Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवित्तीय प्रणालीमा लगानीयोग्य रकम अभावको प्रभाव

वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभावको प्रभाव

बैंकहरूले एक महिनामै गरे तीन खर्ब ५६ अर्ब ४६ करोडको अन्तर–बैंक कारोबार


काठमाडौं । वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव अर्थात् तरलता अभावको समस्या चुलिँदा यसको असर बैंक तथा फाइनान्स कम्पनीहरुबीच एक आपसमा हुने अल्पकालीन अवधिको कारोबार अर्थात् अन्तर बैंक कारोबारमा पनि परेको छ । तरलता अभावकै कारण बैंकिङ क्षेत्रमा अन्तर बैंक कारोबार रकम बढेको छ । सोअनुसार चालू आवको पछिल्लो एक महिनामा वित्तीय प्रणालीमा तीन खर्ब ५६ अर्ब ४६ करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ६० वटा संस्थाहरुले चालू आर्थिक वर्षको पहिलो महिनामा उक्त परिमाणमा अन्तर बैंक कारोबार गरेका हुन् । चालू आवको पहिलो महिनामा वाणिज्य बैंकहरुले मात्र भने तीन खर्ब १५ अर्ब ४९ करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेका छन् । यस अवधिमा विकास बैंक तथा फाइनान्स कम्पनीहरुले भने ४० अर्ब ९७ करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेका छन् । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरुले कुल तीन खर्ब ३३ अर्ब ४६ करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेका थिए । यसअन्तर्गत वाणिज्य बैंकहरुले तीन खर्ब पाँच अर्ब ५५ करोड र विकास बैंक र फाइनान्स कम्पनीहरुले २७ अर्ब ९१ करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेका छन् ।

राष्ट्र बैंकका अनुसार २०७८ साउनमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर शून्य दशमलव ६६ प्रतिशत रहेकोमा २०७९ साउनमा १० दशमलव ६४ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७८ साउनमा दुई दशमलव १३ प्रतिशत रहेकोमा २०७९ साउनमा आठ दशमलव दुई प्रतिशत रहेको छ । मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७९ साउनमा आठ दशमलव पाँच प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो ब्याजदर दुई दशमलव १८ प्रतिशत रहेको थियो ।

वाणिज्य बैंकहरुको औसत आधारदर २०७८ साउनमा छ दशमलव ७१ प्रतिशत रहेकोमा २०७९ साउनमा नौ दशमलव ७२ प्रतिशत कायम भएको राष्ट्र बैंकको भनाइ छ । २०७९ साउनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर सात दशमलव ६४ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११ दशमलव ९४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमशः चार दशमलव ७६ प्रतिशत र आठ दशमलव ४८ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया