Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपाँच सय ५० बढी पालिकालाई विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी तालिम

पाँच सय ५० बढी पालिकालाई विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी तालिम


काठमाडौं । आप्रवासनसम्बन्धी संयुक्त राष्ट्र संघीय निकाय (आईओएम)ले पाँच सय ५० भन्दा बढी पालिकाहरूलाई विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको स्थानीयकरणसम्बन्धी तालिम दिएको छ । ‘कोही नछुटोस्’ भन्ने अवधारणा अवलम्बन गर्दै आइओएमले पालिकाहरूलाई तालिम दिएको हो ।

अक्टोबर १३ तारिखका दिन संसारभर मनाइने अन्तर्राष्ट्रिय विपत् जोखिम न्यूनीकरण दिवसको अवसर पारेर आईओएमले अमेरिकी सहयोग नियोग (यूएसएड)को मानवीय सहायता ब्युरोको आर्थिक सहयोगमा उक्त तालिमसम्बन्धी परियोजना सञ्चालन गरेको हो । परियोजनाले देशभरका सबै स्थानीय तहमा पुग्ने लक्ष्य राखेको र हालसम्म देशका ७५ प्रतिशतभन्दा बढी पालिकामा सम्पन्न भइसकेको बताइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा आईओएमले नवनिर्वाचित स्थानीय तहका अधिकारीहरूलाई विपत् न्यूनीकरण तथा व्यवस्थापन कानुन, नीति र कार्ययोजनाको स्थानीयकरण गर्न सक्षम बनाउन तालिम सञ्चालन गर्दै आएको छ । यी तालिमले अन्ततः विपत् जोखिम कम गर्न र भविष्यमा आइपर्ने प्रकोपका बखत जिउधन जोगाउने प्रतिकार्य गर्न समुदायको तथा सरकारी क्षमता अभिवृद्धि गर्न बलियो आधार बनाउँछन् ।

आईओएमका नेपाल प्रमुख लोरेना ल्यान्डोले प्रशिक्षणले सफ्टका बेला उत्तम र समयमै प्रतिकार्य गर्न, पूर्वयोजना विकास गर्न तथा विपत् रोकथाम र न्यूनीकरणमा स्थानीय अधिकारीहरूका लागि लाभदायी हुने बताए । नेपालमा आईओएमले सन् २०१८ देखि तीनै तहका सरकारहरूका साथै समुदाय तथा व्यक्तिहरूलाई प्रभावकारी विपत् रोकथाम, तयारी, प्रतिकार्य तथा पुनर्लाभ गतिविधिहरूका लागि सहयोग गर्दै आएको उनको भनाइ छ । यस प्राविधिक सहयोग आईओएमले नेपाल सरकारलाई प्रभावकारी विपत् रोकथाम, पूर्वतयारी, प्रतिकार्य तथा पुनर्लाभ गतिविधिहरूका लागि स्थानीय तहको कानुनी ढाँचा र क्षमतालाई बलियो बनाउनका लागि गरेका सहयोगहरूमध्ये एक हो ।

प्रशिक्षण पाठ्यक्रममा अन्य विषयवस्तुका साथै पूर्वसूचना प्रणाली, विपत् जोखिम सूचना, मूल्यांकन आदि विषयवस्तुहरू समावेश छन्, जसले सेन्डाइ फ्रेमवर्कको सातौँ लक्ष्य हाँसिल गर्न योगदान पु-याउँछ । सन् २०३० सम्म बहुपक्षीय पूर्वसूचना प्रणाली र विपत् जोखिम सूचना वृद्धि गर्न आवश्यक लेखाजोखा गर्न क्षमता विकास गर्न सातौँ लक्ष्यले जोड दिएको छ । सन् २०२२ को अन्तर्राष्ट्रिय विपत् जोखिम न्यूनीकरण दिवस पनि सातौँ लक्ष्यसँग केन्द्रित छ । ‘परिवर्तन’ नामको यस परीयोजनाअन्तर्गत स्थानीय तहका करिब १२ हजार निर्वाचित प्रतिनिधि तथा सरकारी अधिकारीहरूलाई तालिम दिइसकिएको छ । परियोजनाले ‘स्थानीय सरकारहरूको विपत् जोखिम व्यवस्थापन क्षमता अभिवृद्धि प्रशिक्षण कार्यसञ्चालन निर्देशिका’को आधारमा आगामी महिनामा करिब छ हजार जनालाई प्रशिक्षण दिने लक्ष्य राखेको छ ।

यी तालिमहरू भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपाल (एन्सेट) नेतृत्वको छाता संगठनअन्तर्गत प्राक्टिकल एक्सन कन्सल्टिङ र लुथरन वल्र्ड फेडेरेसनसँगको साझेदारीमा आयोजना भइरहेका हुन् । बाँकी ५१ स्थानीय तहका लागि तालिमहरू यूएसएडको आर्थिक सहयोगमा अन्य परियोजनाहरूअन्तर्गत सञ्चालन भइरहेका छन् । अन्तर्राष्ट्रिय विपत् जोखिम न्यूनीकरण दिवस प्रत्येक वर्ष अक्टोबर १३ तारिखका दिन विपत् जोखिम न्यूनीकरणको विश्वव्यापी संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यसहित मनाइन्छ । यस दिनलाई विपत् जोखिम न्यूनीकरण र जीवन, जीविकोपार्जन, अर्थतन्त्र र आधारभूत पूर्वाधारमा हुने क्षतिलाई न्यूनीकरण गर्ने दिशामा भइरहेको प्रगतिलाई मनन गर्ने अवसरको रूपमा विश्वव्यापी प्रकोप जोखिम र यसबाट हुने क्षति न्यूनीकरणका लागि मार्च २०१५ मा अपनाइएको विश्वव्यापी सम्झौता ‘सेन्डाइ फ्रेमवर्क २०१५–२०३०’का अनुसार मनाइन्छ । अन्तर्राष्ट्रिय विपत् जोखिम न्यूनीकरण दिवस २०२२ सबैका लागि जनचेतना वृद्धि गर्न, पूर्वसूचना र पूर्वकार्यहरू गर्नेमा केन्द्रित छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया