Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैैंकिङमा निक्षेपको तुलनामा कर्जाको वृद्धिदर उच्च

बैैंकिङमा निक्षेपको तुलनामा कर्जाको वृद्धिदर उच्च

एक वर्षमा तीन खर्ब ६९ अर्बले निक्षेप बढ्दा पाँच खर्ब रुपैयाँले बढ्यो कर्जा


काठमाडौं । नेपाली बैंकिङ क्षेत्रमा यतिखेर तरलता अभावको समस्या चुलिएको छ । सोही कारण बैंक तथा फाइनान्स कम्पनीहरूले अहिले बजारको मागअनुसार कर्जा प्रवाह गर्न सकेका छैनन् । वित्तीय प्रणालीमा अपेक्षा गरेअनुसारको निक्षेप रकम पनि जम्मा हुन सकेको छैन । तर वित्तीय प्रणालीमा यो समस्या आउनुको प्रमुख कारण भने क्षमताभन्दा बढी कर्जा प्रवाह गर्नु नै देखिएको छ । बैंकिङ क्षेत्रमा निक्षेपको तुलनामा कर्जा उच्च हुँदा बजारमा तरलता अभावको समस्या देखिएको हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ६० वटा संस्थाहरूले आर्थिक वर्ष २०७८–०७९ मा कुल ५० खर्ब ३५ अर्ब ९६ करोड ४० लाख रुपैंयाँ निक्षेप संकलन गरेका छन् । बैंकिङ क्षेत्रले संकलन गरेको यो निक्षेप आव २०७७–०७८ को तुलनामा तीन खर्ब ६९ अर्ब १० करोड रुपैयाँले बढी हो । उक्त आवमा बैंकिङ क्षेत्रको कुल निक्षेप ४६ खर्ब ६६ अर्ब ३१ करोड ४० लाख रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार आव २०७८–०७९ मा बैंकिङ क्षेत्रको कुल कर्जा रकम भने ४७ खर्ब १८ अर्ब ९९ करोड ७० लाख रुपैयाँ पुगेको छ । यो कर्जा अघिल्लो आवको तुलनामा पाँच खर्ब पाँच अर्ब ६० करोड रुपैयाँले बढी हो । अघिल्लो आवको बैंकिङ क्षेत्रको कुल कर्जा रकम ४२ खर्ब १८ अर्ब ९४ करोड १० लाख रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकको पछिल्लो दुई आर्थिक वर्षको तथ्यांकअनुसार पनि बैंकिङ क्षेत्रको निक्षेप र कर्जा प्रवाहमा ठूलो परिमाणमा अन्तर देखिएको छ । आव २०७८–०७९ मा बैंक तथा फाइनान्स कम्पनीहरूको कुल निक्षेप अघिल्लो आवको तुलनामा तीन खर्ब ६९ अर्ब १० करोड रुपैयाँले मात्र बढ्दा कुल कर्जा रकम भने पाँच खर्ब पाँच अर्ब ६० करोड रुपैयाँले बढेको देखिएको छ । यसले गर्दा पनि वित्तीय प्रणालीमा असन्तुलन उत्पन्न भएको हो ।

आव २०७८–०७९ मा वाणिज्य बैंकहरूले ४४ खर्ब ३४ अर्ब ७५ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी ४१ खर्ब ८५ अर्ब ८२ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरूको यो निक्षेप तथा कर्जा रकम आव २०७७–०७८ को तुलनामा क्रमशः तीन खर्ब नौ अर्ब १५ करोड ५० लाख र चार खर्ब २७ अर्ब ६० करोड ७० लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा भने वाणिज्य बैंकहरूको कुल निक्षेप तथा कर्जा रकम क्रमशः ४१ खर्ब २५ अर्ब ५९ करोड ८० लाख र ३७ खर्ब ५८ अर्ब २२ करोड रुपैयाँ रहेको थियो ।

विकास बैंकहरूले भने आव २०७८–०७९ चार खर्ब ९८ अर्ब ८५ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी चार खर्ब ४१ अर्ब ९४ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार विकास बैंकहरूको यो निक्षेप तथा कर्जा रकम अघिल्लो आवको तुलनामा क्रमशः ४८ अर्ब ४७ करोड ६० लाख र ५१ अर्ब ७० करोड रुपैयाँले बढी हो । अघिल्लो आवमा भने विकास बैंकहरूको यस्तो निक्षेप तथा कर्जा रकम क्रमशः चार खर्ब ५० अर्ब ३७ करोड ७० लाख र तीन खर्ब ९० अर्ब २४ करोड २० लाख रुपैयाँ रहेको थियो ।

फाइनान्स कम्पनीहरूले भने आव २०७८–०७९ मा एक खर्ब दुई अर्ब ३५ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी ९१ अर्ब २२ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । फाइनान्स कम्पनीहरूको यो निक्षेप तथा कर्जा रकम अघिल्लो आवको तुलनामा क्रमशः १२ अर्ब एक करोड ९० लाख र २० अर्ब ७४ करोड ९० लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा फाइनान्स कम्पनीहरूको यस्तो निक्षेप तथा कर्जा रकम क्रमशः ९० अर्ब ३३ करोड ९० लाख र ७० अर्ब ४७ करोड ९० लाख रुपैयाँ रहेको थियो ।

Open photo


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया