Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबीमा शुल्क संकलनमा झण्डै तीन प्रतिशतले गिरावट

बीमा शुल्क संकलनमा झण्डै तीन प्रतिशतले गिरावट


काठमाडौं । कुल बीमा शुल्क संकलनमा झण्डै तीन प्रतिशतले गिरावट आएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तमा कुल बीमाशुल्क संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको हो ।

प्राधिकरणका अनुसार चालू आवको असोज मसान्तसम्ममा सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनी र १९ वटा निर्जीवन बीमा कम्पनीसहितका ३८ वटा कम्पनीहरुको कुल बीमाशुल्क संकलन रकम ४६ अर्ब ६१ करोड ९३ लाख १० हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा भने यस्तो रकम ४७ अर्ब ८७ करोड ४१ लाख ३५ हजार रुपैयाँ रहेको थियो । यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले मात्र संकलन गरेको कुल बीमाशुल्क रकम १० अर्ब ८४ करोड २४ लाख ५२ हजार रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरुको यस्तो रकम नौ अर्ब ६९ करोड ९३ लाख ४७ हजार रुपैयाँ रहेको थियो । यसैगरी चालू आवको असोज मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले मात्र संकलन गरेको कुुल बीमाशुल्क रकम भने ३५ अर्ब ७७ करोड ६८ लाख ५८ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरुले संकलन गरेको यस्तो रकम ३८ अर्ब १८ करोड छ लाख ६८ हजार रुपैयाँ रहेको थियो ।

प्राधिकरणका अनुसार चालू आवको असोज मसान्तसम्ममा कुल निर्जीवन बीमालेखको संख्या भने छ दशमलव ३० प्रतिशतले घटेर तीन लाख ५७ हजार सात सय ६८ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या तीन लाख ८१ हजार आठ सय छ रहेको थियो । यसैगरी चालू आवको पछिल्लो अवधिमा कुल जीवन बीमालेखको संख्या भने ५४ दशमलव १० प्रतिशतले बढेर एक करोड ३८ लाख ८३ हजार हजार दुई सय ५६ पुगेको छ । गत आवको सोही अवधिमा भने यस्तो संख्या ९० लाख नौ हजार दुई सय ७७ रहेको थियो ।

बीमा कम्पनीहरुको कुल कार्यालय संख्या भने पछिल्लो अवधिमा पाँच दशमलव तीन प्रतिशतले बढेको छ । सो अनुसार गत आवको असोज मसान्तसम्ममा बीमा कम्पनीहरुको कार्यालयको संख्या तीन हजार एक सय ९९ वटा रहेकोमा चालू आवको असोज मसान्तसम्ममा यस्तो संख्या बढेर तीन हजार तीन सय ६० वटा पुगेको छ । बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको कुल संख्या पनि पछिल्लो अवधिमा ११ दशमलव ५५ प्रतिशतले बढेको छ । गत आवको असोज मसान्तमा बीमा कम्पनीहरुमा कार्यरत कुल कर्मचारी संख्या १० हजार छ सय २५ रहेकोमा अहिले यस्तो संख्या बढेर ११ हजार आठ सय ५२ पुगेको प्राधिकरणको भनाइ छ ।

यस अवधिमा १९ वटा जीवन बीमा कम्पनी, १९ वटा निर्जीवन बीमा कम्पनी र पुनर्बीमातर्फ नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्स कम्पनीसहित ४० वटा कम्पनीहरुले बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आएको छ । पछिल्लो समय एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सले मर्ज भएर एकीकृत कारोबार सुरु गरिसकेकाले पनि बीमा कम्पनीहरुको संख्या ४० वटामा सीमित भएको छ । प्राधिकरणका अनुसार अझै एक दर्जन बीमा कम्पनीहरुको मर्जरको प्रक्रियामा छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया