Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएक सय क्षेत्रको परिणाम सार्वजनिक समानुपातिकमा एमालेकै अग्रता

एक सय क्षेत्रको परिणाम सार्वजनिक समानुपातिकमा एमालेकै अग्रता


काठमाडौं । गत आइतबार ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना बिहीबार पनि जारी छ । बिहीबार रातिसम्म एक सय ६५ मध्ये एक सय एक स्थानको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।

बिहीबार रातिसम्मको परिणामअनुसार प्रत्यक्षतर्फ नेपाली कांग्रेसले अग्रता लिएको छ भने दोस्रोमा नेकपा एमाले छ । अब दोस्रो स्थानका लागि एमालेलाई अन्य कुनै पनि पार्टीले नसक्ने पक्का भएको छ ।

अधिकांश साना दलहरुले अग्रता लिएको र उम्मेदवारी दिएका स्थानमा जित हात पारिसकेका छन् । बिहीबार रातिको परिणामअनुसार नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ३६ स्थानमा जित हात पारेको छ भने नेकपा एमालेले २२ स्थानमा । नेकपा माओवादी केन्द्रले नौ स्थानमा, एकीकृत समाजवादीले नौ स्थानमा, राष्ट्रिय स्वतन्त्र पार्टीले सात स्थानमा, राष्ट्रिय प्रजातन्त्र पार्टीले चार स्थानमा, विभिन्न दलबाट असन्तुष्ट बनेर स्वतन्त्र उठेकाहरुले पाँच स्थान, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टीले दुई÷दुई स्थानमा जित निकालेका छन् ।

बिहीबार रातिसम्मको परिणामअनुसार संघमा समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायम राखेको छ । समानुपातिकमा एमालेले सुरुदेखि नै अग्रता लिएको थियो । एमालेले सात लाख ४० हजार ९७, नेपाली काँग्रेसले सात लाख १० हजार पाँच सय ६०, माओवादीले तीन लाख २८ हजार तीन सय १७, राष्ट्रिय स्वतन्त्र पार्टीले तीन लाख नौ हजार ६७, राप्रपाले एक लाख ८८ हजार दुई सय छ, जसपाले ९४ हजार पाँच सय ९६, नागरिक उन्मुक्ति पार्टीले ५५ हजार आठ सय ८३, नेकपा एकीकृत समाजवादीले ४९ हजार तीन सय २३, लोसपाले ४५ हजार छ सय ४७ मत पाएका छन् ।

धेरै मत ल्याउने नौवटा पार्टीले कुल २५ लाख २१ हजार छ सय ९६ मत पाएका छन् । अन्य पार्टीले पाएको मत भने अत्यन्तै थोरै छ । प्रत्यक्षतर्फ नौ सिट जितिसकेको समाजवादीले भने दुई सिट जित्ने नागरिक उन्मुक्ति पार्टीभन्दा पनि कम मत समानुपातिकामा आएको छ । अहिलेसम्मको संकेत हेर्दा माधव नेपाल नेतृत्वको उक्त समाजवादी पार्टी राष्ट्रिय पार्टी बन्ने सम्भावना छैन । यसले उक्त पार्टीको संगठन अत्यन्त कमजोर रहेको र सत्ता गठबन्धनका दलहरुको मतले मात्र निर्वाचन जितेको प्रष्ट भएको छ । अध्यक्ष नेपालले पनि बिहीबार रौतहटबाट निर्वाचन जितेका छन् ।

नेपालसहित सो पार्टीका नेताहरु प्रेमबहादुर आले, भानुभक्ता जोशी, शेरबहादुर कुँवर, अम्मर बहादुर थापा, कृष्ण कुमार श्रेष्ठ, धनबहादुर बुढा, प्रकाश ज्वाला र राजेन्द्र पाण्डेले चुनाव जितेका छन् । मेटमणि चौधरीको क्षेत्रमा भने मतगणना जारी छ ।

कांग्रेसबाट झापा १ मा विश्वप्रकाश शर्मा, ओखलढुङ्गा–१ मा रामहरि खतिवडा, रौतहट ४ मा देवप्रसाद तिमलसेना, पर्सा २ मा अजयकुमार चौरसिया, सिन्धुली १ मा श्यामकुमार घिमिरे, रसुवा १ मा मोहन आचार्य, काठमाडौँ १ मा प्रकाशमान सिंह, काठमाडौँ ३ मा सन्तोष चालिसे र काठमाडौँ ४ मा गगनकुमार थापा निर्वाचित भएका छन् ।

काठमाडौँ १० मा राजेन्द्रकुमार केसी, भक्तपुर २ मा दुर्लभ थापा क्षेत्री, ललितपुर १ मा उदय शमशेर राणा, मनाङ १ मा टेकबहादुर गुरुङ, मुस्ताङ १ मा योगेश गौचन थकाली, म्याग्दी १ मा खमबहादुर गर्बुजा, सुर्खेत २ मा हृदयराम थानी, अछाम २ मा पुष्पबहादुर शाह, दार्चुला १ मा दिलेन्द्रप्रसाद बडू र डडेल्धुरा १ मा शेरबहादुर देउवा विजयी भए ।

एमालेबाट ताप्लेजुङ १ मा योगेशकुमार भट्टराई, झापा १ मा केपी शर्मा ओली, धनकुटा १ मा राजेन्द्रकुमार राई, सोलुखुम्बु १ मा मानवीर राई, उदयपुर २ मा अम्बरबहादुर रायमाझी, सिरहा १ मा रामशङ्कर यादव, पर्सा २ मा राजकुमार गुप्ता, ललितपुर ३ मा प्रेमबहादुर महर्जन, कास्की २ मा विद्या भट्टराई, पर्वत १ मा पदम गिरी, गुल्मी २ मा गोकर्णराज विष्ट, अर्घाखाँची १ मा टोपबहादुर रायमाझी, प्यूठान १ मा सूर्यबहादुर थापा र बाँके १ मा सूर्यप्रसाद ढकाल निर्वाचित भए ।

माओवादी केन्द्रबाट खोटाङ १ मा रामकुमार राई, सिन्धुली २ मा लेखनाथ दाहाल, गोरखा २ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’, रुकुमपूर्व १ मा पूर्णबहादुर घर्ती मगर, रोल्पा १ मा वर्षमान पुन र जाजरकोट १ मा शक्तिबहादुर बस्नेत विजयी भएका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झापा ३ मा राजेन्द्रप्रसाद लिङ्देन, बाँके २ मा धवलशमशेर राणा र जुम्ला १ मा ज्ञानबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ ७ मा गणेश पराजुली, ललितपुर ३ मा तोसीमा कार्की, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्लाही १ मा रामप्रकाश चौधरी र रुपन्देही ४ मा सर्वेन्द्रनाथ शुक्ल निर्वाचित भए ।

जनता समाजवादी पार्टीबाट पर्सा १ मा प्रदीप यादव, नेपाल मजदुर किसान पार्टीबाट भक्तपुर १ मा प्रेम सुवाल, जनमत पार्टीबाट सप्तरी २ मा चन्द्रकान्त राउत, मोरङ ५ मा स्वन्तन्त्र उम्मेदवार योगेन्द्र मण्डल, रौतहट ३ मा प्रभू साह र बर्दिया २ मा लालवीर चौधरी विजयी भए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया