Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रपतिद्वारा १५ शय्याको हिमालयन शेर्पा अस्पतालको उद्घाटन

राष्ट्रपतिद्वारा १५ शय्याको हिमालयन शेर्पा अस्पतालको उद्घाटन


सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा निर्मित १५ शय्याको हिमालयन शेर्पा अस्पतालको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामू गाउँपालिका ३ फाक्दिङमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले हिमालयन शेर्पा फाउन्डेसनले निर्माण गरेको अस्पतालको उद्घाटन गरेकी हुन् ।

ओपीडी, ल्याब, प्रसूति, माउन्टेन मेडिसिन सेवा सुविधा रहेको अस्पतालबाट खुम्बु पासाङ ल्हामू ३ का फाक्दिङ क्षेत्रका ११ वटा बस्तीका र पर्यटक गरी करिब १० हजार नागरिक लाभान्वित हुने फाउन्डेसनका अध्यक्ष फुर्वा ग्याल्जे शेर्पाले जानकारी दिए । अस्पताल सञ्चालनमा आएसँगै यसअघि उपचारका लागि लुक्ला वा नाम्चे धाउनुपर्ने बाध्यताको अब अन्त्य भएको छ । फाउन्डेसनका अध्यक्ष शेर्पाका अनुसार स्थानीयको मागअनुसार निःशुल्क उपचार सेवा प्रवाह गर्नेगरी अस्पतालको निर्माणको योजनाअघि सारिएको हो । अस्पतालमा अहिले एक जना चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मीको टिम परिचालन छ । कार्यक्रममा राष्ट्रपति भण्डारीले सरोकारवालाहरूको सहकार्यबाट मात्रै दिगो विकास सम्भव हुने बताइन् । सरकारले मात्र विकास गर्नुपर्छ भन्ने मानसिकताबाट माथि उठेर आम नागरिक सकेको योगदान गर्नसके दिगो र प्रभावकारी विकास सम्भव हुने उनको भनाइ छ ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पाले अस्पतालले खुम्बु पासाङ ल्हमू ३ का नागरिक प्रत्यक्ष लाभान्वित हुने बताए । कार्यक्रममा अस्पताल निर्माणमा सहयोग गर्ने व्यक्तिलाई सम्मान समेत गरिएको थियो । २० करोड लागतमा निर्माण गरेको अस्पतालबाट ओपीडी, ल्याब, प्रसूति, माउन्टेन मेडिसिन सेवा सुविधा प्रदान गरिनेछ । निशुल्क उपचार सेवा प्रवाह गर्ने लक्ष्यसहित सञ्चालनमा आएको अस्पतालमा अहिले एक जना चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मी कार्यरत छन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया