Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबालुवामा पनि तरकारी खेती !

बालुवामा पनि तरकारी खेती !


कञ्चनपुर, फागुन २३

कञ्चनपुरको पूर्वी क्षेत्र कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकाको सीमा क्षेत्रमा बग्ने वनहरा नदीको बगरक्षेत्रमा हरेका वर्ष चैत÷वैशाख महिनातिर बगर पनि हरियो देखिन्छ, यसको एउटै कारण हो विगत चार÷पाँच वर्षदेखि गर्नथालेको ‘बगर खेती’ ।कृष्णपुर वडा नम्बर २ बंकमा बस्ने नन्दलाल थारु विगत पाँच वर्षदेखि वनहरा नदिमा हिउँद याममा पुसदेखि जेठसम्म बगरको बालुवामा विभिन्न प्रकारका तरकारीहरू लगाएर नदि क्षेत्रको बालुवालाई नै चुनौती दिँदै बगरक्षेत्र नै हराभरा बनाउनमा तल्लीन छन् । उनले हरेक वर्ष बगरमा विभिन्न प्रकारका तरकारीहरूको खेती गरिरहेका छन् । उनले पुस–माघको महिना नदिको पानी थोरै हुन थालेपछि खेतीका लागि बालुवा खन्दै नालीहरू बनाएर त्यसमा माटो र गाईगोरुको मल हाल्न थाल्छन्, त्यसले बालुवामा उर्वराशक्ति सिर्जना गर्दछ । त्यसमा मल र माटो मिल्न थालेपछि उनले बीउ छर्किन थाल्छन् । त्यसमा बेर्ना उम्रिन थालेपछि पानी पनि हाल्ने गर्दछन् । बिरुवा ठूलो हुन थालेपछि त्यसमा सहाराका लागि स–साना थाक्राहरू राखिदिन्छन् । बिस्तारै तरकारीका लहराहरू फैलिएर फल लाग्न थाल्छन् । नन्दलाल रानाले पहिला–पहिला भारतबाट आएका मुस्लिमहरूले बगरक्षेत्रमा खेती गरेर मनग्य आम्दानी गरिरहेका देखेका थिए । तिनै मुस्लिमहरूबाट उनले त्यो बगर खेती गर्ने प्रक्रिया सिकेको उनी बताउँछन् । ‘पहिला–पहिला भारतबाट मुस्लिमहरू आएर बगरखेती गर्नेगरेका थिए, मैले उनीहरूबाटै हेरेर यो काम सिकेको हो, मसँग पनि जमीन छैन, यसले हिउँदमा यसै बगरमा आएर तरकारी खेती गर्छु अनि यसैले मेरो घरपरिवार चलाइरहेको छु’ नन्दलालले भने ।उनले पाँच वर्षदेखि यसै खेतीको काम गरेर परिवार पाल्नुका साथै छोराको विवाह गरे । छोराछोरी पढाउनका साथै अहिले जग्गा किनेर सानो कच्ची घरसमेत बनाइसकेका छन् । ‘पहिला मसँग केही थिएन, बगरखेती गर्न थालेपछि मैले यसैको साहारामा छोराछोरी पढाएँ, छोराको विवाह गरिदिएँ, जग्गा थिएन, दुई कट्टा जग्गासमेत किनेँ र त्यसमै सानो कच्ची घर पनि लगाएँ’, नन्दलालले भने । उनले बगरखेतीमा थोरै मात्र लगानी लाग्ने र मनग्य मात्रामै आम्दानी आउने बताएका छन । उनले बगरखेतीकै भरमा ५ जनाको परिवार पालेका छन् । आजकाल बुहारीबाहेक सबै परिवार नै बगरखेतीमा लाग्ने गरेको उनले बताए । उनले एक वर्षमा सबै गरेर जम्माजम्मी करिब ३५ हजारको लगानीमा पाँच कट्टा बगरको जमिनमा तरकारी खेती गरिरहेका छन् । उक्त लगानीमा वर्षभरिमा करिब अढाइ लाखदेखि तीन लाखसम्मको आम्दानी गर्नेगरेको बताए । बगरखेतीबाट उत्पादिन तरकारीलाई उनले स्थानीय बजार झलारी र बंक कलुवापुर तथा गुलरियासम्म र बढी भएको समयमा महेन्द्रनगर र अत्तरियासम्म बेच्न लैजाने गरेको बताए ।

उनले हाल बगरखेतीमा विभिन्न प्रकारका तरकारीहरू लगाएका छन् । लौका र तरभुजा उल्लेख्य मात्रामा फल्ने गरेको रानाले बताए । उनले हाल लौका, प्याज, तरभुजा, मुला, खुर्सानी, फर्सी आदी तरकारीका बेर्नाहरू उमारिसकेका छन् । हाल लौका, प्याज, तरभुजा, मुला, खुर्सानी, फर्सी आदीका बेर्नाहरू पलाएका छन् तिनबाट आगामी चैत्रसम्म फल लाग्न थाल्ने उनले बताए । उनले बगरक्षेत्रमा तरकारी बालीका लागि नाली बनाएर खेती गरेका छन् । उनले बगरखेती गर्दा छाडा गाईगोरुहरूले समस्या पार्ने गरेको बताए । यसका लागि स–सानो बिरुवाको तारबार गरेका छन् । बगरखेतीमा पानी बगरमै पाइने हुनाले बिहान बेलुका पानी हालिराखेर काम गर्न पनि सजिलो हुने गरेको बताए । हाल उनीसँगै उनका छोरा सुरज राना पनि सँगै बगरखेती गरिरहेका छन् । सुरजले आफू बिहान क्याम्पस जाने र दिउँसो बुबासँगै बगर खन्ने काम गर्ने गरेको बताए । रानालाई हाल वडा कार्यालयले पनि सहयोग गरेको छ । उनलाई समूहमा मिलेर काम गर्न समूहमा दुई लाख रूपैयाँ वडा कार्यालयबाट अनुदान आएको उनले बताए । समूहमा रकम आए पनि उनले आफूले पाउने पूरा रकम नपाएको गुनासो गरे । वनहरा नदिमा बगरखेती गरिरहेका नन्दलाल राना एक प्रतिनिधि पात्र हुन्, उनीजस्तै उक्त नदिमा करिब ५०÷५५ जनाले बगरखेती गरिरहेका छन् । यस्तै शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ का प्रेमलाल रानाले पनि उक्त बगरमा करिब पाँच कट्टा जमिनमा बगरखेती गरिरहेका छन् । उनले आफूले ४० हजार लगानी गरेर लौका, प्याज, तरभुजा, मुला, खुर्सानी, फर्सी आदी तरकारी बालीहरू लगाएको बताए । यसबाट वार्षिकरूपमा करिब दुईदेखि अढाइ लाखसम्म कमाइ गरिरहेको बताए ।उनीहरूले सामूहिकरूपमा सरकार र विभिन्न संघसंस्थाको सहयोगमा व्यक्तिगतरूपमा जग्गा छुट्याएर बगरखेी गरिरहेका छन् । लालझाडी क्षेत्रमा बगरखेती गरिरहेका कृषकहरूलाई नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले पनि बगरखेती गरिरहेका १०÷११ वटा समूहलाई इलेक्ट्रोनिक स्प्रे, ट्याङ्की, १० लिटरको हजारी र समूहमा एक दिने बगरखेतीसम्बन्धी तालिम पनि दिइएको रेडक्रस सोसाइटीले बताएको छ । यस्तै कृषि ज्ञान केन्द्र कञ्चनपुरसँगको सहकार्यमा बगरखेती गर्ने किसानलाई बीउमा अनुदान पनि दिएको बताएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया