Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबजेटमा नसमेटिएको मेड्पा कार्यक्रममार्फत ५१ हजार नयाँ लघु उद्यमी निर्माण

बजेटमा नसमेटिएको मेड्पा कार्यक्रममार्फत ५१ हजार नयाँ लघु उद्यमी निर्माण


काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत लघु उद्यम विकास कार्यक्रम (मेड्पा) समेटेको पाइँदैन । सरकारले गरिबी निवारणको लागि सञ्चालन गर्दै आएको उक्त कार्यक्रम चालू आर्थिक वर्षको बजेटमा भने समेटिएको छैन भने सोही कार्यक्रममार्फत हजारौँ नयाँ लघु उद्यमी निर्माण तथा भइरहेको उद्यमीको स्तरोन्नति भएको बताएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा मेड्पा कार्यक्रमबाट ५१ हजार चार सय २८ जना नयाँ लघु उद्यमी सिर्जना तथा २० हजार पाँच सय ७३ जना भइरहेका उद्यमीको स्तरोन्नति गरिएको बताएको छ । सोही कार्यक्रममार्फत २२ वटा साझा सुविधा केन्द्र निर्माण, ३१ हजार एक सय ३६ जनाले व्यक्तिगत तथा सामूहिक रुपमा प्रविधि प्राप्त गरेको र व्यक्तिगत तथा सामूहिक रुपमा प्रविधि प्राप्त गर्ने भइरहेका लघु उद्यमी संख्या १० हजार २३ जना रहेका मन्त्रालयले जानकारी दिएको छ । यस्तै गत आर्थिक वर्षमा ५१ हजार पाँच सय जनाले उद्यमशीलता तालिम प्राप्त गरेका छन् भने ४७ हजार चार सय ७९ जनाले सीप तालिम प्राप्त गरेका छन् ।

गत वर्ष मात्र संघले मेड्पा कार्यक्रमको अख्तियारी प्रदेश र स्थानीय तहले प्रदान गरेको थियो । कार्यक्रम सफल हुन नसकिरहेको अवस्थामा यसको जिम्मेवारी संघले प्रदेश र स्थानीय तहलाई प्रदान गरेको थियो । गरिबलाई प्रत्यक्ष राहत दिने उद्देश्यले तयार गरिएको मेड्पा कार्यक्रम संघबाट सञ्चालन हुँदा प्रभावकारी हुनसकेको थिएन ।

संघीय सरकारबाट मेड्पा कार्यक्रम लागू हुँदा कमजोर रहे पनि सीमित नयाँ उद्यमी सिर्जना भएका थिए । आर्थिक वर्ष २०७७/०७८ मा गरिबी निवारणका लागि मेड्पाबाट १४ हजार सात सय ९५ जना नयाँ उद्यमी सिर्जना भएका छन् । उक्त कार्यक्रमबाट तीन हजार छ सय १० जना लघु उद्यम संस्थाहरु स्तरोन्नति हुनुको साथै चार हजार एक सय जना उद्यमीलाई प्रविधि हस्तान्तरण गरिएको थियो ।

संघीय सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि मेड्पा कार्यक्रममार्फत ६३ हजार तीन सय ९० जना नयाँ लघु उद्यमी सिर्जना गर्ने रणनीति लिएको थियो । यसका लागि २०७७ कात्तिक पहिलो साता मन्त्रिपरिषद् बैठकले ‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन निर्देशिका, २०७७’ स्वीकृत समेत गरेको थियो । तर, कार्यक्रम कार्यान्वयन नहुदाँ भने मेड्पा कार्यक्रम प्रभावित बन्न पुगेको पाउन सक्छौँ ।

यसअघि निर्देशिक अभावमा समेत कार्यक्रम अघि बढ्नसकेको थिएन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७७/०७८ को सुरुदेखि कार्यान्वयनमा जाने भने पनि निर्देशिकको अभाव देखाएको थियो । मेड्पा कार्यक्रम सञ्चालन मोडालिटी र प्रक्रियालाई व्यवस्थित बनाउन र सबै स्थानीय तह (७५३ वटा) मा कार्यक्रम सञ्चालनमा एकरुपता कायम गर्न मेड्पा कार्यक्रम सञ्चालन निर्देशिका आवश्यक रहेको बताउँदै आएको थियो ।

तर, समस्याको रुपमा भने निर्देशिका समयमा नआउनु तथा कार्यान्वयनमा सरकारी सुस्तताले गर्दा गरिबी निवारणको लागि निर्माण भएको कार्यक्रम प्रत्युत्पादक बन्नसकेको थिएन । जसले गर्दा गरिबहरुको स्तरोन्नति हुनबाट वञ्चित हुन पुगे । तर, पछि निर्देशिका निर्माण भए पनि कार्यक्रम प्रत्युत्पादक बन्न सकेन ।

यद्यपि सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत भने अतिविपन्न र सीमान्तकृत वर्गका नागरिकहरुलाई रोजगारी सिर्जना गर्ने बताएको छ । अतिविपन्न र सीमान्तकृत वर्गका नागरिकहरलाई निजी क्षेत्र समेतको सहभागितामा कार्यस्थलमा आधारित रोजगारी सिर्जना गर्ने कार्यक्रम सञ्चालन गर्ने प्रबन्ध मिलाएको छ । लघु, घरेलु र साना उद्योग प्रवद्र्धनका लागि मागमा आधारित प्रविधि हस्तान्तरण कार्यक्रमलाई विस्तार गरिनेछ ।

स्थानीय तहको लगानी र पहलमा स्थापना भएका उद्योगहरको व्यवस्थापकीय सुधार, प्राविधिक जनशक्तिको आपूर्ति, प्याकेजिङ, ब्राण्डिङ र बजारीकरण गर्न आवश्यक बजेट विनियोजन गरेको छ । संघले प्रदेश र स्थानीय तहलाई मेड्पा कार्यक्रम हस्तान्तरण गरेसँगै बजेटमा समेटिन नसकेको आकलन मन्त्रालयका अधिकारीहरुको छ । उनीहरुले प्रदेश र स्थानीय तहले कार्यक्रम प्रभावकारिताका साथ कार्यान्वयन गरेको अपेक्षा गरेका छन् ।

उद्यमशीलता विकास तालिम सम्पन्न
उद्योग मन्त्रालयले गत आर्थिक वर्षमा उद्यमशीलता विकास तालिम सम्पन्न भएको जनाएको छ । मन्त्रालयका अनुसार लघु, घरेलु तथा सना उद्योग प्रवर्द्धन केन्द्रले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा मुलुकको विभिन्न स्थानहरुमा उद्यमशीलता तालिमहरु सञ्चालन गरेको छ ।

केन्द्रबाट यस अवधिमा काठमाडौंमा ६६ जनालाई उद्यमशीलता विकास र २४ जनालाई लेबलिङ, प्याकेजिङ तथा बजारीकरणसम्बन्धी तालिम, तनहुँको बन्दीपुरमा २० जनालाई उद्यमशीलतासम्बन्धी तालिम प्रदान गरिएको बताएको छ । यसैगरी केन्द्रले कार्यस्थलमा आधारित भएर चितवनमा एक सय २० जनालाई ब्युटिसियन, बारबर, फोटोग्राफर र टेलरिङसम्बन्धी, म्याग्दीमा छ जनालाई अल्लोको कपडा उत्पादनसम्बन्धी धागो र उत्पादनका विषयमा तीन महिने तालिम सञ्चालन गरिरहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया