Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकहरुले घटाए औद्योगिक कर्जा

बैंकहरुले घटाए औद्योगिक कर्जा

नौवटा जिल्लामा २५ अर्ब ६८ करोड २५ लाख रुपैयाँ मात्र कर्जा प्रवाह


काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुले सुदूरपश्चिम प्रदेशअन्तर्गतका जिल्लाहरुमा औद्योगिक कर्जा घटाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनसम्बन्धी सुदूरपश्चिम प्रदेशको प्रतिवेदनअनुसार २०७९ असार मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुले उक्त प्रदेशको औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०७८ असार मसान्तको तुलनामा चार दशमलव २१ प्रतिशतले घटेर २५ अर्ब ६८ करोड २५ लाख रुपैयाँ कायम भएको हो ।

सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर, बझाङ, बाजुरा, डोटी, अछाम र कैलाली रहेकोमा पछिल्लो समय ती जिल्लाहरुको औद्योगिक गतिविधिहरुमा कमी आएसँगै औद्योगिक कर्जामा पनि गिरावट आएको हो । राष्ट्र बैंकका अनुसार गत वर्षको सोही अवधिमा यस्तो कर्जा २९ दशमलव ५० प्रतिशतले बढेको थियो । कुल प्रवाहित कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित भएको कर्जाको अंश १७. दशमलव आठ प्रतिशत रहेको छ भने गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी अर्थात् ५४ दशमलव १४ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार निर्माणसम्बन्धी उद्योगमा प्रवाह भएको कर्जा रकम भने सबैभन्दा बढी अर्थात् ४५ दशमलव ७१ प्रतिशतले घटेको छ । कुल औद्योगिक कर्जामध्ये कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगमा ४० दशमलव ९९ प्रतिशत, गैरखाद्य वस्तुसम्बन्धी उद्योगमा २७ दशमलव ६५ प्रतिशत, निर्माणसम्बन्धी उद्योगमा २१ दशमलव ९० प्रतिशत, धातुको उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा सात दशमलव ६१ प्रतिशत, विद्युत्, ग्यास तथा पानी उद्योगमा एक दशमलव २५ प्रतिशत र खानीसम्बन्धी उद्योगमा शून्य दशमलव ६० प्रतिशत अंश रहेको राष्ट्र बैंकको भनाइ छ ।

समीक्षा अवधिमा सुदूरपश्चिम प्रदेशमा प्रवाह भएको कुल औद्योगिक कर्जामध्ये कैलाली जिल्लाको अंश सबैभन्दा बढी ७६ दशमलव ८१ प्रतिशत रहेको छ भने बझाङ जिल्लाको अंश सबैभन्दा कम शून्य दशमलव २७ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुुसार कञ्चनपुर, डडेल्धुरा, डोटी, दार्चुला, अछाम, बैतडी तथा बाजुराको अंश क्रमशः १७ दशमलव ७५ प्रतिशत, दुई दशमलव १३ प्रतिशत, शून्य दशमलव ९८ प्रतिशत, शून्य दशमलव ५७ प्रतिशत, शून्य दशमलव ५७ प्रतिशत, शून्य दशमलव ५१ प्रतिशत र शून्य दशमलव ४० प्रतिशत रहेको छ ।

जिल्लागतरुपमा प्रवाह भएको कुल कर्जा रकमको हकमा भने दार्चुला, बैतडी र डडेल्धुरा जिल्लामा क्रमशः १५ करोड, १३ करोड र ५५ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ भने बझाङ, बाजुरा, डोटी र अछाममा क्रमशः सात करोड, १० करोड, २५ करोड र १५ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । राष्ट्र बैंकका अनुसार कैलाली र कञ्चनपुर जिल्लामा भने सुदूरपश्चिम प्रदेशअन्तर्गतका अन्य जिल्लाहरुको तुलनामा सबैभन्दा बढी कर्जा भएको छ । जसअनुसार कञ्चनपुरमा चार अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ भने कैलालीमा १९ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्र्रवाह भएको छ ।

राष्ट्र बैंकद्वारा २० अर्बको ट्रेजरी बिल्स सोझै खरिद
नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ट्रेजरी बिल्स सोझै खरिद गरेको छ । राष्ट्र बैंकका अनुसार भुक्तानी अवधि २०७९ चैत्र मसान्त तोकेर बिहीबार उक्त परिमाणको ट्रेजरी बिल्स सोझै खरिद गरेको हो ।

ट्रेजरी बिल्स खरिदको लागि राष्ट्र बैंकले काउण्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल्सको परिमाण पाँच करोड वा पाँच करोडले भाग लाग्ने दरले खरिद आह्वान गरेको रकमसम्म बोलकबोल गर्नसक्ने गरी शर्त तोकेको थियो । तर एउटा सिरिजको ट्रेजरी बिल्सका लागि एउटा मात्र बोलकबोल गर्नुपर्ने शर्त पनि राष्ट्र बैंकको रहेको थियो । सोही शर्तको अधीनमा रहेर खरिद मिति २०७९ शुक्रबार तोकिएको उक्त परिमाणको ट्रेजरी बिल्स सोझै खरिद गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया