Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैदेशिक रोजगार बोर्डले विदेशमा रहेका नियोगलाई पठायो ५४ लाख

वैदेशिक रोजगार बोर्डले विदेशमा रहेका नियोगलाई पठायो ५४ लाख


काठमाडौं । वैदेशिक रोजगार बोर्डको सचिवालयले कल्याणकारी कार्यअन्तर्गत विदेशमा रहेका नियोगलाई ५४ लाख रुपैयाँभन्दा बढी रकम पठाएको छ । बोर्डले कल्याणकारी कार्यका लागि विदेशमा रहेका नियोगलाई पेश्कीस्वरुप ५४ लाख १७ हजार रुपैयाँ पठाएको छ । उक्त रकम चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा पठाएको हो ।

बोर्डले कल्याणकारी कार्यअन्तर्गत मृतकका नजिकका हकवालालाई आर्थिक सहायता प्रदान गर्ने, अंगभंग/बिरामी भएका कामदारलाई आर्थिक सहायता, कामदारका परिवारलाई औषधोपचार सहयोग, शव झिकाउने, शव ढुवानी, अभिमुखीकरण तालिम दिने लगायतका काम गर्दै आएको छ ।

यसैबीच चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा कल्याणकारी कार्यअन्तर्गत बोर्डले मृतक कामदारका परिवारलाई आर्थिक सहायतास्वरुप १६ करोड सात लाख ५५ हजार रुपैयाँ, अंगभंग/बिरामी भएका कामदारलाई आर्थिक सहायतास्वरुप एक करोड ३३ लाख ७६ हजार रुपैयाँ, उद्धारका लागि सम्बन्धित नियोगसँग समन्वयस्वरुप आठ लाख १९ हजार रुपैयाँ, शव झिकाउनका लागि सम्बन्धित नियोगसँग समन्वय ४५ लाख ९८ हजार रुपैयाँ वितरण गरेको छ ।

यस्तै मृतकको शव घर ठेगानासम्म शव ढुवानीका लागि ५३ लाख ६६ हजार रुपैयाँ, कामदारका परिवारलाई औषधोपचार सहयोगका लागि तीन लाख ५० हजार रुपैयाँ र अभिमुखीकरण तालिमबापतको रकम शोधभर्नाका लागि ५९ हजार रुपैयाँ वितरण गरिएको छ । उक्त रकम दुई सय ८० जना (नौ महिला/२७१ पुरुष) मृतक, ३१ जना (दुई महिला/२९ पुरुष) अंगभंग/बिरामी कामदार, ३९ जना पुरुषको उद्धार, ६३ जना (तीन महिला/६० पुरुष) को शव झिकाउन, दुई सय ७३ जना (नौ महिला/२६४ पुरुष) को शव घरसम्म पु-याउन, सात जना (पाँच महिला/दुई पुरुष) कामदारको परिवारलाई औषधोपचार र ८५ जना महिलालाई अभिमुखीकरण तालिमबापतको रकम शोधभर्नाको लागि खर्च गरिएको हो । चालू आर्थिक वर्षमा कल्याणकारी कार्यअन्तर्गत सात सय ७८ जना (११३ महिला/६६५ पुरुष) लाई आर्थिक सहायतास्वरुप रकम उक्त रकम वितरण गरेको हो ।

यस्तै, आर्थिक सहायतास्वरुप विदेशस्थित नेपाली नियोगमा रहेको उक्त रकम खाडीका छ राष्ट्र, मलेसिया, दक्षिण कोरियालगायतका मुलुकमा गएको बोर्डका अधिकारीहरुले बताए । वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकको लागि गन्तव्य मुलुकको रुपमा खाडी राष्ट्रहरु कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत, बहराइन, ओमान रहेको हुँदा समस्या पनि ती मुलुकमा बढी देखिन्छ । रोजगारदाताले श्रम कानुनको उल्लंघन गर्दा नेपाली श्रमिकहरु गन्त्व्य मुलुकमा सुरक्षित भएको पाइँदैन, जसले गर्दा ज्यान गुमाउने, अंगभंग हुनेलगायतका समस्या रहेको पाइन्छ ।

यसैबीच बोर्डका निर्देशक दिपक ढकालले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा कल्याणकारी कार्यअन्तर्गत १८ करोड रुपैयाँभन्दा बढी रकम वितरण गरेको बताए । ‘तीन महिनाको अवधिमा सात सय ७८ जनालाई १८ करोड ५३ लाख १५ हजार रुपैयाँ वितरण गरेका छौँ’, उनले भने । यो रकम वैदेशिक रोजगारीमा गएका श्रमिक तथा तिनका परिवारले प्राप्त गर्ने गर्छन् ।

बोर्डको कल्यणकारी कार्य अनिवार्य दायित्वभित्र पर्दछ भने यसका साथै उसले जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने, विदेशमा सुरक्षित गृह सञ्चालन गर्ने तथा रोजगारदाता मुलुकमा आन्तरिक विद्रोह लगायका कामहरु गरेको छ । यी कार्यहरु सञ्चालन गर्न बोर्डले कल्याणकारी कोष रहने व्यवस्था गरेको हो । उक्त कोषमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले प्रचलित कानुनले तोकेबमोजिम जम्मा गरेको रकम रहने व्यवस्था गरिएको छ । प्रावधानअनुरुप श्रम स्वीकृति लिँदा एक हजार पाँच सय रुपैयाँ कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया