Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ च्यानलबाट विप्रेषण आउने क्रम बढ्यो

बैंकिङ च्यानलबाट विप्रेषण आउने क्रम बढ्यो

८७ खर्ब ४७ अर्ब विप्रेषण भित्रिँदा श्रम स्वीकृति लिनेको संख्या २ लाख ५ हजार


काठमाडौं । वैदेशिक रोजगारीबाट बैंकिङ च्यानलबाट प्राप्त हुने रकम (विप्रेषण आप्रवाह) वृद्धि भएको छ । हालसम्म ८७ खर्ब ४७ अर्ब रुपैयाँ विप्रेषण भित्रिएकोमा पछिल्ला समयमा भएको विप्रेषण वृद्धिदर कायमै रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले वृद्धि भई दुई खर्ब ८१ अर्ब पाँच करोड रुपैयाँ पुगेसँगै मुलुकमा ८७ खर्ब ४७ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.१ प्रतिशतले घटेको थियो । तीन महिना मात्र नभई पछिल्ला आर्थिक वर्षहरुमा समेत विप्रेषण भित्रिने क्रममा वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । जसअनुरुप गत आवमा नौ खर्ब ८६ अर्ब रुपैयाँ, आव २०७७/०७८ मा नौ खर्ब ६१ अर्ब, आव २०७६/०७७ मा आठ खर्ब ७५ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको हो ।

विप्रेषण आप्रवाह र श्रम स्वीकृतिको परोक्ष सम्बन्ध रहेको हुन्छ, जसले गर्दा हालसम्म वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेको संख्या ५२ लाख ६६ हजार जना रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । तीन महिनामा दुई लाख पाँच हजार सात सय जनाले श्रम स्वीकृति लिएसँगै श्रम स्वीकृति लिनेको संख्या ५२ लाख ६६ हजार जना पुगेको हो ।

विप्रेषण आप्रवाह बढ्नुमा श्रम स्वीकृति लिने युवाहरुको संख्यामा बढोत्तरी भएको कारणले गर्दा यसलाई राम्रो मान्न नसकिने विज्ञहरुको भनाइ छ । विप्रेषण लिन जाने युवाहरुले हजारौँ लगानी गरेर गएका छन् र केही रकम पठाउनसकेका छन् जसलाई राम्रो मान्न नसिकने अर्थविद् डा.चन्द्रमणि अधिकारीले बताए । विदेशमा काम गरेबापत नेपाली श्रमिकहरुले करिब ४० देखि ४५ हजार रुपैयाँ मासिक रुपमा लिने गरेका छन् वा पठाउने गरेका छन् जुन ठूलो रकम होइन’, उनले भने, ‘विप्रेषणमा वृद्धि हुनु आवश्यक छ यसका लागि सीपयुक्त नेपाली श्रमिक गन्तव्य मुलुकमा पठाउनु आवश्यक छ ।’

विज्ञहरुले विप्रेषणलाई उत्पादनशील क्षेत्र ऊर्जा, कृषि, प्रविधि, निर्माण, पर्यटनलगायतका क्षेत्रमा लगानीमार्फत प्रयोग गर्नुपर्ने बताएका छन् । अर्कोतर्फ विप्रेषणले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा २० देखि २५ प्रतिशतको हिस्सा ओगट्दै आएको छ ।

गत आवमा छ लाख ३० हजार ९७ जना, आव २०७७/०७८ मा ७२ हजार ८१ जना, आव २०७६/०७७ मा एक लाख ९० हजार चार सय ५३ जना, आव २०७५/०७६ मा दुई लाख ३६ हजार दुई सय आठ जना र आव २०७४/०७५ मा तीन लाख ५४ हजार ८२ जना विदेश जानका लागि श्रम स्वीकृति लिएका छन् ।

बाध्यात्मक रोजगारी वैदेशिक रोजगारीबाट आएको विप्रेषणलाई हेरेर खुसी हुनुपर्ने अवस्था नरहेको उनीहरुको भनाइ छ । यसैबीच वैदेशिक रोजगारी बाध्यताको रोजगारी भएको हुँदा यसको विकल्प खोज्नु आवश्यक रहेको श्रममन्त्री शेरबहादुर कुँवरले बताउँदै आएका छन् । विदेश जानेभन्दा हामीले श्रम बजारमा आउने पाँच लाख युवा जनशक्तिलाई आन्तरिक रोजगारी दिनेतर्फ अघि बढ्नु जरुरी रहेको उनको भनाइ छ ।

विप्रेषणको आप्रवाह दरलाई हेर्दा २०६५/०६६ देखि क्रमशः बढ्दै गएको पाइन्छ । आर्थिक वर्ष २०६५/०६६ मा दुई खर्ब नौ अर्ब रुपैयाँ, आर्थिक वर्ष २०६६/०६७ मा दुई खर्ब ३१ अर्ब रुपैयाँ, आर्थिक वर्ष २०६७/०६८ मा दुई खर्ब ५३ अर्ब र आर्थिक वर्ष २०६८/०६९ मा तीन खर्ब ५९ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको छ । समग्रमा हालसम्म आइपुग्दा प्रत्येक वर्ष विप्रेषण आप्रवाहमा वृद्धि भएको छ । विप्रेषण आप्रवाहका साथै विदेशिनेको संख्या तथा तिनमा भएको क्षति भने अपूर्ण छ । वैदेशिक रोजगारीमा जानेमध्ये ज्यान गुमाउने तथा अंगभंग हुनेको संख्यामा समेत वृद्धि भएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ । जुन दुःखद रहेको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया