमा गाभ्नु प्रभुको लागि आफैँमा एउटा चुनौतीपूर्ण कार्य हो भन्ने कुरा स्वयं प्रभु र सेञ्चुरी बैंकका सञ्चालक एवं व्यवस्थापन प्रमुखहरुले पनि बुझेका छन् । प्रभु र सेञ्चुरीको बीचमा हुने एउटै अप्ठ्यारो भनेको सेञ्चुरी कमर्सियल बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको प्रत्यक्ष संलग्नतामा एमएम रेमिटसँग भएको भुक्तानी विवाद हो । लामो समयदेखि सेञ्चुरीको सञ्चालक एवं व्यवस्थापन समितिले एमएम रेमिटसँगको भुक्तानी विवाद सुल्झाउन कुनै ठोस कार्य नगरेको, आरबिट्रेसनमा छ भनेर सधैँ पन्छिने गरेकोमा अब भने सेञ्चुरीको लागि यो पन्छाई चुनौतीपूर्ण बन्नसक्ने देखिएको छ ।

हाल सेञ्चुरी प्रभु बैंकसँग मर्जरमा जाने अन्तिम तयारीमा रहेको र एमएम रेमिटले पनि सेञ्चुरीको बदनियतपूर्ण कार्यको विरुद्धमा उक्त बैंकसँग प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सम्बन्ध राख्ने अन्तर्राष्ट्रिय केन्द्रीय बैंक, अन्तर्राष्ट्रिय अदालतको ढोका ढकढक्याउन पुगेपछि सेञ्चुरी स्वयंलाई एमएम रेमिटसँग भुक्तानी विवाद नसुल्झाए अन्तर्राष्ट्रिय अर्थात् डलर कारोबारमा नै समस्या उत्पन्न हुने देखिएको छ ।

एमएम रेमिटका प्रतिनिधि अहिले सेञ्चुरी कमर्सियल बैंक, उसको डलर कारोबारमा साझेदार बैंक दुबईको मसरिक बैंकविरुद्ध अन्तर्राष्ट्रिय अदालतको ढोका ढकढक्याउन पुगेपछि सेञ्चुरीको लागि एमएम रेमिटसँगको भुक्तानी विवाद निकै महँगो पर्ने देखिएको हो ।

सेञ्चुरीमा ठूलो परिमाणमा रकम अपचलन भएको छ । उक्त अपचलनसम्बन्धी मुद्दा निकै लामो समयदेखि आरबिट्रेसनमा छ । न मुद्दाको बारेमा टुंगो लाग्छ, न टुंगो लाग्न नै दिइन्छ, न त पीडितले न्याय नै पाएका छन् । उक्त घटनामा प्रत्यक्षरुपमा जोडिएको एमएम रेमिटले उक्त अपचलनमा सेञ्चुरी कमर्सियल बैंक, उक्त बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठसहितका व्यक्तिहरुको हात रहेको बताउँदै आएको छ । उक्त मुद्दा अहिलेसम्म पनि आरबिट्रेसनमा नै छ, छिटो मुद्दा टुग्याऊँ भन्दा सेञ्चुरी बैंकका अध्यक्ष श्रेष्ठसहितका व्यक्तिहरु मुद्दा टुंगोमा पु-याउन नचाएको र उनीहरुले मुद्दा धकेलिरहेको आरोप एमएम रेमिटले लगाउँदै आएको छ । उक्त रकम अपचलनका विषयमा नेपाल राष्ट्र बैंक समेतले सेञ्चुरी बैंकको अनुगमन गर्दा उक्त बैंकका केही व्यक्तिहरुको हात रहेको र तिनै व्यक्तिहरुमार्फत रकम उठाउन बैंकलाई निर्देशन दिएको भए पनि अहिलेसम्म पनि बैंकले उक्त रकम नउठाई आफूलाई थप पीडा दिएको आरोप एमएम रेमिट पक्षले लगाउँदै आएको छ । उक्त मुद्दा टुंगो लगाउनको लागि आफू तथ्य र प्रमाणमा आधारित भएर जुनसुकै ठाउँमा पुगेर बहस गर्न पनि तयार रहेको एमएम रेमिट पक्षले बताउँदै आएको छ ।

एमएम रेमिट पक्षले यसो भनिरहँदा सेञ्चुरी कमर्सियल बैंक भने एमएम रेमिटसँगको मुद्दा आरबिट्रेसनमा रहेको भन्दै पन्छिदै आएको छ । सेञ्चुरी कमर्सियल बैंंकमा अध्यक्ष राजेश कुमार श्रेष्ठको परिवारवाद हावी छ । सोही आधारमा अध्यक्ष श्रेष्ठले आफ्नो ज्वाइँ नाता पर्ने रमेश कुमार श्रेष्ठलाई सेञ्चुरी बैंकबाट हटाएर बैंककै भगिनी संस्था सेञ्चुरी क्यापिटलमा प्रमुख कार्यकारी अधिकृत बनाएर लगेका छन् । अध्यक्ष श्रेष्ठले रमेशलाई सेञ्चुरी क्यापिटलमा लानुको एउटै कारण भने उनलाई जोगाउनु नै देखिएको छ ।

सेञ्चुरी बैंकमा रमेश कुमार श्रेष्ठ एउटा त्यस्तो पात्र हुन् जसले सेञ्चुरी बैंकभित्र रहेर हङकङमा दर्ता रहेको ग्यालेक्सी रेमिटको आधिकारिक व्यक्तिको रुपमा काम गथ्र्यो । अहिले सेञ्चुरी बैंक र एमएम रेमिटको बीचमा भएको भुक्तानी विवादमा पनि ग्यालेक्सीको रेमिटको निकै ठूलो हात रहेको एमएम रेमिट पक्षको आरोप छ भने अर्कोतर्फ नेपाल राष्ट्र बैंकले पनि एमएम रेमिटसँगको रकम अपचलनमा रमेश कुमार श्रेष्ठको हात रहेको भन्दै सोही व्यक्तिबाट उक्त रकम उठाउनु भनेर सेञ्चुरी बैंकलाई लिखितरुपमा निर्देशन दिइसकेको छ ।

यो अवस्थामा अध्यक्ष श्रेष्ठले आफ्नो ज्वाइँ रमेश कुमार श्रेष्ठलाई जोगाउनकै लागि सेञ्चुरी बैंकबाट अलग्याएर आफ्नो भगिनी संस्था सेञ्चुरी क्यापिटलमा प्रमुख कार्यकारी बनाएका छन् । स्रोतको अनुसार अध्यक्ष श्रेष्ठले राष्ट्र बैंकको सम्भावित कारबाहीबाट रमेशलाई मात्र जोगाउन खोजेनन् कि उनको सम्पत्ति समेत जोगाउन खोजेका छन् । यसको लागि अध्यक्ष श्रेष्ठले रमेश श्रेष्ठलाई कागाजीरुपमा श्रीमतीसँग सम्बन्धविच्छेद समेत गराएका छन् । श्रीमानश्रीमतीबीच कुनै विवाद नभएकै अवस्थामा अध्यक्ष श्रेष्ठले रमेशको सम्पत्ति जोगाउनकै लागि सम्बन्धविच्छेद गराएको भए पनि उनीहरु अहिले सँगै बस्दै आएको र सम्बन्धविच्छेद कागजी मात्र भएको देखिएको छ । यता एमएम रेमिटको रकम अपचलनसम्बन्धी मुद्दामा नै जोडिएका सेञ्चुरी बैंकका पूर्वनिमित्त सीईओ जीवन भट्टराई भने आफू निर्दोष भएको बताउँदै आएका छन् ।

सेञ्चुरी बैंकका अध्यक्ष श्रेष्ठ, बैंकका पूर्वप्रमुख कार्यकारी तुल्सीराम गौतम, हालका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने समेतले आफूप्रति आग्रह, पूर्वाग्रह राखेर एमएम रेमिटसँगको मुद्दामा आफूलाई फसाउन खोजेको आरोप उनले लगाएका छन् । यसको लागि नेपाल राष्ट्र बैंकले समेत सत्यतथ्य नबुझी आफूलाई कारबाहीको लागि पत्र काटेको र आफूले उक्त मुद्दामा आफ्नो कुनै हात नरहेको भन्दै कारबाही पुनरवलोकन गर्न माग गरेको भए पनि अहिलेसम्म राष्ट्र बैंकले त्यसको प्रतिउत्तर नदिएको निमित्त सीईओ भट्टराईले जानकारी दिए । झण्डै २५ वर्षको पेशागत जीवनमा आफू कहीँ कतै पनि नचुकेको र अहिले भने सेञ्चुरीका अध्यक्ष श्रेष्ठसहितका व्यक्तिहरुको जालझेलमा परेर आफ्नो व्यक्तिगत तथा पेसागत जीवनमा आँच आएको भट्टराईले बताएका छन् ।

सेञ्चुरी बैंक समेतले पैसा उठाउन मध्यस्थ परिषद्मा निवेदन दिएकोमा दुई वर्षसम्म कुनै टुंगोमा नपु¥याई आफैँ बैंक सुनुवाइ सारिरहेको अवस्थाले सेञ्चुरी बैंक स्वयं सो रकम उठाउन गम्भीर नभएको प्रमाणित हुन्छ र मलाई जालसाजीपूर्णरुपमा झुठा मुद्दामा फसाई आफ्नो स्वार्थसिद्ध गर्न अध्यक्ष राजेश कुमार श्रेष्ठ र हालका सीईओ मनोज न्यौपाने लागेको यसबाट समेत पुष्टि हुन्छ ।

यस विषयमा सेञ्चुरी बैंक कसरी बिचौलिया, कमिसन खोरबाट चलेको छ र राष्ट्र बैंक समेतले राज्यले दिएको अधिकारको कसरी दुरुपयोग गरी कुनै अमुक व्यक्तिलाई फाइदा पु-याउँदो रहेछ भन्ने यो ज्वलन्त उदाहरण हो । तसर्थ बैंकिङ क्षेत्रका व्यावसायिक क्यारियर भएका कर्मचारीहरु, लगानीकर्ताहरु तथा नेपाली जनता समेत सचेत हुन जरुरी छ । अन्यथा व्यावसायिक, योग्य र क्षमतावान् व्यक्तिहरु यो देशबाट पलायन हुन बाध्य हुनेछन् र यहाँ सत्ता र शक्तिका नजिक, नातेदार र बिचौलियाहरुले कर्पोरेट क्षेत्रमा समेत हालीमुहाली गरी संस्थालाई धराशायी बनाउन सफल हुनेछन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया