Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमागमा आएको संकुचनले राजस्व संकलनमा दबाब

मागमा आएको संकुचनले राजस्व संकलनमा दबाब


काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मागमा आएको संकुचनको असर उद्योग क्षेत्रसँगै सरकारको राजस्वमा समेत परेको बताएका छन् ।

परिसंघले राष्ट्रिय कर दिवस २०७९ को अवसर पारेर मंगलबार आयोजना गरेको ‘परिसंघमा परिचर्चा’ कार्यक्रममा उनले मागमा आएको संकुचनको असर उद्योग क्षेत्रसँगै सरकारको राजस्वमा परेको र त्यसको समग्र असर अर्थतन्त्रले भोगिरहेको उल्लेख गरे । अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि ब्याजदर घटाउने, समग्र माग बढाउने खालको नीति अलम्बलन गर्नुपर्नेमा समेत उनले जोड दिए । परिसंघले गरेको सर्वेक्षण अनुसार उद्योगको प्रकृतिअनुुसार ८० प्रतिशतसम्म मागमा संकुचन आएको देखिएको उनले बताए । अर्थतन्त्रमा संकुचन बढ्दै जाँदा उद्योगसँगै राजस्व पनि थप प्रभावित हुने र त्यसको प्रत्यक्ष असर पुँजीगत खर्चका लागि सरकारलाई रकमको अभाव हुनसक्ने उनले बताए । यस्तै बहुदर भ्याट प्रणाली लागू गर्न आवश्यक रहेको उनको भनाइ थियो । भारतलगायत अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी गराउन पनि बहुदर भ्याट प्रणालीको विकल्प नभएकोमा जोड दिए ।

कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव रामेश्वर दंगालले राजस्व संकलनमा गिरावट आउँदा त्यसले वित्तीय चाप पारेको बताए । अर्थतन्त्रमा परेको दबाबबारे निजी क्षेत्र जानकार रहेको भन्दै उनले राजस्वमा योगदान दिन उद्योगी व्यवसायीलाई आग्रह गरे । अर्थतन्त्रमा स्थायित्व ल्याउने गरी मौद्रिक नीतिले औजार प्रयोग गर्दा बजेटले लिएका उद्देश्य हासिल गर्न दबाब परेको सचिव दंगालले बताए । उनले राजस्वमा दबाब पर्दै गए आन्तरिक ऋण उठाउनुपर्ने र त्यसको प्रत्यक्ष असर निजी क्षेत्रमा जाने लगानी योग्य रकममा थप दबाब पर्ने उल्लेख गरे । यसैगरी आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्यले निजी क्षेत्रलाई दोहोरो कर नपरोस् भन्नेमा सचेत रहेको बताए । उनले कर अधिकारी र करदाताबीच भौतिक सम्पर्क नै हुन नपर्ने गरी कर प्रशासनमा सुधार गर्न लागेको पनि जानकारी दिए । यसले कर प्रशासन र निजी क्षेत्रप्रति लाग्ने आरोप सहनु नपर्ने उनको भनाइ छ । निजी क्षेत्र नफस्ट्याई सार्वजनिक क्षेत्र पनि अगाडि बढ्न नसक्ने समते उनले बताए ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेश अग्रवालले उद्योगहरु फस्ट्याउन नीतिगत स्थिरता आवश्यक रहेको बताए । आर्थिक ऐन र औद्योगिक व्यवसाय ऐनका व्यवस्था एक आपसमा बाझिँदा औद्योगिक प्रवर्द्धनमा असर परेको बताउँँदै उनले तयारी वस्तु र कच्चा पदार्थ अन्तशुल्क लगाउँदा राम्रो वातावरण नबनेको उल्लेख गरे । यस्तै उनले तीनवटै तहबाट कर संकलन भइरहेकोमा त्यसमा सुधार ल्याउन एकद्वार प्रणालीबाट मात्रै कर संकलन गर्न सुझाव दिए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया