Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराज्यको करनीतिले अवसान गराएको उद्योगको एउटा क्षेत्र

राज्यको करनीतिले अवसान गराएको उद्योगको एउटा क्षेत्र

यसरी भयो वैदेशिक उत्पादन हाबी


काठमाडौं । राज्यको करनीति देशको उद्योगमैत्री अर्थात् उद्योगलाई विकास गर्ने किसिमको भएन भने कुनै एउटा उद्योग होइन, उद्योगको एउटा क्षेत्र नै कसरी समाप्त भएर जान्छ र वैदेशिक उत्पादनहरु कसरी हावी हुन्छन् भन्ने उदाहरण बनेको छ, नेपालको सलाई उद्योग ।

नेपालमा पहिला सिमलको काठको सलाई उत्पादन हुन्थ्यो । पछि सिमल काठ प्रयोग गरेर सलाई बनाउन राज्यले रोक लगाएपछि मैन सलाई उत्पादन हुनथाल्यो । काठको सलाई वर्षायाममा बाल्न धेरै धौधौ हुन्थ्यो । मैन सलाई आएपछि सल्किन सजिलो भयो र यसले राम्रो बजार लियो ।
नेपालमा सलाई उद्योग फस्टाउँदै गएपछि भारतीयहरुले नेपालको बजार हेरे र नेपालमा सलाई निर्यात बढाए । भारतीयहरुको चाहनाअनुसार नेपालको भन्सार नीति तय भयो । अर्थात् सलाईमा नाम मात्रको भन्सार दर लगाइयो । त्यसले नेपालको सलाई उद्योगलाई चाँडै नै धराशायी बनाइदियो ।

भारतीय उत्पादनले सलाई उद्योगलाई हल्लाएको बेला चीनबाट सस्तो दरमा ग्यास लाइटर आउन थालेपछि त सलाई उद्योगको ओरालो यात्रा तीव्र रुपमा भयो । अहिले नेपालमा दुईवटा सलाई उद्योग मात्र मुश्किलले चलेको छ । अरु सबै बन्द भएको छ । कुनै बेला नेपालमा डेढ दर्जनजति सलाई उद्योग सञ्चालनमा थिए ।

नेपालमा सलाई उद्योग चलाउन भारतबाट केमिकल, बारुद ल्याउनुपर्छ । बारुद ल्याउने प्रक्रिया नै लामो छ । यसले नेपाली उद्योगीलाई झन्झट थियो नै । तर, खासगरी नेपालमा सलाई उद्योग बन्द हुनुमा चाहिँ मुख्य दोष भन्सार दर नै रहेको सलाई उद्योगीहरु बताउँछन् । त्यस्तै, सलाईमा प्रयोग हुने बारुद ल्याउन नेपालमा गृह र रक्षा मन्त्रालयले निर्णय गरेर परराष्ट्रको सिफारिस चाहिन्छ । त्यसपछि भारतीय दूतावासको पनि सिफारिस चाहिन्छ । आफ्नो देशको उद्योगको उत्पादनले बजार पाइरहेको बेला भारतीय दूतावासले पनि त्यस्तो सिफारिस दिन विभिन्न बहाना बनाउँछ ।  यसले उद्योगीलाई थप तनाव दिन्छ । अनि उद्योग चलाउनेहरु क्रमशः व्यापारतिर लम्किन्छन् । नेपालका सलाई उद्योगीहरुको अवस्था त्यस्तै भएको छ ।

भारतबाट आउने सलाई नेपालभन्दा सस्तो पर्छ । किनकि सलाईमा कर नै कम छ । त्यही कारण भारतबाट आउने सलाई नेपालमा सस्तो भएको हो । भारतबाट आयात गरिने सलाईमा कर बढी लगाउनुपर्छ भनेर उद्योगीले लबिङ्ग गरे पनि अर्थ मन्त्रालयले बेवास्ता गर्दा अहिले भएका तीनवटा सलाई उद्योग पनि बन्द हुने अवस्थामा छ । यही अवस्था रहेमा नेपालमा सलाई उद्योग पूर्णतः बन्द हुने बुटवलको जय महालक्ष्मी म्याच इन्ड्रष्ट्रिजका सञ्चालक राजेन्द्र ढकाल बताउँछन् ।

सरकारले भारतबाट आयात हुने २० काँटी भएको एक बट्टा सलाईको भन्सार दर सून्य दशमलव चार पैसा, ५० काँटीसम्म भएको एक बट्टाको प्रतिबट्टा शून्य दशमलव आठ पैसा र ५० काँटीभन्दा बढी काँटीको बट्टाको हकमा सोही अनुपातमा भन्सार मूल्यांकन गरेको छ । यो रकम अत्यन्त कम भएको नेपाली व्यवसायी ढकाल बताउँछन् । उनले यस विषयमा पटक–पटक अर्थ मन्त्रालयमा भने पनि कुनै सुनुवाइ नभएको बताउँछन् ।
ढकालका अनुसार अहिले बुटवलको जय महालक्ष्मी म्याच इन्डष्ट्रिज र चितवनको सुवर्ण म्याच इन्ड्रष्ट्रिज मात्र सञ्चालनमा छ ।

वीरगञ्जको मारुती म्याच र नेपालगञ्जको रत्न म्याच उद्योग बन्द भइसकेको छ । अब भन्सार दर वृद्धि नगर्ने हो भने चितवन र बुटवलका ती दुई उद्योग पनि बन्द हुनबाट कसैले रोक्न सक्ने छैन । नेपालमा उद्योग सञ्चालन गरिरहने हो भने नेपाली उद्योगीले भारतबाट कच्चा पदार्थ ल्याउँदा भन्सार, भ्याट तिर्छन् र नेपालमा रोजगारी दिएर पनि कर तिर्छन् । तर, भारतबाट तयारी सलाई आउँदा नेपालको उद्योग मात्र होइन करमा पनि असर परिरहेको छ । तर, राज्यले खासै वास्ता गरेको छैन ।

सलाईमा भन्सार दर बढाउनेबारे अहिले कुनै छलफल नभएको र त्यो निर्णय गर्ने अधिकार भन्सार विभागलाई नभएको महानिर्देशक कमल प्रसाद भट्टराई बताउँछन् । ‘भन्सार दर हामीले यो बीचमा परिवर्तन गर्ने भन्दा पनि बजेट बनाउने बेलामा अर्थ मन्त्रालयले तय गर्ने हो’, महानिर्देशक भट्टराईले भने, ‘विदेशबाट आयात हुने सलाईको भन्सार दर कम छ भने यसमा छलफल गर्न सकिन्छ । तर, यसको अन्तिम निर्णयकर्ता अर्थ मन्त्रालयले नै हो । बजेट बनाउने बेलामा यसमा निर्णय लिनुपर्छ ।’

नेपालमा सलाई बनाउन भारतबाट कच्चा पदार्थ आयात गर्नुपर्छ । भारतबाट कच्चा पदार्थ ल्याएर सलाई बनाउनु भन्दा भारतबाट तयारी सलाई ल्याएर बिक्री गर्दा व्यापारीलाई धेरै नाफा हुन्छ । किनकि नेपालमा भारतबाट सलाई आयातमा सरकारले नाम मात्रकै कर लगाएको छ । त्यही भएर भारतीय तयारी सलाई बिक्री गर्दा नाफा बढी हुन्छ । तर, उपभोक्तालाई भने खासै नाफा देखिँदैन ।

‘पचास पैसा नाफा भयो भने पनि व्यापारीलाई लाखौ नाफा हुन्छ’, ढकालले भने, ‘तर, मूल्य पचास पैसा घटाएर बिक्री गर्दा खुद्रा पैसा नै फिर्ता दिन मिल्दैन ।’ नेपालमा पैसाको अवमूल्यन भएको कारण अहिले एक/दुई रुपैयाँका चल्ती नै हराउन थालिसकेको छ ।  अहिले नेपालमा सलाईको मूल्य कम भए पनि सलाईको काँटी घटाइएको छ । त्यसले पनि व्यापारीलाई धेरै नाफा भएको छ । ‘पहिलाको एक बट्टा अहिले दुई बट्टा बनाएर आउँछ’, एक व्यापारीले भने, ‘भारतबाट आयातित सलाई बिक्री गर्नु भनेको शतप्रतिशत नाफा हुनु हो । त्यही भएर नेपाली सलाई उद्योग मृतप्रायः भएको छ ।’

भारतबाट सलाई मात्र होइन उत्तरी छिमेकी चीनबाट आयातित ग्यास लाइटर पनि नेपालको सलाई उद्योग सिध्याउने कारक बनेको छ । ‘चीनबाट सस्तो लाइटर आयातले सलाईको बजार लिएको छ । भारतबाट आयात गरिने सलाईमा जस्तै चीनबाट आयात गरिने ग्यास लाइटरमा पनि सरकारले न्यून भन्सार लगाइदिँदा सलाई उद्योग ध्वस्त भएको हो’, ढकालले भने ।

थोरै पुँजीमा सञ्चालन गर्न सकिने सलाई उद्योगले राम्रै रोजगारी दिएको थियो । भातरबाट आयात भएको सलाई र चीनबाट आयात भएको लाइटरले व्यापारीलाई खासै मर्का नपरे पनि नेपाली रोजगारीमा भने ठूलो असर पारेको छ । चीनबाट अहिले वार्षिक ६०/७० करोड रुपैयाँबराबरको लाइटर आयात भइरहेको छ भने भारतबाट सलाईको आयात पनि भइरहेको छ । दुईतिरबाट सलाई र लाइटरको आयात बढ्दा नेपाली सलाई उद्योग करिब बन्दको अवस्थामा पुगेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया