Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘काम गर्ने धेरै अवसर थियो तर पाँच वर्ष खेर फाल्यौँ’

‘काम गर्ने धेरै अवसर थियो तर पाँच वर्ष खेर फाल्यौँ’


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले पाँच वर्षको समय खेर गएको बताएका छन् । ‘काम गर्नको लागि धेरै अवसर र समय थियो तर यहीबीचमा देखिएको राजनीतिक अस्थिरताले गर्दा पाँच वर्षको समय खेर गयो’, उनले भने ।

काठमाडौंको डिल्लीबजारस्थित नाग मन्दिर उपभोक्ता समिति र युवा हुंकार मासिक पत्रिकाको संयुक्त आयोजनामा भएको चियापान कार्यक्रममा थापाले मुलुकको दिगो आर्थिक विकास र समृद्धिको लागि पल–पलको समय महत्वपूर्ण हुने भन्दै अबका दिनहरूमा कुनै पनि समय खेर फालेमा कँही–कतै पनि त्यो क्षम्य नहुने बताए । आफूले विसं २०७४ सालमा ‘नयाँ नेपाल सम्भव छ ?’ भनेर अभियान सुरु गरेको भन्दै त्यही नयाँ नेपाल बनाउनको दृढ इच्छाशक्ति र आस्थाका साथ योजना र नीतिहरू बनाएर आफू अगाडि बढेको उनको भनाइ थियो । ‘यो मेरो मात्र नीति होइन, सिंगो नेपाली कांग्रेसको सिंगो मुलुकलाई, आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ, पूर्वाधारलगायतका सबै क्षेत्रमा समृद्ध बनाउने नीति हो’, उनले भने ।

कार्यक्रममा नाग मन्दिर उपभोक्ता समितका अध्यक्ष एवं वरिष्ठ चिकित्सक डा. सुधांशु केसीले सरकार एवं सबै राजनीतिक दलहरूले स्वास्थ क्षेत्रलाई सबैको पहुँचमा पुग्ने गरी नीति तथा योजना बनाई कार्यान्वयन गर्नुपर्ने बताए । मुलुक आर्थिकरूपमा समृद्ध हुनुको लागि पनि पहिला जनता स्वस्थ हुनुपर्ने भन्दै स्वास्थ्यलाई उच्च प्राथमिकताको सूचीमा राखेर काम गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता प्रकाश महर्जनले मुलुकलाई आर्थिक विकास र समृद्धिको दिशामा अगाडि लानको लागि सही नेतृत्व छान्नु आवश्यक रहेको बताए । त्यो नेतृत्व छान्ने सही अवसर अहिले हो, सबैले आफ्नो स्वविवेक प्रयोग गरौँ’, उनले भने । सोही कार्यक्रममा नेपाली कांग्रेसकी महिला नेत्री कृष्ण कुमारी बस्नेतले आम नागरिकलाई सुझबुझका साथ सचेत भएर देशको लागि सही नेतृत्व छान्न आग्रह गरिन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया