Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएक सय ३० वटा व्यावसायिक फार्मलाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन

एक सय ३० वटा व्यावसायिक फार्मलाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन


काठमाण्डौं,फागुन २३
राजस्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर बिल बनाई अनधिकृत कारोबार गरेको पाइएपछि एक सय ३० व्यावसायिक फार्म तथा कम्पनीलाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै उक्त व्यावसायिक फार्म तथा कम्पनीलाई उपस्थित हुन निर्देशन दिएको हो । विभागले नक्कली भ्याट बिल र अन्तःशुल्क छली गरेको अभियोगमा दुई सयभन्दा बढी व्यावसायिक फार्म तथा कम्पनीमाथि अनुसन्धान गरिरहेको जनाएको छ । विभागका अनुसार पटक–पटक सम्पर्कमा आउन गरिएको आग्रहलाई व्यावसायिक फार्म तथा प्रतिष्ठानले अटेर गरेकाले उनीहरूलाई सार्वजनिक सूचनामार्फत उपस्थित हुन निर्देशन दिइएको हो । विभागले भ्याट बिल छली तथा अन्तःशुल्कमा समेत गैरकानुनीरूपमा छली गरेको पाइएकाले सार्वजनिकरूपमा नै उनीहरूलाई उपस्थित हुन भनेको विभागले जनाएको छ ।

वर्तमान सरकार गठन भएसँगै विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत राखिएको छ । नयाँ संरचनालगत्तै विभागले नक्कली भ्याट बिल तथा अन्तःशुल्क छलीको मात्रै १५ अर्ब रूपैयाँबराबरको मुद्दा अदालतमा दायर गरिसकेको छ । बिहीबार प्रकाशित सूचनामा ती व्यावसायिक फार्म तथा व्यापारिक प्रतिष्ठान सम्पर्कमा नरहेको र ती संस्थामा काम गर्ने व्यक्ति तथा मजदूरका नाममा बैंक खाता खोलेको पाइएको छ । उनीहरूलाई विभागले पटक–पटक सम्पर्कमा आउन आग्रह गर्दासमेत अटेर गरिएको बताइएको छ । विभागले ती फार्म अनुसन्धानको प्रक्रियामा रहेको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया