Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार४९ सय ७३ जना चुनाव लड्दै

४९ सय ७३ जना चुनाव लड्दै

प्रतिनिधिसभातर्फ २१२८ प्रदेशसभातर्फ २८ सय ४५ उम्मेदवार


काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा कुल चार हजार नौ सय ७३ जना चुनाव लड्न तयार देखिएका छन् ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्यतर्फ दुई हजार एक सय २८ तथा प्रदेशसभातर्फ दुई हजार आठ सय ४५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । आयोगले चुनावमा उम्मेदवारी दर्ता गर्न आइतबार साँझ ५ बजेसम्मको समय दिएको थियो । तोकिएको समयमा उक्त संख्यामा उम्मेदवारी दर्ता भएको हो ।

आयोगले आगामी चुनावका लागि उम्मेदवारहरुको मनोनयनपत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले एकीन विवरण प्रविष्ट हुन बाँकी छ ।

तर आयोगको सूचना प्रणालीमा भने प्रतिनिधिसभाअन्तर्गत देशभर १९३७ जना पुरुष र १९१ महिला गरी २१ सय २८ जनाले आआफ्नो उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै प्रदेशसभातर्फ २६ सय पुरुष र २४४ महिला, १ जना अन्य गरी दुई हजार आठ सय ४५ जनाको उम्मेदवारी दर्ता भएको छ । सोमध्ये प्रदेश १ मा चार सय ४५ पुरुष र ४९ महिला गरी कुल चार सय ९४, मधेशमा ७ सय ११ पुरुष र ५५ महिला, अन्य १ गरी ७ सय ६७, बागमतीमा ५ सय ६१ पुरुष र ७४ महिला गरी ६ सय ३५, गण्डकीमा १९९ पुरुष र २९ महिला गरी २ सय २८, लुम्बिनीमा ४ सय १४ पुरुष र २३ महिलासहित ४ सय ३७, कर्णालीमा ७९ पुरुष र २ महिलासहित ८१ तथा सुदूरपश्चिममा १९१ पुरुष र १२ महिला गरी २०३ जनाले प्रदेश सभा सदस्यमा उम्मेदवारी दर्ता गराएको आयोगले उल्लेख गरेको छ ।

आयोगका अनुसार उम्मेदवारी दिएकाहरुविरुद्ध सोमबार बिहान १० देखि अपराह्न ३ बजेसम्म उजुरी दिन सकिनेछ । यस्तो उजुरी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा दिन सकिनेछ ।

प्रत्यक्ष प्रतिस्पर्धामा ठूला पार्टीका महिला नेत्री
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा हालसम्म दुई सय ३१ महिलाले उम्मेदवारीका लागि मनोनयनपत्र दर्ता गरेका छन् । निर्वाचन आयोगको बेलुका ९ बजेसम्म प्राप्त तथ्याङ्कानुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचनमा प्रतिस्पर्धा गर्न दुई सय ३१ महिलाले उम्मेदवारी दिएका हुन् ।

उम्मेदवारी दिनेमा नेपाली कांग्रेसबाट पाँच जना रहेका छन् । अर्घाखाँचीबाट कांग्रेस नेत्री तथा पूर्वउपसभामुख पुष्पा भुसाल, तेह्रथुमबाट सीता गुरुङ, मोरङ–२ बाट सुजाता कोइराला, सिरहा–२ बाट चित्रलेखा यादव र मकवानपुर–१ बाट महालक्ष्मी उपाध्याय ‘डिना’ रहनुभएको छ ।
त्यस्तै नेकपा (एमाले)का सात जनाले उमेदवारी मनोनयनपत्र दर्ता गरेका छन् । त्यसमध्ये स्याङ्जा–१ बाट पद्मा अर्याल, कञ्चनपुर–३ बाट निरूदेवी पाल, दाङ–१ बाट शान्ता चौधरी, दाङ–३ बाट कोमल वली, सुनसरी–३ बाट भगवती न्यौपाने, डोटीबाट गौरी ओली र कास्की–२ बाट विद्या भट्टराई रहनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)बाट काठमाडौँ–२ बाट ओनसरी घर्ती, काठमाडौँ–९ बाट कल्पना धमला, काठमाडौँ–७ बाट मानुषी यमी भट्टराई, ललितपुर–३ बाट पम्फा भुसाल र दाङ–२ बाट रेखा शर्मा गरी पाँच महिलाले उम्मेदवारी दिनुभएको छ ।  त्यस्तै नेकपा (एकीकृत समाजवादी)बाट गुल्मी–२ मा रामकुमारी झाँक्रीले उम्मेदवारी दिनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट मोरङ–३ मा रेखा थापाले उम्मेदवारी दिनुभएको छ ।

यी नेताले दिए स्वतन्त्र उम्मेदवारी
आगामी निर्वाचनमा पार्टीबाट उम्मेदवारको टिकट नपाएका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेशको निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि उनीहरूले यसअघि उठेकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी मनोनयन गराएका हुन् । नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । एमालेले भुसाललाई टिकट नदिएपछि शनिबार पार्टी छाडेको घोषणा गर्नुभएको थियो । एमालेकै निवर्तमान सांसद रामवीर मानन्धरले काठमाडौँ क्षेत्र नं ७ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । पार्टीले टिकट नदिएपछि मानन्धरले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । एमालेका नेता प्रभु साहले रौतहट क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

नेपाली कांग्रेसका नेता दिनेश कोइरालाले पार्टीले टिकट नदिएपछि चितवन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । नेता गोविन्दराज जोशीले तनहुँ क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । नेपाली कांग्रेसबाट कारबाहीमा पर्नुभएका जोशी स्वतन्त्र उम्मेदवार बन्नुभएको हो । कांग्रेसका नेता अमरेशकुमार सिंहले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

निर्वाचनमा पार्टीले टिकट नदिएपछि कतिपय नेता पार्टी परित्याग गरी अर्को पार्टीमा लागेका छन् भने केहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेताहरूले विगतमा उठेकै निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।  काठमाडौँमा क्षेत्र नं ३ मा कांग्रेसका पूर्व नगर सभापति श्रीकृष्ण ज्योतिले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । कांग्रेसबाट असन्तुष्ट कामपा–६ का पूर्व वडाध्यक्ष दीपेन्द्र लामाले प्रदेश (क) का लागि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । प्रदेश (ख) मा महलिा सङ्घ काठमाडौँका अध्यक्ष विष्णुदेवी पुडासैनीले स्वतन्त्र उम्मेदवारी दिनुभयो ।

लेखक युग पाठकले झापा क्षेत्र नं ५ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । यो क्षेत्रमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराउनुभएको डडेलधुरामा सागर ढकालले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

विकासका लागि एमालेको जीत आवश्यक : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकासका लागि एमालेको जित आवश्यक भएको बताउनुभएको छ । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दर्तापछि आज अपराह्न दमकको गणतन्त्र चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै ओलीले आसन्न निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबी गर्नुभयो ।

विकास र समृद्धि ल्याउन एमाले सक्षम पार्टी भएको उहाँको भनाइ थियो । अस्वस्थताको कारण देखाउँदै संक्षिप्त सम्बोधन गर्नुभएका उहाँले भन्नुभयो, “एमालेलाई भोट किन दिनुपर्ने भनेर भनिरहन पर्दैन, जनताले थाहा पाइसकेका छन् ।” अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्नुभएको हो ।

मुख्य दलका शीर्षनेता कहाँबाट लड्दै छन् चुनाव ?

आगामी चुनावमा राजनीतिक दलका शीर्षनेताहरुले विभिन्न निर्वाचन क्षेत्रबाट चुनाव लड्दै छन् ।  यसअनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सातौँ पटक आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

उनले वारेसमार्फत श्रीमती आरजु राणी देउवालाई पठाएर आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटक भने गोरखा २ बाट उम्मेदवारी दर्ता गराएका छन् । चितवन ३ बाट उठ्दै आए पनि उनले यसपटक गोरखा रोजेका हुन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले रौतहट १ बाट उम्मेदवारी दर्ता गराएका छन् भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सप्तरी २ बाट उम्मेदवारी दर्ता गराएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर यसपटकको निर्वाचनमा महोत्तरी ३ बाट चुनाव लड्ने भएका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिंग्देन भने झापा ३ बाट चुनाव लड्दै छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा मकवानपुर १ बाट उम्मेदवारी दिएका छन् । उनलाई एमालेले समर्थन गरेको छ । उनी सूर्य चिह्नबाट चुनाव लड्नलागेका हुन् । एमालेका स्थानीय कार्यकर्ताले भने उनको विरोधमा मकवानपुर कार्यालयमा तालाबन्दी गरेका छन् । त्यसैगरी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बाग्लुङ १ बाट उम्मेदवारी दिएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया