Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहुलास वायरको ६० करोड बेरुजुु, उद्योगका तात्कालीन प्रबन्धकदेखि लेखाप्रमुख विवादित

हुलास वायरको ६० करोड बेरुजुु, उद्योगका तात्कालीन प्रबन्धकदेखि लेखाप्रमुख विवादित


विराटनगर । सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालित हुलास वायरले सरकारले उपलब्ध गराउँदै आएको भन्सार आयात निर्यात सुविधालाई ब्यापकरूपमा दुरूपयोग गरेको पाइएको छ । करिडोरमा सञ्चालन हुँदै आएको हुलास बायर इन्डस्ट्रिजले भारततर्फ निर्यात गरेको वायरमा लागेको भन्सार राजस्व लामो समयदेखि बुझाउन आनाकानी गरेको पाइएको हो ।

विराटनगर भन्सारले हुलास वायरलाई पटक–पटक पत्राचार समेत गरेर राजस्व बुुझाउन ताकेता गरे पनि कम्पनीले भने राजस्व बुझाएको छैन । भन्सारको पटक–पटकको पत्राचार हुलास वायरका सञ्चालकले बेवास्ता गरेपछि विराटनगर भन्सार राजस्व कसरी असुल्ने भन्ने कुरामा अन्यौल भएको बताइएको छ । आर्थिक वर्ष ०७६/०७७ मा हुलास वायर इन्डस्ट्रिजले उद्योगबाट उत्पादन भएको वायर भारततर्फ निकासीका लागि बन्डेट वायर हाउसअन्तर्गतको सुविधा प्रयोग गरी निकासी गर्दाको समयमा करिब ६० करोडभन्दा बढी रकम पटक–पटक महालेखाले बेरुजु भएको देखाएको थियो ।

महालेखाले हुुलास वायरको राजस्व बक्यौता देखाएपछि विराटनगर भन्सारले उक्त रकम तिर्न पटक–पटक ताकेता गरे पनि उद्योगले भने आफ्नो नाममा देखिएको बेरुजु सम्बन्धमा अदालतमा मुद्दा चलिरहेको भन्दै तिर्न आनाकानी गरिरहेको छ । विदेशबाट औद्योगिक कच्चापदार्थ आयात गरी स्वदेशमा उत्पादन भएको वायर निकासी गर्नका लागि सरकारले बन्डेट वायर हाउसको सुविधा प्रयोग गरी त्यस्ता वस्तुु निकासी गर्ने व्यवस्था गरेको छ । उक्त सुविधा प्रयोग गरी हुलास वायरले निकासी गरेको वायरमा यति ठूलो रकमको बक्यौता बाँकी रहेको र अहिलेसम्म पनि फछ्र्यौट नगरेको विराटनगर भन्सारले जानकारी दिएको छ । तर उद्योगले भने अदालतबाट कुनै प्रकारको आदेश नआएसम्म बक्यौता नतिर्ने अडान लिएको छ ।

आर्थिक वर्ष ०७६/०७७ मा हुलास वायरले उक्त सुविधाअन्तर्गत वायर निकासी गरी ०७७ साल साउनमा बन्डेट वायर हाउसको नवीकरण गर्न नसकेपछि उद्योगको नाममा ६० करोडभन्दा बढी रकम तीन वर्षदेखि बेरुजु देखिएको हो । तर अहिले सरकारले उक्त प्रावधान हटाएर विदेशबाट कच्चापदार्थ आयात गरी स्वदेशमा उत्पादन गर्ने उद्योगले वार्षिक तीन करोडबराबरको उत्पादित वस्तु निर्यात गरे हुन्छ भन्ने प्रावधान राखेको छ । हुलास वायरमा कार्यरत तत्कालीन उद्योगका म्यानेजर मुकेस कोठारी र उद्योगका लेखाप्रमुख इन्द्र राठीको मिलोमतोका कारण हुलास वायरले लामो समयदेखि भन्सार राजस्वको बेरुजु बोकिरहेको उद्योग निकट स्रोतले बताएको छ । हुलास वायरमा विवादित छवी बनाएका म्यानेजर कोठारीले चार महिनाअगाडि उद्योगको म्यानेजरबाट राजीनामा दिइसकेका छन् । लेखा प्रमुख इन्द्र राठी भने अझै पनि उद्योगको लेखाप्रमुखमा नै कार्यरत छन् ।

उद्योग सञ्चालक राजलक्ष्मी देवी गोल्छाले उद्योगमा समय दिन नसकेका कारण गैरजिम्मेवारी काम गर्ने मामलामा अग्रपंक्तिमा रहेका कोठारीले पछिल्लो समय हुलास वायर सञ्चालनको जिम्मेवारीमा नयाँ पुस्ता आएपछि टिक्न नसकेर राजीनामा दिएका थिए । त्यसैगरी उक्त उद्योगका लेखा प्रमुख इन्द्र राठीले जागिरको छोटो अवधिमा नै हुलास वायरकै जागिरबाट विराटनगरमा आलिसान महल किनेका छन् । साथै उनको विभिन्न व्यावसायिक प्रतिष्ठानमा समेत लगानी रहेको छ । पछिल्लो समय सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालन हुुँदै आएका धेरै उद्योगहरू विभिन्न कारणले बन्द हुुने अवस्थामा पुगेका छन् । तर तिनै उद्योगमा कार्यरत माथिल्लो तहका कर्मचारी भने कोही आफैँ उद्योगपति बनेका छन् भने कोही चर्को ब्याजमा लगानी गर्ने हैसियतमा पुगेको करिडोरका उद्योगीले नै बताउन थालेका छन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया